दृष्टिविहीन डिल्लीराम दुलाल। तस्बिर : दिनेश श्रेष्ठ
काठमाडौं- सडकमा सवारीसाधनको चाप बढेको छ। बजार, पसल र कार्यालय पनि स्वास्थ्य मापदण्ड पालना गर्दै खुल्न थालेका छन्। सरकारले खुकुलो हुँदै गरेको निषेध आदेशले उपत्यकामा चहलपहल बढाउँदै छ। केही यस्ता क्षेत्र छन्, जुन तत्काल खुल्ने संकेत छैन। यस्ता क्षेत्रमध्ये हुन्– होटल तथा रेस्टुरेन्टमा चल्ने दोहोरी साँझ। रात्रिकालीन यस्ता मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने पनि बाक्लै छन्। जसबाट उनीहरूको रोजीरोटी चलिरहेको छ।
दोहोरी साँझमा गीत गाएर जीवन निर्वाह गर्नेमा दृष्टिविहीन पनि छन्। ‘दोहोरी साँझ खुलेको सुन्न कहिले पाइएलाजस्तो भा’छ’, २८ वर्षीय दृष्टिविहीन डिल्लीराम दुलाल भन्छन्। झापा बिर्तामोड स्थायी घर भएका दुलाल निषेध आदेशअघि कोटेश्वरको ‘पञ्चेबाजा दोहोरी साँझ’मा गीत गाउँथे। उनले भने, ‘लकडाउनले बेरोजगार बनाएपछि ऋण लाग्यो।’
अघिल्लो चार महिनाको लकडाउनमा तीस हजार ऋण लागेको थियो उनलाई। साथीसँग ऋण मागेर आफ्नो गर्जो टारेका दुलालले दोहोरिएर लकडाउन लाग्ला सोचेका थिएनन्। गीत गाएर उनी मासिक २२ हजार कमाउँथे। स्नातक पढ्दै गरेकी पत्नी दृष्टिविहीन निशा घिमिरेको पढाइ खर्च, कोठा भाडा, ग्यास, खाद्यान्न, तरकारी आदि सामान किन्दा यति तलबले काठमाडौंको महँगीमा के पुग्थ्यो र?
गीत गाएर उनी मासिक २२ हजार कमाउँथे। स्नातक पढ्दै गरेकी पत्नी दृष्टिविहीन निशा घिमिरेको पढाइ खर्च, कोठा भाडा, ग्यास, खाद्यान्न, तरकारी आदि सामान किन्दा यति तलबले काठमाडौंको महँगीमा के पुग्थ्यो र?
अघिल्लो लकडाउनमा पनि सरकारको सेड्युलमा मनोरञ्जन क्षेत्र अन्तिममा परेकै हो। तर जनजीवन छिट्टै सहज भएको देखेर उनी पनि उत्साहित थिए। काममा फर्किने दिन आउँदै गर्दा उनी निकै आशावादी थिए। यति मात्रै होइन, होटल साहुले पनि फोन गरेर ‘अब केही दिनमा दोहोरी साँझ खुल्छ’ भन्ने खबर गरेका थिए। दुर्भाग्य चार महिना बन्द भएको होटल खोलेर सरसफाइ गर्न नभ्याउँदै दोस्रो लहरको कोरोना कहर रोक्न सरकारले निषेध आदेश लगायो। त्यसपछि दृष्टिविहीन दुलालको सपना सबै उडायो कोरोनाले।
गोपीकृष्ण नजिकैको सानो कोठामा पतिपत्नी बस्दै आएका दुलाल गीत मात्रै गाउँदैनन्, बाजा पनि बजाउँछन्। उनको रुचि ‘अक्टोप्याट’ मा छ। अक्टोप्याट सिकेपछि दोहोरी साँझमा मात्रै होइन, पुराण तथा यज्ञमा आयोजना हुने भजनकीर्तनमा पनि उनलाई बोलाइन्थ्यो। उनी ढोलक पनि राम्रै बजाउँछन्। उनी भन्छन्, ‘हाम्रो प्रतिभाको कदर गर्छन्, त्यसैले खुसी लाग्छ।’
सुरुवाती चरणमा आफ्नो पहिचान स्थापित गर्न गाह्रो भएको थियो उनलाई। सहरका विभिन्न होटल तथा रेस्टुरेन्टमा चल्ने दोहोरी तथा गजल साँझमा काम खोज्दै हिँडेका थिए दुलाल। उनले भने, ‘प्रतिभा भएर पनि निरीह भइयो। मुस्किलले अवसर पाइन्थ्यो। जसको कदर एकदम कम हुन्थ्यो।’
कतिपय रेस्टुरेन्टका दोहोरी र गजल साँझहरुले नपत्याउँदा उनलाई सडक गीत पनि गाउन परेका थियो। उनले भने, ‘हामीसँग प्रतिभा भए पनि ग्ल्यामर्स हुँदैन। तर यो क्षेत्रका व्यवसायी ग्ल्यामर्स खोज्छन्, त्यसैले अवसर कम पाइन्छ।’ बेलाबेला आफ्नै स्टिक मुसार्दै बोलिरहेका दुलाल आफूजस्ता धेरै साथीहरु बेरोजगार भएकोमा चिन्ता व्यक्त गर्छन्।
कोही गाउँ गए कोही ब्यान्डमा
भेट्न नआऊ रातिमा तातो गोली खाउला छातीमा…, उनको मोबाइलको रिङटोन बज्यो। एकछिन है सर भन्दै उनले फोन उठाए।
हेलो!
