मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमको मुख्य पर्व गौरा सुरु, आज बिरुडा भिजाइँदै

सुदूरपश्चिमको मुख्य पर्व गौरा सुरु, आज बिरुडा भिजाइँदै


अछाम : सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरी देवी अर्थात् पार्वतीले निराहार व्रत बसी नित्य आराधना गरेको विश्वासमा यो पर्व मनाउने गरिन्छ ।

गौरा पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । आज गौरा देवीको प्रसाद बिरुडा भिजाइँदै छ ।

गौरा पर्वको पहिलो दिन आज विवाहित महिलाले नजिकैको धारा तथा पँधेरोमा गएर पाँच प्रकारका गेडागुडी (गहत, मकै, गुराउँस, कलौ र गहुँ) बाट बनाइएका बिरुडा भिजाउन थालेका छन् ।

गौरापर्व मनाउने समुदायका महिलाले निराहार बसेर आ–आफ्नो घरमा तामा वा पित्तलका भाँडामा बिरुडा अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् ।

बिरुडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ साइतमा बिरुडा धोएर गौराको प्रतिमा बनाएर गौराघरमा भित्र्याउने चलन रहेको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । सुदूरपश्चिमेलीले दशैँभन्दा पनि बढी महत्त्वका साथ यस पर्वलाई मनाउने गर्दछन् ।