मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय टोलीको संघारमा बल नचाउँदै १५ वर्षीया कुसुम

राष्ट्रिय टोलीको संघारमा बल नचाउँदै १५ वर्षीया कुसुम


काठमाडौं- झापाको शनिश्चरेभन्दा केही माथि छ खुदुनाबारी। र, खुदुनाबारी बजारको छेउमै कुसुमको घर छ। बुबा होमनाथ खतिवडा ट्याक्टर चलाउँछन्। सोही आम्दानीले घर चल्छ। आमा चित्रमाया गृहिणी हुन्। खतिवडा दम्पतीका चौथो सन्तान कुसुमका दुई दिदी, एक दाइ र एक बहिनी छन्। 

घरबाट पाँच मिनेट मास्तिर सालको जंगल छ। जंगलमा एउटा खेलमैदान छ। त्यही मैदान कुमुमको अभ्यासस्थल हो। ‘खासमा त्यो जंगलबीचको खाली ठाउँ हो। मैदानचाहिँ हामीले खेलेर बनाएका हौं। त्यस्तै सेभेन ए साइड भन्न मिल्ला,’ १५ वर्षीया कुसुम सुनाउँछिन्, ‘प्रायः खेल्न जाने २–३ जना हुन्छौं। कहिलेकाहीं १० जनासम्म मिलेर खेल्छौं।’

‘जान्नेबाट सिक्ने, नजान्नेलाई सिकाउने’ अभ्यास मैदानको सामान्य संस्कृति हो। कुसुमको मैदानमा पनि त्यही नियम लागू छ। उनको फुटबल विकासमा त्यही मैदानको भूमिका महत्त्वपूर्ण छ।

सानै उमेरदेखि सो खेलमैदानमा जान्थिन् कुसुम। दाइहरु फुटबल खेल्थे। उनीहरूले खेलेको देखेर उनी पनि बिस्तारै फुटबलमा रमाउन थालिन्। 

अचेल त कहिलेकाहीं टिकटक बनाउन पनि खेलमैदान पुग्छिन् उनी। फुटबल कौशलसहितका आफ्नो धेरै भिडियोलाई टिकटकमा अपलोड गरेकी छन् उनले। ती भिडियोमा हजारौं लाइक पाएकी छन्।

खेल्दाखेल्दै कहिले बुट च्यातिन्छ। उनी भन्छिन्, ‘मलाई किताब वा कपी चाहियो भन्न जति सजिलो छ, तर बुट चाहियो भन्न सहज छैन।’ तर छोरी कुसुमले फुटबल खेलेकोमा बाआमालाई कुनै चित्त दुःखाइ छैन। ‘मैले फुटबल खेलेकोमा बाआमा पनि खुसी हुनुहुन्छ’, उनी भन्छिन्।

खेल्दै गर्दा बुट च्यातिन्छ, भन्नेबित्तिकै अर्को ल्याउन पनि सकिँदैन। त्यस्तो बेला नरमाइलो लाग्छ उनलाई। 

खुदुनाबारी चोकस्थित जनता माविको मैदान उनको अर्को प्यारो ठाउँ हो। त्यहाँ उनका केटी साथीहरु पनि हुन्छन्। घरमा बस्दा उनले अभ्यास गर्ने त्यही दुई मैदान हुन्।

 ‘कहिले ती प्रतियोगिताका लागि त कहिले वडास्तरीय खेल खेलाएर हामीले खेलाडी तयार गर्ने क्रममा कुमुसले राम्रो कौशल देखाएकी थिइन्,’ खवासले भने, ‘उनले चाँडै पिक–अप लिइन्।’

सोही मैदानमा खेलाडीलाई अभ्यास गराउँथे जनता माविका खेल प्रशिक्षक यम खवास। ‘कुसुमको खेल पहिलदेखि छरितो र छिटो थियो,’ प्रशिक्षक खवासले पुराना दिन सम्झिए, ‘उसको पावर अट्याक राम्रो छ।’ 

