काठमाडौं । एघार वर्ष अगाडि आफूले भनेजस्तो चलचित्र बनाउन नपाए पनि वितरकको चाहना अनुसार दीपेन्द्र के खनाल चलचित्र ‘धर्मा’ निर्देशन गर्ने निर्णयमा पुगे । उनको चलचित्रमा मुख्य भूमिकामा थिए, तत्कालीन समयका सुपरस्टारद्वय राजेश हमाल र निखिल उप्रेती । उनीहरुलाई आफ्नो चलचित्रमा खेलाउन पाउनु नै निर्माताका लागि अहोभाग्य सम्झनु पर्ने समय थियो त्यो ।
राजेश र निखिलमात्रै होइन ‘धर्मा’मा बलिउड सुपरस्टार मनिषा कोइराला पनि थिइन् ।
राजेश र निखिल दिनकै दुई/तीनवटा चलचित्रका सेटमा पुग्ने समय थियो । उनीहरु पूरै दिन समय दिँदैन थिए । दिनको दुई/तीन घण्टा मात्रै दिन्थे । तीनजनाको फरक–फरक तीन समय हुन्थ्यो । त्यसले निर्देशकलाई दबाब सिर्जना गथ्र्यो ।
“तीन जनाले आफू अनुकूल तीन समय दिँदा हामीलाई समय म्यानेज गर्न यति धेरै दबाब पथ्र्यो । मेरा दुईजना एडी दोस्रो दिन हामी सक्तैनौं भनेर हिँडे,” निर्देशक खनाल सम्झिन्छन्, “मैले त्यो बेला उनीहरुलाई यो हाम्रो संघर्ष गर्ने समय हो । यस्तै व्यवाहार, समय र चुनौतिले हामीलाई परिपक्व बनाउँछ भनेर सम्झाएर रोखेको थिएँ ।”
तीनजना कलाकारको समिश्रण गरेर चलचित्र खिच्नै उनलाई महाभारत थियो । राजेश, निखिल र मनिषा सेटमा आउन बित्तिकै सिन निकाल्नुपर्ने चुनौति अहिले सम्झिँदा नोस्टाल्जिक हुने गरेको उनी सुनाउँछन् ।
“धर्मामा अधिकांश ब्याक सर्ट बडी डबल राखेर खिचेको छ । तीनजना कलाकार एकैपटक जोडिएको कहिले पनि हुँदैनथियो । कम्बाइन्ड सिनमा तीनजना कलाकार चाहिन्थ्यो । तर, तीनजना कहिल्यै हुँदै नहुने,” दीपेन्द्र भन्छन्, “एकदिन एकजनाको खिचेर सक्नुपर्ने । अर्कोदिन अर्कोको सिन खिचेर सक्नुपर्ने । कम्बाइन्ट सटमा ब्याकसर्टबाट बडी डबल राख्नुपर्ने, त्यो मिलाउन नै ठूलो सकस हुन्थ्यो ।”
दुईजना नेपालका सुपरस्टार, एकजना बलिउडकै सुपरस्टार आफूले समय तोकेर यो समय है तपाईंको भनेर भन्न नसक्ने अवस्थाले सिर्जना गरेको चुनौति थियो, त्यो दीपेन्द्रका लागि । त्यसमा पनि उनी नयाँ निर्देशक थिए ।
तर, त्यही दबाब र त्यस्तै दबाब र संघर्षले दीपेन्द्रलाई चुनौतिसँग खेलेर त्यसबाटै अब्बल काम निकाल्न सिकायो । “धर्मा र युगदेखि युगसम्म गरेको संघर्ष र भोगेको चुनौतिले आफूलाई पछिल्ला दिनमा सहज बनाउँदै लगेको हो,” उनी भन्छन्, “अहिले मलाई सुटिङ गर्दा समयको महत्त्व र कम समयमा कसरी राम्रो काम निकाल्ने भन्ने कुरा सिकायो ।”
यी चलचित्रमा दीपेन्द्र पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्मका हलमा पुगेर दर्शकसँगै बसेर चलचित्र हेरे । पूर्वदेखि पश्चिसम्मका दर्शकको मनोविज्ञान यही समय बुझ्न पाए उनले । जसले आजसम्म उनलाई सहज भएको छ ।
आफूले भनेजस्तो काम गर्न नपाएर वितरकको योजनामुताविक काम गरेर निर्देशन गरेको उनको ‘युगदेखि युगसम्म’ काठमाडौं बाहिर निर्माण सम्पन्न गरेको चारवर्ष पछि रिलिज भएको थियो ।
कुल कलाकार राख्ने, कहाँ गीत र कहाँ फाइट राख्ने भन्नेसम्मको वितरकको प्रत्यक्ष हस्तक्षेप हुने समय इन्डिपेन्डेन्ट सिनेमा मेकरलाई भिडियो निर्देशक भन्थे । रेडकार्पेटमा जाँदा न सिनेमा मेकरले हाईहेलो गर्थे न त सञ्चार माध्यमले नै कभरेज गर्थे ।
यो चलचित्रमा कर्ली कपाल पाल्ने राजेशको गेटअप परिवर्तन गर्दै उनले सलक्क परेको हेयरस्टाइल बनाउन लगाएका थिए । राजेशको फरक हेयरस्टाइलले ‘युगदेखि युगसम्म’को चर्चा पाएको थियो भने मनिषाको नेपाली चलचित्रमा पहिलो चलचित्र ‘फेरि भेटौंला’ पछिको कमब्याकले ‘धर्मा’को प्रचार भएको थियो । – बारह्खरी
प्रतिक्रिया