मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा करोडौँका सरकारी भवन बाँझिदै

डोटीमा करोडौँका सरकारी भवन बाँझिदै


धनगढीः सुदूरपश्चिम प्रदेशको साविकको क्षेत्रीय सदरमुकाम डोटीमा करोडौं लगानीमा सेती सभाहलको निर्माण कार्य सम्पन्न भएको छ। संघीय सरकारको लगानीमा हालै निर्माण सम्पन्न भएको सभा प्रयोगविहीन हुने चिन्ता उत्पन्न भएको छ। सुदूरपश्चिम सरकारले प्रदेशको राजधानी कैलाली तोकेसँगै साविकको क्षेत्रीय सदरमुुकाम डोटीमा निर्माण भएका संरचनाहरु प्राय प्रयोगविहीन छन्।

कारोडौं लगानीमा निर्माण भएको उच्चस्तरीय सभाहल नियमित रुपमा प्रयोगमा ल्याउनका लागि प्रदेश सरकारले तदारुपता देखाउनुपर्ने डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताए। ‘आधिकांस कार्यालयहरु त यताबाट सरि सके,’ उनले भने, ‘भएका संरचनाहरुलाई प्रयोगमा ल्याउनका लागि प्रदेश स्तरीय विभाग तथा सेवा कार्यालयहरु डोटीमा राख्नु पर्छ।’

हालै निर्माण सम्पन्न भएको सभाहलसँगै विगतमा करोडौं खर्च गरेर निर्माण भएका भौतिक संरचना पूर्ण रुपमा प्रयोगमा ल्याउन सकिएको छैन। साविकको क्षेत्रीय प्रशासकको कार्यालयसँगै, स्वास्थ्य निर्देशनालय, शिक्षा निर्देशनालय, कृषि लगायत अन्य कार्यालयका भवनहरु पूर्ण रुपमा प्रयोगमा छैनन्। सुदूरपश्चिम प्रदेश सरकारले निर्देशनालयहरु डोटीमा राखेको भएपनि उक्त कार्यालयहरु कार्यालय सहयोग भरमा सञ्चालन छन् भने धनगढीमा भाडाका घरमा कार्यालय चलाइएको छ। 

हालै निर्माण भएका संरचना तथा विगतमा निर्माण भएका संरचनाहरुमा प्रदेश सरकारले विभिन्न विभाग तथा सेवा कार्यालयहरु सञ्चालन गर्नुपर्ने डोटीका व्यवसायी केपी साउदले बताए। ‘डोटीका संरचनाको विषयमा प्रदेश सरकारले केही गर्नु पर्छ,’ उनले भने, ‘कारोडौंका संरचना खाली राख्नु त भएन।’ 

सुदूरपश्चिम प्रदेश सरकारले डोटीका संरचन पूर्ण रुपमा प्रयोगमा रहेको दाबी गरेपनि कार्यालय प्रमुखहरु भने डोटी बस्न मान्दैनन्। अधिकांश कार्यालय प्रमुखहरुले धनगढीमा सम्पर्क कार्यालय खोलेर बसेका छन्। डोटीमा रहेका क्षेत्रिय कार्यालयहरु कैलाली–कञ्चनपुर सर्ने क्रम अहिले पनि जारी छ। ‘डोटीका संरचना खाली छैनन्,’ सुदूरपश्चिम प्रदेशकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्ण जोशीले भनिन्, ‘जहाँसम्म कर्मचारी बस्दैनन् भन्ने छ, त्यसमा हामी कडाई गर्छौं।’ – dineshkhabar