तस्बिर स्राेत : मनीषा काेइराला
काठमाडौं–अभिनेत्री एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाकी नातिनी मनीषा कोइरालाले सामाजिक सञ्जालमा बीपीको एउटा तस्बिर पोस्ट गरिन्। बीपीको सादगीपूर्ण जीवनशैली झल्काउने यो तस्बिर सामाजिक सञ्जालमा देखेपछि धेरैले उनीप्रति श्रद्धाभाव व्यक्त गरेका छन् नै। अझ कतिपयले त्यो तस्बिरको सन्दर्भलाई कोट्याएर नेपाली राजनीतिको सुन्दर र संघर्षपूर्ण विगततर्फ फर्काइदिएका छन्। यस्तै सन्दर्भ उल्लेख गरेका छन् अध्येता सन्तोष खडेरीले। उनले उक्त तस्बिरबारे उल्लेख गरेको सन्दर्भलाई जस्ताको तस्तै–
मनीषा कोइरालाजीले सामाजिक सञ्जालबाट बीपी कोइरालाको यस तस्बिर सार्वजनिक गर्नुभएपछि मलाई यो तस्बिरको सन्दर्भ यहाँ उल्लेख गर्न मन लाग्यो।
यो तस्बिर बीपी कोइराला प्रधानमन्त्री हुँदाको बखतको हो। सन् १९५९ को अक्टोबर अन्तिम दिनको हुनुपर्छ। २००७ सालको क्रान्तिका नायक, राणा शासनको अन्त्यपछि निर्वाचन नहुँदासम्मको ८ वर्षको अवधिसम्म जनमानसमा व्यापक लोकप्रियताका बाबजुदसमेत प्रधानमन्त्री हुन नपाएका र मुलुकमा सम्पन्न पहिलो आमनिर्वाचनबाट अभूतपूर्व बहुमत हासिल गरी प्रधानमन्त्री बनेका बीपी कोइरालाप्रति त्यतिबेला अन्तर्राष्ट्रिय स्तरबाट समेत निकै चासो थियो। काठमाडौंबाट अन्तर्राष्ट्रिय समाचार एजेन्सी दी एसोसिएटेड प्रेस (एपी) ले यो तस्बिरसहित संवाददाता हेनरी एस। ब्राडसेरले तयार गरेको समाचार सम्प्रेषण गरेको थियो। ०१ नोभेम्बर १९५९ का दिन उक्त एजेन्सीमार्फत खबर छाप्ने संसारभरका अखबारले पहिलोपटक यस तस्बिरसहित समाचार प्रकाशित गरेका थिए। तीमध्येका केहीका समाचार शीर्षक यस्ता थिए- ‘From Feudal Monarchy to Modern Democracy’ , ‘Premier of Nepal Tries to Transformed Feudal Monarchy’ , ‘One Man Handles Nepal attempt to Modern States’
यो तस्बिर प्रधानमन्त्रीको आवास अझ उनको शयनकक्षमा रहेको उनको आफ्नै विस्ताराको हो। ४४ वर्षीय ऊर्जावान् युवा प्रधानमन्त्री कोइराला विस्तारामा नै बसेर चियानास्ता लिँदै मन्त्रिपरिषदका केही कागजात राखेर त्यसमा केही काम गरिरहेको जस्तो देखिन्छ।
यो तस्बिर प्रधानमन्त्रीको आवास अझ उनको शयनकक्षमा रहेको उनको आफ्नै विस्ताराको हो। ४४ वर्षीय ऊर्जावान् युवा प्रधानमन्त्री कोइराला विस्तारामा नै बसेर चियानास्ता लिँदै मन्त्रिपरिषदका केही कागजात राखेर त्यसमा केही काम गरिरहेको जस्तो देखिन्छ। घाँटीमा सेतै मफलर, जिउमा सेतो कमिज र सेतै सुरुवालसहित अति साधारण किसिमको नेपाली मौलिक पहिरन लगाएका प्रधानमन्त्री कोइरालाको तस्बिर हेर्दा कुनै अस्पतालका युवा प्रशिक्षार्थी जस्तो देखियो भन्ने समाचार टिप्पणी थियो।