ग्रासरुट लेभलको खेलाडी उत्पादन गर्ने विगतको कोलाकोला कप हाल क्विक्स कपमा रुपान्तरण भएको छ। ‘कहिले ती प्रतियोगिताका लागि त कहिले वडास्तरीय खेल खेलाएर हामीले खेलाडी तयार गर्ने क्रममा कुमुसले राम्रो कौशल देखाएकी थिइन्,’ खवासले भने, ‘उनले चाँडै पिक–अप लिइन्।’

उनी अभ्यासमा लागिरहन रुचाउँछिन्। ‘बिरामी पर्दा पनि कहिले मैदान फर्किऊँजस्तो लागिरहन्छ,’ कुसुम भन्छिन्। उनलाई आफ्नो उमेर समूहको राष्ट्रिय टिममा पर्छु होला भन्ने आशा चाहिँ रहेछ। ‘आजसम्म उमेर समूहमा परकै थिइनँ। त्यसैले आस लाग्नु स्वाभाविकै हो,’ उनी सुनाउँछिन्।

तर उमेर समूहको खेल निश्चित थिएन। राष्ट्रिय टिमसम्मको प्रतीक्षा झन् लामो थियो। घर– मैदानमा सक्रिय रहेकै एक दिन उनलाई आश्चर्यचकित पार्ने समाचार आयो। त्यो खुसीको समाचार थियो– उनको नाम राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बोलाएका ४५ जना खेलाडीको सूचीमा परेछ। 

पहिला त उनलाई पत्यारै लागेन। ‘अर्को कुसुम खतिवडा को छ हँ?’ उनले साथी सर्कलमा सोधिन्। उनलाई अहिल्यै सिनियर टिममा पर्छु भन्ने आशा थिएन। आफ्नो उमेर समूहको राष्ट्रिय टिममा नपरीकन एकैचोटि सिनियर टिममा पर्छु होला भन्ने सोच्दैनसोचेको उनी बताउँछिन्। 

‘लिग खेल्ने त्यत्रा खेलाडी थिए। म पनि पर्छु होला भन्ने त आशै थिएन। सबै सिनियर र राम्रो खेल्नेहरू हुनुहुन्थ्यो। हामीले त मौका नै पाइँदैन होला भन्ने लागेको थियो,’ कुसुम भन्छिन्। सूचीमा भएको कुसुम खतिवडा आफैं भएको पक्का भएपछि उनी ढुक्क भइन्। 

फुटबलमा लाग्ने प्रेरणा

कहाँबाट आयो उनलाई फुटबल खेल्ने प्ररेणा? कुसुमलाई यो प्रश्नले कहिलेकाहीं सोच्नमग्न बनाउँछ। तर उनी आफ्नो अनुभव शिलो–सँगालो गरेर त्यसलाई प्रेरणाका रुपमा लिन्छिन्।

खुदुनाबारीमा भाइसाथी भेला हुन्थे। भेला भएपछि बलको जोहो हुन्थ्यो। ‘हामीले त त्यतिबेला फुटेको बल पनि खेलियो नि गाउँतिर। दाइ पनि गोल खेल्थ्यो। दाइहरूले खेलेको देखेर मलाई खेलौं–खेलौं लाग्थ्यो,’ कुसुम भन्छिन्।

खुदुनाबारीमा भाइसाथी भेला हुन्थे। भेला भएपछि बलको जोहो हुन्थ्यो। ‘हामीले त त्यतिबेला फुटेको बल पनि खेलियो नि गाउँतिर। दाइ पनि गोल खेल्थ्यो। दाइहरूले खेलेको देखेर मलाई खेलौं–खेलौं लाग्थ्यो,’ कुसुम भन्छिन्।फुटेकै बलमा कुसुम बलमा होमिन्थिन्। रमाइलोकै लागि भए पनि कुसुमले बललाई साथी बनाइन्। खेल्दाखेल्दै गाउँमा फुटबल सिकाउने माहोल बन्यो। ‘यम खवास मेरो पहिलो फुटबल गुरु हुनुहुन्छ। उहाँले बोलाएर सिकाउनुभयो,’ उनी भन्छिन्, ‘उहाँबाट सिक्दै राष्ट्रिय टिमसम्म आइपुगें।’

फुटबललाई पढाइसँगै अघि लाने प्रेरणा १२/१३ वर्षदेखि नै आएको हो उनलाई। उनी भन्छिन्, ‘घरमा पनि सपोर्ट गर्नुहुन्छ र त खेल्न पाएकी छु।’

उनको सपना छ नेपाली फुटबल स्टार सरु लिम्बूजस्तै बनूँ। ‘मेरो फुटबल आइडल सुरु लिम्बू हो। पुरुष खेलाडीमा चाहिँ अभिषेक रिजाल,’ उनी भन्छिन्। सरु लिम्बू पछिल्लो महिला लिगमा सर्वोत्कृष्ट खेलाडी थिइन् भने मच्छिन्द्रका स्ट्राइकर अभिषेक भारत र श्रीलंकामा लिग खेल्दै आइरहेका छन्।

लिम्बू मिडफिल्डर हुन् भने रिजाल फरवार्ड। अभिषेकजस्तै उनलाई पनि फरवार्डमा जम्न मन छ। ‘मेरो पोजिसन फरवार्ड हो, त्यही पोजिसनमा रमाउँछु। कहिलेकाहीं विंगर खेल्न पनि रमाइलो लाग्छ। म त्यहीं राम्रो गर्न सक्छु जस्तो लाग्छ,’ कुसुम भन्छिन्।

बन्द प्रशिक्षणको अनुभव

अहिले उनी सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रिय टिमका खेलाडीसँग अभ्यास गरिरहेकी छन्। सुरुमा राष्ट्रिय टिममा सिनियर खेलाडीको छायामा परिने हो कि भन्ने लागेको थियो उनलाई। ‘सबै सिनियर खेलाडी हुन्छन् । आफू छायामा परिएला कि भन्ने लागेको थियो,’ कुमुमले भनिन्।

अन्य खेलाडी ठूलो पल्टिएलान्, हामी जुनियरलाई हेप्लान् भन्ने उनलाई डर थियो। ‘तर त्यस्तो केही भएन। सिनियरले हामीलाई धेरै सहयोग गर्नुभयो,’ उनी बन्द प्रशिक्षणको अनुभव सुनाउँछिन्। सिनियरको सहयोगले उनलाई थप हौसला मिलेको छ।

‘सिनियर खेलाडीबाट धेरै सिकेकी छु। गल्ती हुँदा पनि सुधार्ने अवसर पाएकी छु। सोचेभन्दा धेरै सहयोग पाएँ,’ उनी भन्छिन्।

सम्भावना बोकेकी कुसुम 

कुसुमको प्रदर्शन राम्रो रहेको र खेल सुधार भइरहेको प्रशिक्षक बताउँछन्। उनको प्रदर्शन सकारात्मक र निकै फास्ट रहेको राष्ट्रिय महिला टिमकी सहायक प्रशिक्षक भगवती थापाको मूल्यांकन छ। उनी भन्छिन्, ‘टिममा युवा खेलाडी पनि चाहिने भएर उनलाई बोलाएका हौं। लगातार खेलिरहने हो भने केही समयमै कुसुमलाई सावित्रा भण्डारी र अनिता केसीसँग मैदानमा उतार्न सकिन्छ।’

कुसुमले धेरै गर्न सक्ने अवस्था रहेको थापा बताउँछिन् । ‘उमेर पनि छ। मेहनत गर्ने समय पनि छ,’ थापा भन्छिन्, ‘कुसुम र अमिसा कार्की अहिलेका सम्भावनायुक्त युवा खेलाडी हुन्। यिनीहरूबाट सिनियर खेलाडी जत्तिकै आशा छ।’

‘अहिल्यै यहाँसम्म आइपुग्छु होला भनेर सोचेको थिइनँ,’ कुसुम भन्छिन्, ‘यो मेरा लागि ठूलो अवसर हो। राष्ट्रिय टिममा पुग्ने सपना पूरा भएको छ।’

कुसुमलाई सशस्त्र प्रहरीको एपीएफ क्लबमा सिफारिस गरिए पनि उमेरका कारण क्लबमा आबद्ध भएकी छैनन्। सानै उमेरमै ठूलो उपलब्धि हासिल गरेको लाग्छ उनलाई। एपीएफमा अनुबन्ध हुन पनि केही समय माग गरेकी छन् उनले।

