मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रले प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज ताेक्याे

माओवादी केन्द्रले प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज ताेक्याे


काठमाण्डाै – नेकपा माओवादी केन्द्रले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो । 

त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको उनले बताए ।

उनले भने ‘बैठकमा मुख्यतयाः केन्द्रीय समितिले स्थायी समितिलाई दिएको निर्देशन र जिम्मेवारी पूरा गर्ने एजेन्डामा छलफल भयो । त्यो छलफलअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला समितिका जसलाई अहिले जिल्ला समन्वय समितिमा रूपान्तरण गरिएको छ, इन्चार्जहरू तोक्ने काम भएको छ ।

यसका साथसाथै अब हामीले राष्ट्रिय सम्मेलनलाई केन्द्रविन्दुमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र त्यस पछाडि प्रदेश अधिवेशन गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको छ ।’

साथै बैठकले कोभिड महामारीमा नागरिकलाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकताबद्ध हने विषयमा पनि छलफल गरेकाे प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले पार्टीलाई व्यवस्थित र विधिसङ्गत रूपले सञ्चालन गर्दै अन्य कम्युनिस्ट शक्तिहरूसँग एकता र ध्रुवीकरणका लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि उनले बताए । 

मन्त्रिपरिषद् विस्तारको सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रिया पूरा भइसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताए ।