निश्चय नै बालबालिकाको पालनपोषण गर्नु गाह्रो काम हो। धेरै बाबुआमा तथा अविभावकले उनीहरूलाई अनुशासन सिकाउँदै गर्दा जानेर वा नजानेर कयौंपटक कठोर शब्दहरू प्रयोग गर्ने गरेका हुन्छन्। उनीहरूलाई सही बाटोमा ल्याउने क्रममा बालिने भाषाले कतौ उनीहरू आहात त भइरहेका छैनन्। त्यसैले उनीहरूसँग व्यवहार गरिने भाषाको बारेमा सचेत हुन जरुरी छ।
तेरो बेलामा म निकै जिम्मेवार थिएँ
धेरैजसो आमाबाले केटाकेटीसँग आफ्नो बाल्यकालको तुलना गर्ने गर्छन्। यतिबेलाका बालबालिकाको उमेरमा त्यो बेलाको आफू के के गर्थें भनेर सुनाउनु राम्रो कुरा होइन। बालबालिकाहरूबाट पूर्णताको अपेक्षा नगर्नुहोस्। यस्तो धारण उचित होइन। यस्तो अपेक्षाका कारण उनीहरूमा रिस र चिडचिडाहट बढ्न थाल्छ। यस्ता कुराले बालबालिकाको आत्मविश्वास घट्छ। उनीहरूलाई के लाग्न थाल्छ भन म त बाआमा जत्तिको रहेनछु। यसले उनीहरूमा लघुताभाष पनि बढाउँछ।
तँ सधैं गलत मात्र गर्छस्
आफ्ना केटाकेटी अपरिपक्व छन् भन्दैमा उनीहरूलाई सजाय नदिनुस्। हरेक मानिसले गल्ती गर्छन् र तिनै गल्तीका कारण तिनले सिक्ने गर्छन्। तपाईंका केटाकेटीले पढाइमा आफूलाई रुचि नभएको विषय छनोट गरेका हुनसक्छन्, जसका कारण ऊ पढाइमा सुस्त भएको वा अपेक्षित परिणाम ल्याउन नसकेको हुनसक्छ। उनीहरूको छनोट र निर्णयलाई दोष नदिनुस्। अभिभावक हुनुको अर्थ आफ्नो निर्णय लाद्ने होइन, तिनलाई दिशानिर्देश गर्ने हो।
तँ त फलानो भाइ वा बहिनी जस्तो छैनस्
हामी प्रायः आफ्ना सन्तानलाई अरुका सन्तान वा आफ्नै सन्तानहरूमध्ये पनि भाइबहिनी, दाजुभाइ, दिदीदाइ आदिसँग तुलना गर्ने गर्दै भन्ने गर्छौ, यो फलानोजस्तो भएन। उसले जस्तो गर्दैन।
केटाकेटीलाई राम्रो र नराम्रोबीचको फरक बुझाउने अन्य पनि तरिका छन् भन्ने बुझ्नुस् र त्यसको खोजी गर्नुस्।
यसरी आफ्ना सन्तानलाई अरुका सन्तान वा आफ्नै सन्तानहरूबीच तुलना गरेर झगडाको बिउ नरोप्नुस्। यस्तो हुँदा आफ्नै दाजुभाइ, दिदीबहिनीलाई उनीहरूले प्रतिस्पर्धी देख्छन्, सम्बन्ध बिग्रन थाल्छ। कसैका प्रति पनि नकारात्मक भावना नआओस् भन्नेतर्फ तपाईं सचेत हुनुपर्छ। त्यसैले तुलना गर्ने काम नगर्नुस्।
मलाई एक्लै छाडिदे
