मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफुसँगै सात सदस्यीय मन्त्रिपरिषद् बनाउन देउवाको प्रस्ताव

आफुसँगै सात सदस्यीय मन्त्रिपरिषद् बनाउन देउवाको प्रस्ताव


कांग्रेसका दुई, माओवादी केन्द्रका दुई, जसपा र राजमोका एक एक जनालाई मन्त्री बनाउने तयारी, आ–आफ्नो निर्णयपछि पुनः बस्दैछ चारदलीय बैठक

काठमाडौं । सर्वोच्चको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा आज पाँचौपटक प्रधानमन्त्री बन्दैछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा ६३ सिट मात्र भए पनि सर्वोच्चको फैसलापछि देउवाले प्रधानमन्त्रीमा शपथ लिन लागेका हुन् ।

उनलाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेशको माग गर्दै  सत्तारुढ एमालेसहितका बहुमत सांसद सर्वोच्चमा उपस्थित भएर रिट दायर गरेका थिए । विपक्षी गठबन्धनमा रहेका पाँच दलमध्ये माधवकुमार नेपालले पार्टी एकताको पक्षमा लाग्ने बताएका छन् भने बाँकी दलका तर्फबाट सात सदस्यीय मन्त्रिपरिषद् प्रस्ताव देउवाले गरेका छन् ।

आफ्नो पार्टीमा पौडेल समूहसहितको प्रतिनिधित्व गराएर दुई मन्त्री बनाउन लागेका देउवाले माओवादीलाई पनि दुई मन्त्री दिन आग्रह गरेका छन् । यस्तै जनता समाजवादी पार्टीलाई कम्तिमा एकजना दिएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । 

सुरुदेखि नै ५ दलीय गठबन्धनमा आवद्ध भएको राष्ट्रिय जनमोर्चालाई पनि सरकारमा सहभागी गराउने देउवाको तयारी छ । सरकारमा सहभागी हुने र नाम दिने विषयमा भने सम्बन्धित दलहरुले बैठकबाट निर्णय गर्न बाँकी नै छ । 

जसपाका तीन नेता उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईको बैठक अहिले केहिबेरमा बस्दैछ । शीर्ष नेताको बैठकपछि उपलब्ध कार्यकारिणी समितिको बैठक बस्ने नेता इस्तियाक राईले जानकारी दिए । तस्बिर ः रासस