काठमाडौं । नेकपा (एमाले)बाट विभाजित भएर गठित नेकपा (एकीकृत समाजवादी)का लागि ५५ केन्द्रीय सदस्य र ३० सांसदले सनाखत गरेका छन् ।
माधवकुमार नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का लागि एमालेका ५४ केन्द्रीय सदस्य र २९ सांसदले आज निर्वाचन आयोगमा नै पुगेर सनाखत गरेका हुन् । प्रस्तावित पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भने नयाँ दिल्लीस्थित नेपाली दूतवासमार्फत सनाखत पठाएका थिए ।
आयोगले मंगलबार सनाखतका लागि स्वयम् उपस्थित हुनुपर्ने भएकाले खनालको सनाखत नहुने निर्णय गरेको थियो । तर, आज भने दूतावासबाट नै सनाखत आएपछि सनाखत स्वीकार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
खनालको पनि सनाखत भएसँगै प्रस्तावित दलका लागि ५५ केन्द्रीय सदस्य र ३० सांसदको हस्ताक्षर भएको छ । नेकपा (एमाले)का १५४ सांसदमध्ये २० प्रतिशत पुर्याउनका लागि ३१ सांसदको हस्ताक्षर चाहिन्छ ।
आयोगले सनाखतका लागि आएका सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र मायादेवी भट्टको सनाखत गर्न भने अस्वीकार गरिएको श्रेष्ठले जानकारी दिए । दल दर्ताको निवेदनभन्दा पछि निवेदन आएकाले उनीहरूको सनाखत हुन नसकेको आयोगले जनाएको छ । योसँगै माधव नेपालको पार्टीले २० प्रतिशत सांसद पुर्याउन सकेन । केन्द्रीय सदस्यहरूबाट भने २० प्रतिशतभन्दा बढीको सनाखत भएको छ ।
प्रस्तावित पार्टीलाई आजै दल दर्ताको प्रमाणपत्र दिन सकिने प्रवक्ता श्रेष्ठले बताए ।
प्रतिक्रिया