काठमाडौं । नेकपा एमालेका सांसद विशाल भट्टराईले आफ्ना नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मेन्टल्ली डिसअर्डर’ भनी माओवादी केन्द्रका सांसद मातृका यादवले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा सांसद यादवले ओली ‘मेन्टल्ली र फिजिकल्ली ठिक नभएको’ अभिव्यक्ति दिएपछि भट्टराईले नियमापत्ति जनाएका हुन् । उनले ‘मेन्टल्ली डिसअर्डर’ भन्ने अधिकार कसले दियो भनी प्रश्न गरे ।
उनले मर्यादित र सम्मानित सदनमा अमर्यादित र संसद्लाई नसुहाउने अभिव्यक्तिहरू आफूहरूका लागि गम्भीर आपत्तीजनक भएको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए ।
“मेन्टल्ली डिसअर्डर भएकोजस्ता अभिव्यक्तिहरू पटकपटक दोहोर्याएर भन्नुभयो । म प्रश्न गर्न चाहन्छु । त्यो भन्ने अधिकार उहाँलाई कहाँबाट छ ? उहाँसँग के प्रमाण छ ? के तथ्यका आधारमा उहाँले यो भन्दैै हुनुहुन्छ ? यो महत्वपुर्ण निकायमा अमर्यादित खालका र संसद्लाई नसुहाउने अभिव्यक्तिहरू हाम्रा लागि गम्भीर आपत्तीजनक छ । र, यो रेकर्डबाट हटाईयोस् । अन्यथा नेकपा एमाले यो कुरालाई कुनै हालतमा पनि सहँदैन भन्ने कुरा सभामुखमार्फत् जानकारी गराउन चाहन्छु,” उनले भने ।
यसअघि बोल्दै नेकपा माओवादी केन्द्रका सांसद यादवले पूर्व प्रधानमन्त्री ओली मानसिक तथा शारीरिक रूपमा ठिक नभएको बताएका थिए । आफूखुसी काम गर्न रोक लगाएपछि वर्तमान सरकारलाई परमादेशको सरकार भनी टिप्पणी गरेको भन्दै सांसद यादवले आपत्ति जनाए ।
“मैले एउटै पार्टी हुँदा स्थायी समितिको बैठकमा नै भनेको थिएँ । कमरेडहरू उहाँ मेन्टल्ली पनि ठिक हुनुहुन्न । फिजिकल्ली पनि ठिक हुनुहुन्न । त्यसैले कुनै बेला पनि दुर्घटना हुनसक्छ । यो जिम्मेवारी किन बोकाउनुहुन्छ ? उहाँलाई अन्याय किन गर्नुहुन्छ ? म एमालेका माननीय मित्रहरूलाई के भन्न चाहन्छु भने जहाज उडाउने क्याप्टेनहरूको मेडिकल चेक हुन्छ । देशकै जहाज उडाउन दिएपछि दुर्घटना हुँदैन ? पार्टीकै जहाज उडाउन दियो भने दुर्घटना हुँदैन ?,” उनले भनेका थिए ।
यादवले परमादेशबाट संसद् ब्युँताएको अभिव्यक्ति दिने सबैलाई राजीनामा गर्न पनि भनेका थिए ।
उनले भनेका थिए, “यो हाउसमा हामी परमादेशबाट होइन जनादेशबाट आएका हौ । जनादेशकै आधारमा संविधान बनेको हो । संविधानले दिएको अधिकार उचित र अनुचित ढंगले प्रयोग गर्ने कुरामा विवाद भएको हो । म त संविधान ठिक छैन भनेर सडकमा कराइरहेको मान्छे हो । तर संविधान मान्ने मान्छेहरूले संविधानको प्रयोग गर्दा, आफ्नो खुसी प्रयोग गर्न खोज्दा रोक्दाखेरी सरकार परमादेशबाट आएको हो भन्ने पूर्व प्रधानमन्त्री माननीय केपी शर्मा ओली जीलाई म के आग्रह गर्न चाहन्छु भने यो हाउसमा नआई राजीनामा दिए हुन्छ । चुनाव लडेर आए भईगो नि त । परमादेशबाट आएको छ भन्ने जो जोलाई लागेको छ राजीनामा दिए हुन्छ । परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने ?” – बारह्खरी
प्रतिक्रिया