मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ अर्बमा बन्ने सेती लोकमार्ग : ७ वर्षमा २ अर्ब मात्रै विनियोजन

१५ अर्बमा बन्ने सेती लोकमार्ग : ७ वर्षमा २ अर्ब मात्रै विनियोजन


धनगढी : निर्माण सुरु भएको सात वर्ष वितिसक्दा पनि सेती लोकमार्गको एक सय ९२ किलोमिटर सडकमा ट्याक खोल्नै बाँकी रहेको छ। कुल तीन सय ५९ किलोमिटर लामो लोकमार्ग निर्माणको काम बजेट अभावका कारण अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको हो। सेती लोकमार्ग दक्षिणी खण्ड २ सय ४२ किलोमिटर सडक योजना कार्यालय साँफेबगरले हेर्दै आएको छ।

उक्त खण्डअन्तर्गत बौनियादेखि ठुलीगाडसम्म रुख कटानको आदेश नआउँदा तीन वर्ष निर्माणको काम अवरुद्ध भएको थियो। गत वर्ष मात्र रुख कटानको आदेश आएपछि निर्माणको काम अघि बढाइएको थियो। यो खण्डअन्तर्गत हाल चारवटा पुल र बौनियादेखि ठुलीगाडसम्म सडक निर्माणको काम भइरहेको योजना कार्यालयले जनाएको छ। 

कैलालीको भागमा ६ दशममलब ५ किलोमिटरभित्र कालोपत्रेको काम गरिएको छ। कालोपत्रे गरिएका अन्य राजमार्गका सडकखण्डसँग यो लोकमार्गको झण्डै २० दशमलब ५ किलोमिटर सडकखण्ड मिसिएको छ। चैनपुरदेखि कैलालीको टीकापुरसम्मको करिब २ सय ४२ किलोमिटर लामो सेती लोकमार्ग दक्षिणी खण्डमध्ये डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएको कतिपय ठाउँमा समेत ट्याक खोल्न बाँकी छ।

ठुलीगाड हुँदै सेरीगाड साँफेबगरसम्म एक अर्ब ५० करोडको बहुवर्षीय ठेक्का स्वीकृतका लागि आयोजना कार्यालयले मन्त्रालयमा फाइल पेश गरेको छ। यो खण्डअन्तर्गत ३० करोडको ठेक्का सम्झौता गरिएको भएपनि ७ करोड बरावरको काम भएर सम्झौता अवधि सकिएपछि थप निर्माणको काम अघि बढ्न सकेको छैन्। विज्ञापन

बजेट अभावकै कारण धेरै स्थानमा सडकको काम हुन नसकेको सेती लोकमार्ग दक्षिणी खण्ड टिकापुर–लोडे–चैनपुर सडक योजना कार्यालय साँफेबगरका योजना प्रमुख दमनकुमार विष्टले बताए। ‘प्रतिकिलोमिटर सडक निर्माण गर्न ५ करोड आवश्यक पर्छ। तर वनको अवरोध र बजेट अभावका कारण निर्माणले अपेक्षित गति लिन सकेको छैन,’ उनले भने। 

रुख कटानको आदेश आएपनि अझै धेरै स्थानमा सामुदायिक वनले अनुमति दिनै बाँकी रहेकाले समस्या भइरहेको योजना प्रमुख विष्टले बताए। त्यस्तै सेती लोकमार्ग उत्तरी खण्ड अन्तर्गतको ११७ किलोमिटर चैनपुर–ताक्लाकोट सडक योजना कार्यालयले हेर्दै आएको छ। ८५ करोड र २२ करोडको छुट्टाछुट्टै ठेक्का सम्झौता गरेर ४० किलोमिटरभित्र मात्र काम भइरहेको छ। ७७ किलोमिटरभित्र अहिलेसम्म कुनै काम हुन सकेको छैन।

बजेट र कर्मचारी अभावका कारण निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न नसकेको योजना कार्यालयको भनाई छ। एक सय १७ किलोमिटर सडक बनाउन ८ अर्व लागत अनुमान गरिएको भएपनि बजेट अभावका कारण ठोस रुपमा प्रगति हुन नसकेको चैनपुर ताक्लाकोट सडक योजना कार्यालय चैनपुरका योजना प्रमुख बलिराम मल्लले बताए। ‘चार वर्ष भयो यो खण्डअन्तर्गत नयाँ ठेक्का भएकै छैन,’ उनले भने, ‘नयाँ ट्रयाक खोल्न बोलपत्र आह्वानका लागि मन्त्रालयमा फाइल पठाएको भए पनि काम हुन सकेको छैन।’ बजेट र कर्मचारी अभावका कारण पनि लक्ष्यअनुसार काम हुन नसकेको योजना प्रमुख मल्लको भनाई छ।

सेती लोकमार्ग दक्षिणी खण्ड अन्तर्गत ११५ र सेती लोकमार्ग उत्तरी खण्ड अन्तर्गत ७७ किलोमिटर सडकमा अहिलेसम्म कुनै काम हुन सकेको छैन्। दुवै खण्डको निर्माण सम्पन्न गर्न १५ अर्ब बजेट आवश्यक पर्ने देखिएकोमा निर्माण सुरु भएको ७ वर्षमा दुई अर्ब मात्र बजेट विनियोजन भएपछि निर्माण कार्य अनिश्चित बन्न पुगेको हो। यसअघि दुई वटा ठेक्का सम्झौता गरेर निर्माण कार्य अघि बढाएको भएपनि काम पुरा नहुँदै सम्झौता अवधि सकिएको सेती लोकमार्ग दक्षिण खण्ड सडक योजना कार्यालय साँफेगरका योजना प्रमुख विष्टले बताए। ‘३० करोडमा निर्माण सम्झौता गरिएकोमा ७ करोड बराबरको काम भएको ठेकेदार कम्पनीले बताइरहेका बेला सम्झौता अवधि समेत अहिलेसम्म बढ्न नसकेका कारण निर्माण कार्य अनिश्चित जस्तै देखिएको छ,’ उनले थपे। 

सेती लोकमार्ग निर्माणको कामलाई तीव्रता दिन सेती लोकमार्ग दक्षिणी खण्ड र सेती लोकमार्ग उत्तरी खण्ड भनेर छुट्टाछुट्टै योजना कार्यालय स्थापना गरिएको भए पनि आवश्यकताअनुसार बजेट विनियोजन नहुँदा लोकमार्ग निर्माणको काम अनिश्चित बन्न पुगेको हो। आव २०६५÷०६६ मा निर्माण सुरु गरिएको यो लोकमार्ग नेपाल सरकारको प्राथमिकता प्राप्त सडक आयोजना हो। तर आर्थिक वर्ष २०७१÷७२ देखि बजेट नै विनियोजन गरेर काम सुरु गरिएको भएपनि सेती लोकमार्गको उत्तरी र दक्षिणी खण्डमा अझै १९२ किलोमिटरभित्र भने कुनै काम हुन सकेको छैन। – दिनेशखबर