मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवा प्रधानमन्त्री बन्ने भएपछि गृहजिल्लामा खुसीयाली

देउवा प्रधानमन्त्री बन्ने भएपछि गृहजिल्लामा खुसीयाली


डडेल्धुरा– कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँ पटक देशको प्रधानमन्त्री बन्ने भएपछि गृहजिल्ला डडेल्धुरामा खुसीयाली मनाइएको छ । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै गृहजिल्लामा खुसीयाली मनाइएको हो । 

जिल्ला सदरमुकाम बागबजारमा भेला भएका नेता÷कार्यकर्ताले कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा जिन्दावादलगायत नारा लगाउँदै बजार परिक्रमा गरे । प्रधानमन्त्री केपी ओलीले ८ जेठमा दोस्रो पटक गरेको संसद् विघटनलाई बदर गर्दै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

सर्वोच्चले देउवालाई २९ असार बेलुकी ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न भनेको छ । अर्थात्, फैसला आएको २८ घन्टाभित्र राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । अदालतले ३ साउनमा संसद् बैठक बोलाउनसमेत आदेश दिएको छ ।

३१ जेठ २००३ मा डडेल्धुराको साविक असिग्राम गाविस वडा नम्बर ५ र हालको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा जन्मिएका देउवा २०४८ देखि लगातार यहाँबाट जनप्रतिनिधिका रूपमा विजयी हुँदै आएका छन् । देउवा २०४८ देखि २०५६ को संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका थिए ।

२०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर क्षेत्र ४ र कैलाली क्षेत्र ६ बाट विजयी भएका थिए । डडेल्धुरामा देउवाले २०७४ मा छैटौँ पटक चुनाव जितेका हुन् ।