प्रजातन्त्रका लागि आजीवन संघर्ष गरेका प्रजातान्त्रिक योद्धा कोइराला सादगी जीवनका पर्याय थिए। प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ उनले प्रधानमन्त्रीको मासिक तलब २५०० रुपैयाँबाट घटाएर १५०० रुपैयाँ बनाएका थिए। उनको तस्बिरमा त्यतिबेलाका मुलुकका कार्यकारी प्रधानमन्त्रीको अत्यन्तै सादगी जीवनशैली देखिन्छ। उनको सरकारले आर्थिक मितव्ययिता व्यवहारमा नै अपनाएको थियो। राजाले सत्ता हातमा लिँदा भ्रष्टाचारको आरोप लगाए पनि पछि उनले त्यसको छानबिन गर्ने मुद्दा दायर गर्ने नगरेकाले त्यो फगत राजनीतिक आरोप मात्र थियो भन्ने देखिन्छ। आजको दिनमा स्थानीय तहदेखि केन्द्रीय तहसम्म सबैभन्दा अभाव देखिने नै यही साधारण जीवनशैलीको हो। यहाँ अचेल सर्वत्र असाध्यै विलासिता र तडकभडक देखिन्छ। आर्थिक मितव्ययितता भन्ने शब्द त नेपाली राजनीतिको शब्दकोशबाट नै हराइसकेको छ।
उक्त समाचारमा उनको राजनीतिक जीवन यात्राको समेत चर्चा थियो। त्यसबाहेक समाचारको अन्य सार भने यस्तो थियो– नेपाललाई सामन्ती राजतन्त्रदेखि आधुनिक प्रजातान्त्र तर्फ बदल्नका लागि एक व्यक्तिलाई जिम्मेवारी सुम्पिएको छ। उनी हुन् प्रथम जननिर्वाचित लोकप्रिय प्रधानमन्त्री बीपी कोइराला।
कोइराला भन्छन्- ‘विदेशीहरुले हाम्रो नेपालका बारेमा जे जस्तो रोमाञ्चित ढंगको छुट्टै छवि देख्ने गरेका छन्, त्यो अब छिट्टै लुप्त हुँदै छ।’
कोइराला भन्छन्- ‘विदेशीहरुले हाम्रो नेपालका बारेमा जे जस्तो रोमाञ्चित ढंगको छुट्टै छवि देख्ने गरेका छन्, त्यो अब छिट्टै लुप्त हुँदै छ। किनकि हामीले एउटा नयाँ समाजको निर्माण गरिरहेका छौं। जसरी आर्थिक प्रगति हुनेछ त्योसँग तिमीहरुले सोंच्ने गरेको छवि धेरै हदसम्म हट्नेछ। हामीले अहिलेसम्म प्रजातान्त्रिक संरचनाको विकास गर्न सकेका छैनौं।’
राजा महेन्द्रले प्रजातान्त्रिक संविधान र आमनिर्वाचनमार्फत सुरु गरेको प्रजातान्त्रिक प्रणालीलाई अगाडि बढाउनका लागि प्रधानमन्त्री कोइरालाले काम गरिरहेका छन्। संसदमा कोइरालाको बलियो उपस्थिति छ र उनको दलमात्र मुलुकभर संगठन विस्तार भएको राष्ट्रिय संगठन हो। यिनले आर्थिक सामन्तवादको अन्त्य गरेर निम्नस्तरको जीवनस्तरलाई माथि उठाउने प्रयास गरेका छन्। चीन र भारतको बीचमा रहेको नेपालले असंलग्न नीति अपनाएर अन्तर्राष्ट्रिय मामिलामा आफूलाई उभ्याउने कोसिस गरिरहेको छ।
एकजना विदेशी पर्यवेक्षकका अनुसार अहिलेसम्म त सबै प्रक्रिया राम्रोसँग अगाडि बढिरहेको छ। पछिल्लो निर्वाचनमार्फत घटिरहेको आफ्नो शक्तिलाई राजाले कहिलेसम्म र कति चाँडो स्वीकार गर्न सक्छन् त भन्ने मात्रै मुख्य प्रश्न हो।
ती विदेशी पर्यवेक्षकले प्रश्न तेर्साएबमोजिम निर्वाचनमार्फत बनेको सदन र सरकारका कारण आफ्नो घटिरहेको शक्तिलाई राजाले धेरै पर सम्म स्वीकार गर्न सकेनन्। १८ महिनामा नै सेनाको मद्दमा संसद् र सरकार भंग गर्दै सम्पूर्ण शक्ति आफ्नो हातमा लिए। संसदका सदस्य, सभामुखसहित नेपालमा रहेका मन्त्रिपरिषदका सबै सदस्यलाई राजाले जेलमा कोचे। आफूलाई सघाउने र आफ्नो कदमको पक्षमा उभिनेलाई रिहा गरे। केहीलाई आफ्नै नेतृत्वमा गठित मन्त्रिपरिषद्मा सहभागी गराए भने बाँकीलाई लामै समय जेलमा राखे। उनी संवैधानिक राजा भएर बस्न चाहेनन्। कार्यकारी प्रमुख आफैं भएर शासन गर्ने महत्त्वाकांक्षा उनमा बढ्दै गयो। सरकार लोकप्रिय भयो भने भोलि कतै आफ्नै अस्तित्व खतरामा पर्ने त होइन भन्ने अत्यन्तै छोटो सोंच राखे र मुलुकलाई अर्कै बाटोमा अगाडि बढाए।
समाचार स्रोत- अमेरिकी अखबार रिडिङ इगल- १ नोभेम्बर १९५९, सन्ताेष खडेरीकाे फेसबुकबाट
प्रतिक्रिया