मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एउटा युगको अन्त्य

एउटा युगको अन्त्य


पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट बल र ब्याट थन्काउने निर्णय गरेका छन्। मंगलबार बिहान पारसले आफ्नो १९ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करिअरलाई अन्त्य गर्ने निर्णय गरेका हुन्।

नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउने श्रेय पारसलाई जान्छ। ३३ वर्षीय पारसको कप्तानीमा नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ देखि एकदिवसीय टिमसम्मको सफलता प्राप्त गर्‍यो। उनको नेतृत्वमा नेपालले सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो।

प्रष्ट वक्ता पारसले क्रिकेटरको हितका लागि सधैं बोलिरहे। क्रिकेटका विसंगतिविरूद्ध बोल्न कहिल्यै डराएनन्। खेलकुद क्षेत्रका सेलिब्रेटी पारसले मैदानमा आक्रमक शैलीमा ब्याटिङ गर्दै समर्थकको मन जिते।

अहिले राष्ट्रिय टिममा परेका कतिपय युवा खेलाडी पारसको खेल हेरेर हुर्किएका थिए। उनको खेलेर हेरर क्रिकेटप्रति आकर्षित भएका थिए।

नेपालमा क्रिकेटको माहोल बनाउने र अन्तर्राष्ट्रिय स्तरमा उच्च छवि बनाउन पारसको नेतृत्वमा रहेको नेपाली टिमको योगदान छ।

दशकअघि उमेर समूहमा तहल्का मच्चाएको नेपाल अहिले सिनियर स्तरमा पनि बलियो टिमलाई चुनौती दिन सक्ने हौसियत छ। त्यसैले पारस नेतृत्वको नेपाली राष्ट्रिय टिम नेपाल क्रिकेटको एउटा युग हो।

अलराउन्डर पारसले पछिल्लो पटक २०७६ फागुनमा नेपाली टिमबाट खेलेका थिए। थाइल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगितामा उनले घरेलु टिमविरूद्ध ९ रन जोडेका थिए।

गत वैशाखमा कीर्तिपुमा भएको मलेसिया र नेदरल्यान्ड्सविरुद्धको त्रिकोणात्मक सिरिज उनले चोटका कारण गुमाएका थिए।

सन् २००२ मा युएईमा भएको यू-१५ एसिया कपबाट पारसले नेपाली टिममा आफ्नो करिअर सुरू गरेका थिए। उनले सन् २००३ मा यू-१९ एसिया कप खेल्दै नेपालको युवा टिममा डेब्यू गरेको थिए। सन् २०१४ मा यू-१९ विश्वकप खेलेका पारसले सोही वर्ष सिनियर टिममा पनि डेब्यू गरेका थिए।

पारसले २००४, २००६ र २००८ गरी लगातार तीन यू-१९ विश्वकप खेलेका थिए।

सन् २००४ मा इन्टरकन्टिनेन्टल खेलमार्फत् नेपालको राष्ट्रिय टोलीमा पारसले डेब्यू गरेका थिए। मलेसियाविरुद्धको खेलमार्फत डेब्यू गर्दा पारसले पहिलो इनिङमा ४४ रन  र १ विकेट लिएका थिए। नेपालले ९ विकेटले जितेको खेलमा उनले दोस्रो इनिङमा ब्याटिङ र बलिङ गरेनन्।

पारसले सन् २००९ को एसीसी टी-२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका थिए। उनले तत्कालिक कप्तान विनोद दासको स्थानमा कप्तानी गर्ने अवसर पाएका थिए।

२२ वर्षको उमेरमा कप्तानको जिम्मेवारी पाएका पारस नेपाली क्रिकेटका सफल कप्तान बन्न सफल भए। उनको नेतृत्वमा नेपालले डिभिजन-५ देखि एकदिवसीय टिम र टी-२० टिमको मान्यता पायो।

१० वर्ष राष्ट्रिय टिमको कप्तानी गरेपछि उनले २०७६ असोजमा कप्तानीबाट राजीनामा दिएका थिए।

राष्ट्रिय टिमबाट खेल्दा दर्जनौं कीर्तिमान बनाएका पारसको नाममा नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय शतक हान्ने कीर्तिमान छ।

नेपालले अहिलेसम्म प्रहार गरेका १३ अन्तर्राष्ट्रिय शतकमध्ये पारसले पाँच शतक प्रहार गरेका छन्। पारसको नाममा नेपालका लागि पहिलो एकदिवसीय र पहिलो टी-२० शतक हान्ने कीर्तिमान छ।