अँ डिल्ली काठमाडौं खुल्यो?
कहाँ खुल्नु किशोरा दिदी?
किशोरा : अब त खुले नि हुन्थ्यो नि है, गाडी चल्न थाल्यो रे नि त?
डिल्ली : फाट्फट्ट खुल्दै छ।’
किशोरा : ‘भेटघाट रोधीघर कहिले खुल्ला?’
डिल्ली : फोन गरिहाल्लान् नि साहुले।
किशोरा : खुल्नेबित्तिकै व्यापार हुँदैन भनेर नबोलाउन नि सक्लान्।’
उनीहरु बोल्दाबोल्दै कल काटियो। ‘सरी सर’ भन्दै मोबाइलको स्क्रिनमा औंला चलाउँदै दुलालले भने, ‘म्यासेज गरिदिन्छु ल।’ ३१ वर्षीया किशोरा अर्याल चाबहिलको ‘भेटघाट रोधी घर’मा ८ वर्षदेखि गीत गाउँदै आएकी छन्। लकडाउनले त्यो निरन्तरता बाधक बनिदियो। अघिल्लो लकडाउन सकिएर जनजीवन सहज भयो भनेपछि उनी गाउँबाट काठमाडौं फर्किएकी थिइन्। आउनेबित्तिकै भेटघाट रोधीघरमा गइन्। तर एक महिना काम गर्न नपाउँदै दोहोरिएको निषेध आदेशका कारण साहुले सबैलाई घरतिर जान भने। त्यसपछि उनी झापा हुइँकिइन् वैशाख १५ गते।
‘धन्न गाउँ आएर ठिक भयो। नत्र काठमाडौंमा विजोग हुनेरहेछ’, कुराकानीका क्रममा उनले भनिन्। डिल्ली पनि किशोरासँगै गाउँ नगएकोमा दुःखी छन्। उनी भन्छन्, ‘छिट्टै खुल्ला जस्तो लागेर गाउँ गइनँ। अहिले पछुताएको छु।’
डिल्ली निराशचाहिँ भएका छैनन्। केही न केही सिकिरहेका छन्। संगीत संयोजन गर्न सिकिरहेका छन्। नयाँनयाँ बाजा बजाउन कोसिस गर्छन्। भोकै बस्नुपरेको छैन। उनले काम गर्दै आइरहेको दोहोरी साँझका साहु राम थापा ‘शिशिर’ मार्फत कोटेश्वर लोकदोहोरी व्यवसायीले राहत उपलब्ध गराइदिएको सम्झन्छन्।
डिल्ली निराशचाहिँ भएका छैनन्। केही न केही सिकिरहेका छन्। संगीत संयोजन गर्न सिकिरहेका छन्। नयाँनयाँ बाजा बजाउन कोसिस गर्छन्। भोकै बस्नुपरेको छैन। उनले काम गर्दै आइरहेको दोहोरी साँझका साहु राम थापा ‘शिशिर’ मार्फत कोटेश्वर लोकदोहोरी व्यवसायीले राहत उपलब्ध गराइदिएको सम्झन्छन्। उनले नुन, तेल, चामल, आलु, चिउरा पाए। तर ग्यास सकिने र कोठा भाडा बढ्ने क्रम रोकिने रहेनछ भन्दै पैसाको खाँचो परेको सुनाउँछन् उनी।
ऋण फिर्ता गर्न नपाएकोमा उस्तै चिन्ता थियो उनलाई। तर साहुले खुल्नेबित्तिकै बोलाउँछु भनेर वचन दिएकाले सुखको सास फेरेको बताउँछन्। उनी सात वर्षदेखि सोही दोहोरी साँझमा गाउँदै आएका छन्। दृष्टिविहीनसँग भएको खाँचो महसुस गर्नेप्रति उनी खुसी हुन्छन्। भन्छन्, ‘कसो नसकिएला कोरोना? कसो नफर्किएला काममा जाने दिन।’
