काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३९औँ स्मृति दिवस बुधबार विशेष कार्यक्रम गरी मनाइएको छ ।
स्मृति दिवसको अवसरमा सुन्दरीजलस्थित बीपी संग्रहालयमा विशेष कार्यक्रम गरी बीपी कोइरालाको सालिकमा माल्यार्पण गरिएको छ । सो अवसरमा नेताहरुले कोइरालाको राजनीतिक, साहित्यक एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरेका थिए ।
त्यसैगरी, सुशील कोइराला मेमोरियल फाउन्डेसनले बीपी स्मृति दिवसकै अवसरमा बुधबार गरेको वेभिनारमा प्रा. डा. जयराज आचार्यले कोइरालाको व्यक्तित्वको चर्चा गर्दै तत्कालीन समयमा अलइन्डिया रेडियोले उनको निधनबारे प्रसारण गरेको समाचार जस्ताको त्यस्तै वाचन गरेर सुनाएका थिए । आचार्य तत्कालीन समयमा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक थिए ।
बीपी कोइराला नेपाली राजनीतिका सर्वाधिक सम्मानित नेता हुन् । नेपाली कांग्रेस पार्टीको स्थापना गरी राणाशासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका उनी वि.सं. २०१५ को आम निर्वाचनपछि पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
जीवनभर प्रजातन्त्र र मानवअधिकारका लागि कसैसँग कुनै प्रकारको सम्झौता नगरेका कोइरालालाई दूरदर्शी राजनेताका रुपमा स्मरण गरिन्छ । ३२ वर्षको उमेरमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी राणाविरुद्व क्रान्तिको सूत्रपात गरेका बीपी वि.सं. २००७ सालको क्रान्तिका शीर्ष नेता थिए । उक्त क्रान्तिले १०४ वर्षे राणाशासनको अन्त्य भएको थियो ।
क्रान्तिपछि संविधानसभा निर्वाचनमार्फत प्राप्त उपलब्धिको रक्षा गर्ने मार्गचित्र बनेको थियो । तर, राजा कुनै हालतमा संविधानसभामा चुनाव गराउन तयार नभएपछि बीपीले संसद्को चुनाव स्वीकार गरेका थिए ।
२०१५ सालको आम चुनावमा नेपाली कांग्रेसलाई दुईतिहाइ बहुमत दिलाएर उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । बीपी नेतृत्वको सरकारले बिर्ता उन्मुलन, वनको राष्ट्रियकरण, क्रान्तिकारी भूमिसुधार, वैज्ञानिक कर प्रणाली लागु गरेको थियो । उनको पालामा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका काम भए । तर, जननिर्वाचित सरकारले १८ वर्ष काम गर्न पाउँदा नपाउँदै २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार र संसद् भंग गरेपछि बीपीले आठ वर्ष सुन्दरीजल जेलमा बिताउनुपर्यो । रिहा भएपछि मुलुकभित्र बसेर सशक्त आन्दोलन गर्ने वातावरण नदेखेर उनी भारत प्रवास गए र त्यहीँबाट पञ्चायतविरुद्ध सशस्त्र क्रान्ति चलाए ।
आठ वर्ष भारत प्रवासमा बिताएपछि मुलुकको राष्ट्रियता र सार्वभौमिकता खतरामा पर्ने संकेत ठानेर बीपी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीतिसहित स्वदेश फर्किए । प्रजातन्त्रको लागि लडे पनि उनले राष्ट्रियताको सवालमा आफ्नो र राजाको ‘घाँटी जोडिएको’ अभिव्यक्ति दिए ।
त्यसको केही वर्षमै मुलुकमा जनमतसंग्रह घोषणा भयो । पञ्चहरुले धाँधली गरी बहुदल हराएको भन्दै परिणाम स्वीकार नगर्न पार्टीभित्र तीव्र दबाब परे पनि उनले परिणाम स्वीकार गरे । मुलुकको सार्वभौमिकताका सामु प्रजातन्त्र गौण हुन्छ भन्ने कुरालाई व्यवहारमै उतार्नु बीपीको चानचुने निर्णय थिएन । बीपीको निधन भएको चार दशक पुग्नै लाग्दा उनले प्रतिपादन गरेको मेलमिलापको नीति सान्दर्भीक भएको छ ।
प्रतिक्रिया