काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्र उपाध्यक्ष गौतमले आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दर्ता गराउनुभएको छ ।
राजीनामा पत्रमा उहाँले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधि सभाको चुनाव २०७४ मा एमाले र नेकपा माओवादी केन्द्रको साझा घोषणा पत्रलाई कार्यान्वयन नगरेको तथा सरकारको कामलाई पटक–पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि सुधार गर्न नसकेको आरोप लगाउनुभएको छ ।
अध्यक्ष ओलीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईँकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिबाट पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’
राजीनामा पत्रमा जनताको बहुदलीय जनवाद (जबज) र जननेता मदन भण्डारीका विचार र मान्यता संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्त पालना नभएको, कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका विपरीत जनताको अत्यधिक बहुमतलाई लत्याउँदै २०७५ पुस ५ र २०७८ जेठ ७ गते दुई–दुई पटक संविधान विपरीत जनताद्वारा निर्वाचित सदन भङ्ग गरिएको उल्लेख छ ।
‘आफ्ना समकक्षी कमरेडलाई एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनजस्ता स्वेच्छाचारी तथा निरङ्कुश प्रवृत्ति र शैली अँगाल्नुभयो, त्यतिमात्र होइन राष्ट्रपति समेतलाई आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णय कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो’, राजीनामा पत्रमा उल्लेख छ ।
यस्ताे छ पत्र–
प्रतिक्रिया