मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइँदै : भिडियो प्रतियोगिता आयोजना

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइँदै : भिडियो प्रतियोगिता आयोजना


काठमाडौं । राष्ट्रिय युवा परिषद्ले अन्तरराष्ट्रिय युवा दिवस साताव्यापी रूपमा मनाउने भएको छ ।

‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसलाई सफल पार्न युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह समिति र परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुंगेलको अध्यक्षतामा सचिवालय समारोह गठन गरिएको छ ।

परिषद्ले युवाको नेतृत्व विकासका लागि दिवसका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । दिवस यही साउन २८ गते मनाइँदै छ । कोरोनाभाइरसका कारण यसपटक पनि भर्चुअल रूपमा दिवस मनाउन लागिएको छ ।

भिडियो प्रतियोगिता
परिषद्को आयोजनामा वातावरणले खाद्यमा पारेको प्रभावबारे भिडियो प्रतियोगिता आयोजना गरिएको छ । ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने नारामा आधारित भएर नवीनता र मौलिकता झल्किने छोटो भिडियो प्रतियोगिताको आयोजना गरिएको हो ।

भिडियो तीन मिनेटको हुनुपर्ने र कुनै समुदायको सामाजिक र अरु कुनै आस्थामा चोट पुर्‍याउने खालको हुनु नहुने परिषद्का सदस्य गोविन्द गिरीले जानकारी दिए ।

भिडियो प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजार र सबैभन्दा बढी हेरिने भिडियोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । भिडियो यही साउन २५ गतेभित्र [email protected] मा पठाउनुपर्नेछ ।

यस्तै, वतृत्वकला प्रतियोगिता, विभिन्न अन्तरक्रिया कार्यक्रमलगायत पनि गरिने जनाइएको छ ।