४६ वर्षीयईश्वर बलामी १२ वर्षदेखि काठमाडौंका दोहोरी साँझमा गीत गाउँदै आएका छन्। अचेल आफ्नै ब्यान्डका साथीहरुसँग मिलेर अभ्यास गरिरहेका छन्। तबला बादक बलामी र उनका केही साथी मिलेर २०७३ सालतिर ‘प्रयास ब्यान्ड’ खोलेका थिए। अहिले त्यही ब्यान्ड रहेको कालोपुलमा उनीहरुको भेटघाट गर्ने थलो भएको छ।
उनलाई पनि उस्तै सामान्य सामान्य कुराले पिरोलेको छ। कोठाभाडा तीस हजार पुगेको सुनाउँछन् बलामी। तैपनि घरबेटीले छिटो पैसा दिनुस् भनेका छैनन्। रासन पसलबाट उधारो दिनुपर्ने १२ हजार पुगेको सुनाउँछन्। उधारो पत्याइरहेका छन् किराना साहुले। पत्नी, दुई सन्तान र आफ्नो जीवन यही दोहोरी साँझमा तबला बजाएर निर्वाह गर्दै आएका बलामी सामान्य जनजीवन भए हुन्थ्यो नि भन्ने कल्पिन्छन्। उनी भन्छन्, ‘हामलाई त जबसम्म दोहोरी खुल्दैन तबसम्म लकडाउनजस्तै हुन्छ।’ बलामीका अनुसार उपत्यकामा पचासदेखि ६० जना दृष्टिविहीन दोहोरी साँझमा गीत गाउँछन्। यस्तै एक सय भन्दा बढीले सडक गीत गाउँदै आएका छन्। बन्दाबन्दीका कारण सबै घरमै सीमित छन्।
सडकमा गीत गाउँदै आएका केही दृष्टिविहीन प्रतिभालाई निःशुल्क संगीत सिकाएर दोहोरी साँझमा काम पनि लगाइदिएको थियो ब्यान्डले। कृष्ण कमल, प्रेम लिम्बु, विरुकमल श्रेष्ठ र ईश्वर बलामी मिलेर खोलेको ‘प्रयास ब्यान्ड’ नेपालभित्र मात्रै होइन थाइल्यान्ड पनि कार्यक्रम गर्न पुगेको थियो कुनै बेला। यस्तै युरोपका विभिन्न सहरमा पनि उनीहरु पुगेका छन्। उनी भन्छन्, ‘दृष्टिविहीनलाई मौका दिनुस्। हामी काम गर्न सक्छौं।’
बलामी पाएको अवसर पनि गुमाउनुपरेकोमा दुःख व्यक्त गर्छन्। जनता टेलिभिजनले वाद्ययन्त्र बजाउन एक वर्षका लाागि सम्झौता गरेको थियो। बलामीले भने, ‘तर देख्ने मानिसले हस्तक्षेप गरे। त्यहाँ पनि राजनीति गरे। त्यसका लागि उहाँहरुलाई धन्यवाद!’ बलामीलाई सरकारप्रति विश्वास छैन। यसअघि पनि आफूहरुका लागि केही नगरेको र अब पनि केही गर्दैन भन्नेमा आफू ढुक्क रहेको उनी बताउँछन्।
बुटवल स्थायी घर भएका २६ वर्षीय विष्णु न्यौपानेहाल कालोपुलमा बस्छन्। उनी सुनधाराको ‘गाउँघर दोहोरी घर’ मा वाद्ययन्त्र बजाउँथे। ‘प्रयास ब्यान्ड’ आबद्ध उनी किबोर्ड बजाउँछन्। उनी भन्छन्, ‘लोकदोहोरी प्रतिष्ठानले दिएको राहतका कारण आजसम्म टिकिएको छ।’