‘अहिल्यै यहाँसम्म आइपुग्छु होला भनेर सोचेको थिइनँ,’ कुसुम भन्छिन्, ‘यो मेरा लागि ठूलो अवसर हो। राष्ट्रिय टिममा पुग्ने सपना पूरा भएको छ।’

जीवनभर फुटबलमै लाग्ने उनको योजना छ। अब कसरी अघि बढ्ने त? उनी भन्छिन्, ‘फुटबललाई नै जीवनमा अगाडि लाने सोचेकी छु। अझै हार्डवर्क गर्छु। अझै संघर्ष गर्छु। आउँदा दिनमा योभन्दा राम्रो गेम बनाउँछु। जसले मलाई राष्ट्रिय टिमको प्लेइङ सेटमा पु¥याउला। र, त्यहाँबाट गोल गरौंला।’

राष्ट्रियस्तरमा स्थापित गराउने त्यो प्रतियोगिता

२०७७ माघमा काठमाडौंमा भएको राष्ट्रिय महिला लिग फुटबलमा विराटनगरको खुब चर्चा भयो। उमेर समूहजस्तो देखिने विराटनगरका खेलाडीले बलिया टिमका उत्कृष्ट खेलाडीलाई रोक्दा विराटनगरको सान चुलिएको थियो। त्यही टोलीकी सदस्य थिइन् कुसुम।

खेलमा विराटनगरसँगै कुसुम नेपाली फुटबल समर्थकमाझ चिनिइन्। प्रतियोगिताले उनलाई राष्ट्रिय स्तरमा स्थापित पनि गरायो। जिल्ला र प्रदेश छनोट हुँदै राष्ट्रिय प्रतियोगिता खेल्न काठमाडौं आइपुगेकी कुसुमले त्यसअघि काठमाडौंमै ‘क्विक्स कप’ खेलिसकेकी थिइन्। 

आफ्नो खेलबारे उनले गरेको मूल्यांकन पनि रोचक छ। ‘लिगमा असाध्यै राम्रो खेले जस्तो पनि लाग्दैन तर साह्रै झूर पनि खेलको थिइनँ,’ उनी सम्झिन्छिन्। यसमा प्रशिक्षकको हौसलाले ठूलो भूमिका खेलेको उनी बताउँछन्।

कुसुम भन्छिन्, ‘पारस गुरुले लिगमा धेरै सहयोग गर्नुभयो। आर्मी, एपीएफजस्ता क्लबसँग प्रतिस्पर्धा गर्दा नआत्तीइकन खेल्न उत्साहित गर्नुभयो। उमेरमा होइन खेलमा फोकस हुन हौसला दिनुभयो। गल्ती गरे पनि सुधार्ने अवसर छ भनेर प्रेरणा दिइरहनुभयो।’

विराटनगर महानगरपालिकाका प्रशिक्षक पारस चौधरीले तुलनात्मक रुपमा कमजोर टिम विराटनगरलाई रणनीतिक हिसाबले सबल बनाएका थिए। चौधरीको टिममा कुसुम स्ट्राइकरको भूमिकामा थिइन्।

कुसुम लिगकै कान्छी खेलाडी थिइन्। यद्यपि उनको स्पिड, ड्रिबलिङ र ट्रिकले धेरैको ध्यान खिचेको थियो। उनले धनकुटामा भएको पहिलो चरणको छनोट र चपुरमा भएको छनोटमा पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

खेल देखेर नै प्रशिक्षक चौधरीले उनलाई विराटनगरको टिममा बोलाएका थिए। महिला लिगका लागि चपुरमा खेलेका खेलाडीमध्ये प्रशिक्षक चौधरीले विराटनगरका सात खेलाडीलाई खेलाउँदा कुसुम पनि टोलीमा परिन्।

समयसीमाका कारण लिगका लागि विराटनगरले १२ दिन मात्र अभ्यास गर्न पाएको थियो। त्यही १२ दिनमा गरेको अभ्यासका आधारमा काठमाडौंमा खेल खेलेर टोली घर फर्किएको थियो। – नेपालसमय