मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभापतिसहित कांग्रेसका यी पदमा विजयी हुन ल्याउनै पर्छ ५१ प्रतिशत मत

सभापतिसहित कांग्रेसका यी पदमा विजयी हुन ल्याउनै पर्छ ५१ प्रतिशत मत


नेपाली कांग्रेसमा केन्द्रीय सभापतिलगायत विभिन्न पदमा विजयी हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने बाध्यकारी व्यवस्था छ।

केन्द्रीय सभापति, सातै प्रदेशका प्रदेश सभापति, ७७ जिल्लाकै जिल्ला सभापति पदमा उठेका उम्मेदवारहरूमध्ये जसका पक्षमा ५० प्रतिशत बढी धेरै मत आउँछ त्यही उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ।

कांग्रेसले बनाएको निर्वाचन निर्देशिकामा निर्वाचन अधिकृत वा मतदान अधिकृतले केन्द्रीय सभापतिको हकमा विधानको धारा १६ को १ (ख), प्रदेश समितिको सभापतिको हकमा विधानको धारा १३ को ६ को १ (ख) र जिल्ला सभापतिको हकमा विधानको धारा १२ को ५ (क) २ बमोजिम निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधान उल्लेख गरेको छ।

कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेको खण्डमा बढी मत ल्याएका दुई उम्मेदवारबीच फेरि चुनाव हुने र त्यसपछि जसका पक्षमा धेरै मत आउँछ त्यही विजयी हुने व्यवस्था विधानले गरेको छ। 

तर दुई जना मात्रै उम्मेदवार भएको खण्डमा भने पहिलोपटक नै जसका पक्षमा बढी मत आउँछ त्यही विजयी हुने व्यवस्था छ। कांग्रेसमा करिब ५ हजार महाधिवेशन प्रतिनिधि आउँछन्। महाधिवेशन प्रतिनिधि नै केन्द्रीय अधिवेशनका मतदाता हुन्।

पार्टीका अरू सबै तहको पदका हकमा भने उम्मेदवारहरूमध्ये सबैभन्दा धेरै मत ल्याउने नै विजयी हुने विधानको व्यवस्थालाई निर्देशिकामा पनि राखिएको छ।

उम्मेदवारहरूबीच मत बराबर भएमा सम्बन्धित निर्वाचन अधिकृत वा मतदात अधिकृतले गोला प्रथाबाट विजयी भएको उम्मेदवारको नाम घोषणा गर्ने व्यवस्था छ।

कांग्रेसमा शुक्रबार वडा अधिवेशन हुँदैछ। भदौ २३ भित्र वडा अधिवेशन सक्ने गरी विभिन्न जिल्लामा फरकफरक मिति तोकिएका छन्। कांग्रेसले देशभरका छ हजार सात सय ४३ वडामा भदौ १८ मै वडा अधिवेशन गर्ने भने पनि एकैदिन वडा अधिवेशन नसकिने भएको छ।

निर्वाचन अधिकृतसँग समन्वय गरी वडा अधिवेशन एक-दुई दिन तलमाथि गर्न सक्ने अधिकार कांग्रेसले दिएको छ।

कांग्रेसमा वडा, पालिका, प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ सम्म काठमाडौंमा १४ औं केन्द्रीय महाधिवेशनका लागि निर्वाचन हुँदैछ।