मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा मुटुरोग विशेषज्ञ छैनन्, उपचार नपाएर ज्यान गुमाउँदै प्रदेशवासी

सुदूरपश्चिममा मुटुरोग विशेषज्ञ छैनन्, उपचार नपाएर ज्यान गुमाउँदै प्रदेशवासी


धनगढीः डोटीको आदर्श गाउँपालिका वडा नम्बर ६ की जुनकिरी ओलीलाई मुटु सम्बन्धीको रोग थियो। ५ वर्षदेखि मुटुको समस्या रहेकोमा उनलाई एक महिना अगाडि मात्रै सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो।

धनगढीमा उनको रोग सञ्चो नभएपछि मंगलबार भारत लगियो। भारतको चेन्नइमा उनको मुत्यु भएको छ। अस्पताल पुगाउन नपाउँदै मृत्यु भएकी ओलीको बुधबार अन्त्येष्टि गरिएको उनका बाजे नाता पर्ने तेजु ओलीले बताए। 

विशेषज्ञ डाक्टरको अभावमा प्रदेशवासीलाई मुटुलाई स्वस्थ छ वा छैन भन्ने विषयमा जानकारी राख्न पनि चुनौती बढ्दै गएको छ। मुटुरोग विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले नियमित परीक्षण समेत गर्न पाइरहेका छैनन् भने हृदयघात हुने बित्तिकै उपचार नपाउँदा ज्यान गुमाउनु परेको छ। 

यसरी सुदूरपश्चिममा उपचार नपाएरै ज्यान जाने समस्या विकराल बन्दै गएको छ। झण्डै ३० लाख जनसंख्या रहेको सुदूरपश्चिममा विशेषज्ञ सेवाका लागि परनिर्भर हुनपर्ने बाध्यता कायमै छ। सबैभन्दा बढी मुटु र मृगौला रोगका बिरामीले उपचार नपाएर ज्यान गुमाउनपर्ने बाध्यता छ। संघीय सरकारले वर्षाैदेखि रिक्त राखेको मुटुरोग विशेषको दरबन्दी प्रदेश सरकारले पनि पूर्ति गर्न सकेको छैन। 

सेती प्रादेशिक अस्पतालमा दरबन्दी पैदा भएदेखि नै मुटुरोग विशेषज्ञ डाक्टरको पदपूर्ति भएको छैन। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पदपूर्तिका लागि पहल गरेको तर नभएको बताए। 

प्रदेशका कुनै पनि अस्पतालमा मुटुरोग विशेषज्ञ डाक्टर नभएकै कारण कैयौंले ज्यान गुमाइरहेका छन्। मुटु सम्बन्धी रोग भएपछि पैसा र समय सबैभन्दा बढी महत्त्वपूर्ण हुने भएकाले कतिपयले आर्थिक जोहो गर्न नपाएर उपचार पाइरहेका छैनन्। भने, कतिपयले विशेषज्ञ सेवासहितको अस्पताल पुगाउन नपाउँदै घरको सदस्यलाई गुमाइरहेका छन्। 

तर सुदूरपश्चिमका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले यो विषयमा जानकारी नभएको बताएका छन्। उनले सेती प्रादेशिक अस्पतालका लागि आवश्यक जनशक्तिको बारेमा जानकारी मागेको बताए। 

सुदूरपश्चिम प्रदेशरभरी मुटु रोगीको संख्या दिन प्रतिदिन बढेपनि दक्ष चिकित्सक र उपकरण अभावले रोगको पहिचान गर्नै मुस्किल भएको छ। सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा अस्पताल र धनगढीको सेती अस्पतालमा गरी २ जना मुटुरोग विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि उक्त पद सुरुवातदेखि नै रिक्त छ। – दिनेशखबर