पोखरा । “काबुलको आकाशमा हामीले अहिले हेलिकप्टर मात्रै देखिरहेका छौँ । एउटा सानो बेसमेन्टभित्र हामी सुरक्षित छौँ । त्यही सानो बेसमेन्टको आकाशमाथि मात्रै हामीले अहिले पनि ८/१० वटा हेलिकप्टर घुमिरहेका छन् । यता ग्राउन्डमा चाहिँ गोलीबारी भइरहेको छ । आकाशदेखि जमिन दुवै युद्धमय देखिएका छन् । हामीले गोली र हेलिकप्टरको आवाज मात्र सुनिरहेका छौँ ।”
रामेछापको उमाकुण्ड गाउँपालिकाका डिल्ली खड्का बाह्रखरीको सम्पर्कमा आउँदा उनको आवाजसँगै गोली र हेलिकप्टरको आवाज पनि सँगै आएको थियो । उक्त आवाजले तालिवानले अफगानिस्तान कब्जा गरेपछिको अवस्थालाई वर्णन गर्छ ।
एक दशकअघि अफगानिस्तानको राजधानी काबुल पुगेका उनी एक वेयरहाउसमा काम गर्छन् । इकोलुक कम्पनीमा कार्यरत उनको डिपार्टमा मात्रै ५० जना नेपाली छन् । खुसीको कुरा उनीहरू सबै सुरक्षित छन् ।
त्यहाँको अवस्थाबारे उनी भन्छन, “अहिले चाहिँ अफगानिस्तानको काबुलमा नेटो बेसमा छु । यहाँको स्थिति एकदमै नाजुक छ । हामीमाथि हेलिकप्टर उडिरहेका छन, युद्ध भइरहेको छ । तपाईं सुन्न पनि सक्नुहुन्छ । ८/१० वटा हेलिकप्टरमाथि आकाशमा देखिरहेको छु ।”
उनीसँगै कम्पनीको एउटै विभागमा कार्यरत ५० जना नेपाली सँगै छन् । खड्काका अनुसार चितवन, बागलुङ, कास्की लगायतका जिल्लाका नेपालीहरू एउटै विभागमा कार्यरत छन् ।
बाहिरको अवस्थाबारे अनभिज्ञ रहेका उनले बेसमा भएका चाहिँ सुरक्षित रहेको जानकारी दिए ।
गोरखाको आरुघाटका अविनाश गुरुङ पनि अहिले काबुलमा नै छन् । त्यहाँ उनीसँगै विभिन्न जिल्लाका दर्जनबढी नेपाली छन् । उनीहरू सोमबार साँझ कतार उड्ने प्रतीक्षामा छन् । अफगानी भूमिमा ओर्लिएको अमेरिकन र ब्रिटिस आर्मीलाई भरोसा गरेका उनीहरू आजै कतार उड्ने बताउँछन् ।
तर, नेटो बेसमेन्ट बाहिर रहेका नेपालीहरूको बारेमा उनको चिन्ता छ ।
“हामी गोरखा, चितवन, झापा, इलाम, सुनसरीका छौँ । हामीलाई आज बेलुका कतार लैजान्छ होला । आज समाचार सुनेअनुसार ३५ जना नेपालीलाई समात्यो रे । बाहिर भएकोलाई गाह्रो छ होला,” उनले भने ।
गुरुङसँग झापा, इलाम, सुनसरी, बागलुङ लगायत विभिन्न जिल्लाका नेपालीहरू एउटै बेसमेन्टमा छन ।
“हामी ग्रिन जोनमा छौँ । यहाँ अहिलेसम्म आक्रमण भएको छैन । हामी यहाँ भएका सबैजना काम गर्न थालेको ५ वर्षभन्दा माथि भइसक्यो,” उनले भने ।
आरुघाटकै हरि गुरुङ अफगानस्तानमा यो अवस्था अचानक आएको बताउँछन् । अमेरिकी सेना फिर्तीपछि यो अवस्था आउनसक्ने आँकलन गरेको तर यति छिट्टै आउला भन्ने कल्पना पनि नगरेको उनले बताए ।
“अचानक यस्तो स्थिति आयो । अलि समय लाग्दा भन्ने सोचेका थियौँ । हामीले कल्पना पनि गरेका थिएनौँ । हामीलाई नपठाइकिन आर्मी फर्किँदैन । अहिले ब्रिटिस र अमेरिकन आर्मीहरू आइरहेका छन्,” उनले भने ।
समाचार हेरेर नै बाहिरी अवस्थाबारे जानकारी लिने गरेको उनीहरूको भनाइ छ ।
गुरुङका अनुसार बेसमेन्टबाहिर अहिले क्वारेन्टाइनमा बसेका एकजना नेपाली पनि फसेका छन् । उनी विराटनगरका हुन् ।
उनका अनुसार ती नेपाली दुई हप्ता अघिमात्रै नेपालबाट अफगानिस्तान गएका थिए ।
“नेपालबाट आएर दुई हप्ता देखि क्वारेन्टाइनमा रहेका विराटनगरका एकजना दाइ हुनुहुन्छ । उहाँ बाहिर फस्नुभएको छ, भित्र ल्याउने कोसिस जारी छ । के हुन्छ भन्न सक्ने अवस्था पनि छैन । उहाँ हामीसँगै काम गर्नुहुन्थ्यो । भरसक आज राति ल्याउने प्लान छ, हेरौँ के हुन्छ,” उनले बाह्रखरीसँगको कुराकानीमा भने ।
आइतरबार विद्रोही समूह तालिबान अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै त्यहाँको सरकार ढलेको थियो । हाल विभिन्न देशले अफगानिस्तानमा रहेका आफ्ना नागरिककाे उद्धार गरिरहेका छन् । – बारह्खरी
प्रतिक्रिया