काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सत्ता कसरी चल्छ भनेर अब नेपाली जनताले हेर्ने बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा भाग लिँदै कांग्रेस सांसद रिजालले सत्ताभन्दा बहिर भए पनि अहंकार नदेखाउन एमाले नेताहरुलाई आग्रह गरे ।
कोरोनाको संक्रमण रोकथामका लागि लकडाउन गरेर अध्यादेश ल्याउन थालेको, जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको, प्रतिनिधिसभा विघटन र अदालतमाथि आक्रमण जस्ता काम गरेको भन्दै उनले भने, ‘प्रतिपक्ष कस्तो चल्ला हेर्दै गरौंला, सत्ता कसरी चल्छ भन्ने अब नेपाली जनताले हेर्छन् ।’
कोभिड लागे लागोस्, तर सरकारसम्म आवाज पुर्याउनुपर्छ भनेर जनता इनफ इज इनफ भनेर सडकमा आएको, संसदीय समितिहरुले एकसेएक भ्रष्टाचारबारे छानबिन गर्नु परेको उनले स्मरण गरे । ‘त्यस्तो दिन भोलि आउँदैन, त्यो चाहिँ विश्वास छ शेरबहादुर देउवामाथि,’ आफूभन्दा अगाडि बोलेका एमाले सांसद प्रदीप ज्ञवालीको तर्कको खण्डन गर्दै सांसद रिजालले भने, तपाईंहरुलाई पनि यहाँबाट पाखा लगाउन होइन, हरेक दिन सुनेका टिकाटिप्पणीबाट सच्चिन्छौं ।’
अदालतले माधव नेपाललाई विवेकको मत हाल्न लगाएको होइन
ज्ञवालीको तर्कको खण्डन गर्ने क्रममा कांग्रेस सांसद रिजालले सर्वोच्चको फैसलाको बचाउ गरे । ओली नेतृत्वको सरकार संविधान भत्काउने बाटोमा हिँडेको र संसद जोगाउन विवेकको मत प्रयोग गर्ने संविधानको धारा ७६(५) माथि समेत आक्रमण गरिएको भन्दै उनले भने, ‘संविधान भत्काउने प्रवृत्तिविरुद्ध अदालत गएका हौं । मिलेमतोमा पदीय मर्यादा बिर्सिएर काम गर्नेलाई संविधान छ, संवैधानिक सर्वोच्च छ भनेर सम्झाउने काम मात्र गरेको हो ।’
सत्तारुढ कांग्रेस सांसद रिजालले, अदालतले प्रधानमन्त्री नियुक्त गरेको ज्ञवालीको तर्कको पनि खण्डन गरे । ‘अदालतले पुष्पकमल दाहाललाई त्यहाँ उभिन लगाएको होइन । माधव नेपाललाई विवेकको मत हाल्न लगाएको होइन,’ सम्बोधनका क्रममा उनले भने, ‘तपाईंले लगाएको हो । अहंकारले लगाएको हो ।’
संसद पुनस्र्थापना गर्ने र १४९ सांसदको समर्थन जुटाएका देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्चको फैसलाले अहंकार देखाउने प्रवृत्ति परास्त भएको तथा लोकतन्त्र र संविधानवादको जित भएको कांग्रेस सांसद रिजालले बताए ।




















प्रतिक्रिया