सुरज आचार्यपनि दृष्टिविहीन हुन्। २७ वर्षीय आचार्य काठमाडौं प्लाजास्थित गण्डकी लोक दोहोरीमा गीत गाउँथे। उक्त दोहोरी साँझ धुम्बाराही सर्यो। दोहोरी साँझले पिकअप लिन नसकेपछि भनेजस्तो कमाइ हुन नसकेको बताउँछन् उनी। उनी भन्छन्, ‘कोरोनाले यतिखेरै थलो पार्यो। गण्डकी लोकदोहोरी साँझ धुम्बाराही सर्दा कमाइ नै हुन छाडेको थियो। अहिले त दोहोरो मारमा परिएको छ।’
‘दृष्टिविहीनका लागि काम गर्दै आएका कुनै पनि संघसंस्थानले सहयोग गर्छु भनेका छैनन्। बरु यिनै दोहोरी साँझका व्यवसायीहरुले कम्तीमा दाल–चामल राहत दिएका छन्।’
आचार्य महामारीसँग जुधेर भए पनि रोधी घर खुल्ने आसमा छन्। मोरङ स्थायी घर भएका उनले हुम्लाकी दृष्टिविहीन लक्ष्मी भण्डारीसँग बिहे गरेका छन्। उनलाई थाहा छ। लकडाउन खुले पनि होटल रेस्टुरेन्ट ढिलो गरी खुल्नेछन्। त्यसका लागि धेरै समय पर्खिनुपर्ने बताउँछन् उनी। उनको गुनासो छ, ‘दृष्टिविहीनका लागि काम गर्दै आएका कुनै पनि संघसंस्थानले सहयोग गर्छु भनेका छैनन्। बरु यिनै दोहोरी साँझका व्यवसायीहरुले कम्तीमा दाल–चामल राहत दिएका छन्।’
दृष्टिविहीनका नाममा खुलेका सामाजिक संस्थासमेत मौन रहेका बेला सरकारलाई उनी कुनै गुनासो गर्न चाहँदैनन। उनी भन्छन्, ‘सरकारलाई भनेर केही हुनेवाला छैन। हाम्रा लागि सरकार झनै निर्मम लाग्छ।’ उनले पाँच महिनादेखि कोठाभाडा तिर्न पाएका छैनन्। बजार भाउ बढेको बढ्यै छ। उनी भन्छन्, ‘घर जान मन लागेको छ। घर जान पनि भाडा त चाहिन्छ। त्यो पैसा भए त कोठा भाडा तिरेर काम खोज्थें। तर कहिले खुल्ने हो कहिले?’
दृष्टिविहीनहरु प्रतिभाशाली मात्रै होइन शिक्षित पनि छन्। आफ्नो ‘करियर’ बनाउन उनीहरू स्वयम् मेहनत गर्छन्। सकेसम्म आत्मनिर्भर हुने प्रयास गर्छन्। बस, उनीहरुलाई राज्यबाट अन्य मानिसलाई भन्दा थप केही विशेष सुविधा भए पुग्छ। आफ्नो खुट्टामा उभिँदै आएका दृष्टिविहीनहरु महामारीका बेला बेरोजगार छन्। काम नहुँदा माम पाइने कुरै भएन।
यसरी कामविहीन हुनेमा काठमाडौं उपत्यकाका दोहोरी साँझमा गीत गाउँदै आएका दृष्टिविहीन पनि छन्। कोरोना कहरका कारण खुम्चिएर बस्नुपर्दा भने दृष्टिविहीनहरु निराश छन्। दृष्टिविहीन डिल्ली भन्छन्, ‘हाम्रा लागि उसै पनि संसार अँध्यारो छ, अझ २४ घन्टा कोठामै बिताउनुपर्दा मन पनि अँध्यारो हुँदो रहेछ।’ – राज सरगम, नेपालसमय
प्रतिक्रिया