धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले वर्षात सुरु भएपछि विकास निर्माणका लागि भन्दै स्थानीय तहहरुमा बजेट पठाएको छ। प्रदेश मन्त्रीपरिषदबाट निर्णय गर्दै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले असारमा बजेट पाठाएको हो।
स्थानीय तहहरुलाई उपभोक्ता समितिमार्फत कार्यान्वयनका लागि १२ करोडका योजनाहरु पठाएपनि पूर्ण कार्यान्वयनमा आशंका गरिएको छ।असार ७ गते पठाएको अख्तियारीमा अधिकांश योजना तट्बन्धनका छन्। खानेपानी, सिँचाई कुलो लगायतका योजनाहरुमा समेत प्रदेश सरकारले ११ करोड ६३ लाख पठाएको हो। सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदले जेठ १३ गते गरेको निर्णय अनुसार प्रदेशको अर्थ मन्त्रालयलले स्थानीय तहहरुलाई बजेट वितरण गरेको हो।
प्रदेशको आर्थिक मामिता तथा योजना मन्त्रालयले असार ७ गते प्रदेशका स्थानीय तहहरुलाई ११ करोड ६३ लाख पठाएको छ। प्रदेश सरकारले तट्बन्धन तथा ग्याविन वाल निर्माण, सिँचाई कुलो मर्मत, खानेपानी मर्मत लगाएतका कार्यक्रमहरुका लागि उक्त रकम विनियोजन गरिएको हो।
सोमबार स्थानीय तहमा पठाएको झण्डै १२ करोडका योजनाहरुको उपभोक्ता समिति गठनको काम थालिएको बाजुराको बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए। उनले भने, “काम सुरु भएको छ। तीन दिन भयो, हिजो उपभोक्ता समिति गठन गरेका छाँै। काम हुँदैछ। कति सकिन्छ, गर्छौँ। नसकिएको रकम फिर्ता जान्छ।”
अछामको रामारोशन गाउँपालिकालाई मात्र झण्डै ३ करोड बजेट पठाइएको छ। गाउँपालिकालाई सिँचाई कुलो मर्मत, ग्रामिण सडक निर्माण, खानेपानी मर्मत, तट्बन्धन, आरसीसी वाल निर्माण लगाएका शिर्षकमा २ करोड ७९ लाख पठाइएको हो। गाउँपालिकाले ५० वटा कार्यक्रमहरु असार मसान्त भित्र कार्यान्वयन गर्नुपर्ने छ।
यता गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँदले कार्यक्रम कार्यान्वयनका लागि उपभोक्ता समितिहरु गठन भएका बताए। उनले भने, “सिँचाई कुलो मर्मतका लागि काम थालेका छौ। बाढीले धेरै कुला बगाएको थियो। मर्मतपछि मात्र रोपाई हुन्छ। नदीले बगाएको ठाउँमा तट्बन्ध पनि गर्दै छौँ।”
स्थानीय तहलाई उपभोक्ता समिति गठन गर्दै कार्यक्रम कार्यान्वयन गर्न र भुक्तानी पनि दिन अख्तियारी दिइएको छ। तर प्रदेश सरकारले वर्षातको समयमा योजना पठाएकाले सदुपयोग हुनेमा भने आशंका गरिएको छ। कैलालीको बर्दागोरिया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष करने सुनारले उपभोक्ता समितिले काम थालेको बताए। “२ डोजर छन्। युवाहरु काम गर्दैछन्। पानी आएपछि नदीको तट्बन्धन गर्न सकिदैन्। चाँडै गर्नुछ। कति सकिन्छ,” उनले भने।
प्रदेश सरकारले कार्याकर्ता खुसी पार्न असारमा बजेट रकमान्तर गर्दै पठाएको दाबी गरिएको छ। झण्डै १२ करोड बजेट स्थानीय तहमा पठाइएकोमा आधा रकम समेत खर्च हुनेमा आशंका स्थानीय तहहरुको छ। बजेट सदुपयोग नहुनेमा समेत आशंका गरिएको छ। तर सुदूरपश्चिम सरकारकी प्रवक्ता समेत रहेकी अन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बजेट स्थानीय तहमा गएको बारेमा जानकारी नभएको बताइन्।
प्रदेश सरकारले भजनी नगरपालिकामा ८५ लाख, मोहन्याल गाउँपालिकामा १० लाख, कैलारी गाउँपालिकामा ३० लाख, बर्दगोरिया गाउँपालिकामा ६० लाख, साँफेबगर नगरपालिकामा १ करोड ४० लाख, रामारोशन गाउँपालिकामा २ करोड ७९ लाख, आलिताल गाउँपालिकामा १ करोड २० लाख, बडिमालिका नगरपालिकामा ५० लाख, त्रिवेणी नगरपालिकामा ८० लाख, खप्तडछान्ना गाउँपालिकामा २ करोड ८० लाख, थलारा गाउँपालिकामा ३ करोड ४० लाख, छबिसपाथीभेरा गाउँपालिकामा ४० लाख र तलकोट गाउँपालिकामा ३० लाख पठाइएको हो। – dineshkhabar
प्रतिक्रिया