काम गर्दागर्दै हामी थाक्छौं र केही समयका लागि एक्लै बस्न चाहन्छौं। यस्तो अवस्थामा तपाईंको मानसिक वा शारीरिक अशक्तता वा थकान केटाकेटीले बुझ्न सक्तैनन्। उनीहरूको अबुझपनामाथि तपाईंले ‘मलाई एक्लै छाडिदे भनेको सुनिनस्’ भनेर चिच्याउँदा नकारात्मक असर पार्ने गर्छ। यस किसिमको व्यवहारले उनीहरूलाई लाग्न थाल्छ, ‘यस घरमा मेरो कसैलाई आवश्यक छैन। मलाई कसैले मन पराउँदैन।’
तँलाई लाज लाग्नुपर्ने हो
यस किसिमको शब्द निकै कठोर मानिन्छ र कसैलाई पनि यस्तो भाषा प्रयोग गर्नु हुँदैन। कुनै कुनै बालबालिका धेरै बदमासी गर्छन् र भनेको सुन्दैनन्। यस्तो अवस्थामा अभिभावकले निकै कडा शब्द प्रयोग गरेर सन्तानलाई तह लगाउन खोज्छन् तर त्यसो गर्नु बुद्धिमानी होइन।
केटाकेटीलाई राम्रो र नराम्रोबीचको फरक बुझाउने अन्य पनि तरिका छन् भन्ने बुझ्नुस् र त्यसको खोजी गर्नुस्।
तँ त ठ्याक्कै बाउ/आमाजस्तै छस्
सबै वैवाहिक जीवन सुखद् हुन्छ भन्ने छैन। कतिपय अवस्थामा पति–पत्नीका बीच कटुतापूर्ण सम्बन्ध हुन्छ र त्यसै कारण उनीहरूले पारपाचुके लिएको हुन सक्छ वा एकै छानोमुनी बसे पनि सम्बन्ध सुमधुर नहुन सक्छ। यस्तो अवस्थामा अभिभावकहरूबीचको कटुतापूर्ण सम्बन्ध केटाकेटीले विचार गरिरहेका हुन्छन्। यस्तो अवस्थामा आफ्नो पति वा पत्नीको रिस आफ्ना सन्तानमाथि नओकल्नुहोस्। खासगरी यस्तो अवस्थामा ‘तँ त ठ्याक्कै बा वा आमातिर गएको/गएकी छस्’ जस्ता शब्द प्रयोग गर्ने गरिन्छ। यस्तो कहिल्यै पनि नगर्नुहोस्। यस्ता बालबालिकाले पछि तपाईंलाई पनि सम्मान गर्ने छैनन्।
सर्धै मलाई दुःख दिन्छस्
कैयौँ पटक केटाकेटी वा सन्तानले बाआमाको खुसीविरुद्धको काम गर्न पुग्छन्। जसकारण अभिभावकको मन कटक्क दुख्छ। यस्तो काम सन्तानले जानाजान नगरेका पनि हुन सक्छन्। कतिपय अवस्थामा जानाजान पनि गरेका हुन सक्छन्। यस्तो अवस्थामा केटाकेटीलाई ‘तँ सधैं मलाई दुःख दिन्छस्’ भन्दा उनीहरूलाई अपराधबोध महसुस हुने गर्छ।
उनीहरूलाई गर्न मन लागेको कुरा वा काम गर्न दिनुस्। उनीहरूलाई आफ्नो निर्णय आफैं गर्न दिनुस्। यसो गर्दा उनीहरूलाई खुसी लाग्छ, उनीहरूको आत्मविश्वास बढ्छ।
तँ जन्मेको भन्दा मरेकै भए बेस हुन्थ्यो
रिसको झोकमा कतिपय अवस्थामा हामी केटाकेटीहरूलाई यस्ता शब्द प्रयोग गर्ने गर्छौं, जसका कारण पछि हामीले गम्भीर परिणामसमेत भोग्नुपर्ने हुन सक्छ। जस्तोसुकै नराम्रो अवस्था किन नहोस्, आफ्नो बोलीलाई संयमका साथ प्रयोग गर्नु नै उचित हुन्छ। नत्र जीवनभर तपाईंले अपसोच मान्नुपर्ने समेत हुन सक्छ।
प्रतिक्रिया