नेपालका लागि एकै इनिङमा सर्वाधिक रन प्रहार गर्ने कीर्तिमान पनि पारस खड्का र सुवास खकुरेलको नाममा छ। दुबैले एकै इनिङमा ११५ रन बनाएका थिए।

पारसले पहिलो शतक सन् २०१२ मा कुवेतविरूद्ध प्रहार गरेका थिए। उनले एसिसी ट्रफी एलाइटमा कुवेतविरूद्ध नटआउट १०६ रन प्रहार गरेका थिए।

त्यसपछि उनले नामिबियाविरूद्ध १०३ रन (आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१६),  युएईविरूद्ध नटआउट ११२ रन (आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू २०१८),  युएईविरूद्ध नै ११५ रन (नेपाल र युएईबीचको एकदिवसीय सिरिज २०१९) र सिंगापुरविरूद्ध नटआउट १०६ रन (सिंगापुर ट्राई नेशन टी-२० सिरिज २०१९) प्रहार गरे।

पारसको कप्तानीमा नेपालले सन् २०१० मा घरेलु मैदानमा डिभिजन-५ को उपाधि जितेको थियो। उनकै कप्तानीमा नेपालले डिभिजन-४ र डिभिजन-३ को उपाधि विदेशी भूमिमा जितेको थियो।

यस्तै नेपालले पहिलो क्रिकेट सिरिज जित्ने कीर्तिमान पनि पारसकै कप्तानीमा बनाएको थियो। नेपालले सन् २०१९ मा पहिलो पटक टी-२० र एकदिवसीय सिरिज जितेको थियो। घरेलु टिम युएईविरूद्धको तीन खेलको दुबै सिरिज नेपालले २-१ ले जितेको थियो।

तीन वर्षअघि आजकै दिन नेपालले एकदिवसीय खेलमा पहिलो जित हात पारेको थियो। आम्स्टर्डममा २०१८ अगस्ट ३ मा भएको खेलमा नेपालले नेदरल्यान्ड्समाथि १ रनको रोमाञ्चक जित हात पारेको थियो।

सो खेलमा पारसले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दा नेपालले ऐतिहासिक जित हात पारेको थियो।

पारस नेपालका लागि उनले १० एकदिवसीय खेलमा १ शतकसहित ३१५ रन र ९ विकेट, ३३ टी-२० खेलमा १ शतकसहित ७९९ रन र ८ विकेट, ४४ लिस्ट ए खेल्दै ३ शतकसहित १४ सय ९७ रन र २६ विकेट लिन सफल भए।

नेपाली क्रिकेट समर्थकले अब उनले लगाउन ७७ नम्बरको जर्सी सधैं ‘मिस’ गर्नेछन्। उनले लगाउने ७७ नम्बरको जर्सीको पछाडि धेरै कारण छन्।

नेपाली क्यालेन्डरअनुसार पारसको जन्म महिना कात्तिक (सातौं) महिनामा पर्छ। पारस कात्तिकको ७ गते जन्मिएका हुन्।

पारसले ७७ नम्बरको जर्सी लगाउनुको पहिलो कारण सातौं महिनाको सात गते जन्मदिन परेकाले हो।

त्यसो त पारस ७ नम्बरलाई आफ्नो ‘लक्की नम्बर’ पनि मान्छन्। किनकी उनी नेपाली राष्ट्रिय टिमका सातौं कप्तान हुन्।

उत्तम कर्माचार्य, लेखबहादुर केसी, पवन अग्रवाल, राजु खड्का, परेश लोहनी र विनोद दासपछि नेपालको सातौं कप्तानका रूपमा पारसले जिम्मेवारी पाएका थिए।

पारसले पहिलो अन्तर्राष्ट्रिय शतक ७७ बलमा प्रहार गरेका थिए। उनले सन् २०१२ को एसिसी ट्रफीमा कुवेतविरूद्ध ७७ बलमा नटआउट १०६ रन प्रहार गरेका थिए।

पारस खड्काले राष्ट्रिय टिमबाट संन्यास लिएसँगै अब उनको पुस्ताका ज्ञानेन्द्र मल्लसँगै शरद भेषावकर र बसन्त रेग्मीले राष्ट्रिय टिमबाट खेलिरहेका छन्।

कप्तान ज्ञानेन्द्रबाहेक शरद र बसन्तले राष्ट्रिय टिममा स्थान पाउन संघर्ष गरिरहनु परेको छ। त्यसैले अहिले नेपाली राष्ट्रिय टिम पुस्तान्तरण हुने क्रममा छ।