मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा को–को छन् काँग्रेस जिल्ला सभापतिको दौडमा ?

सुदूरपश्चिममा को–को छन् काँग्रेस जिल्ला सभापतिको दौडमा ?


अछाम : सुदूरपश्चिमका नौमध्ये चार जिल्लामा वडा अधिवेशन भएको छ। कञ्चनपुर, डोटी, अछाम र बझाङमा शुक्रबार वडा अधिवेशन भएको हो। वडा अधिवेशन गरिएका चार जिल्लाका अधिकांश वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको छ।

बैतडीमा भदौ २१ र दार्चुलामा भदौ २२ गते वडा अधिवेशन गरिने बताइएको छ। यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरासहित कैलाली र बाजुराको क्रियाशील सदस्यता नामावली प्रकाशित भइनसकेका कारण वडा अधिवेशनको मिति टुंगो लागेको छैन। 

सुदूरपश्चिम प्रदेशमा जिल्ला सभापतिका आकांक्षीले पनि दाबी प्रस्तुत गर्न थालेका छन्। १३ औं महाधिवेशनमा ९ जिल्ला मध्ये ६ जिल्लाका सभापतिमा शेरबहादुर देउवा निकट नेताहरु निर्वाचित भएका थिए। प्रदेशको राजधानी कैलालीमा जिल्ला सभापतिका आकांक्षी धेरै देखिएका छन्। जिल्ला सभापति नरनारायण शाह (मनु) ले दुई कार्यकाल पार्टी सभापति पदको जिम्मेवारी पूरा गरिसकेकाले अब कैलालीमा नयाँ सभापति आउने पक्का छ।

त्यसका लागि उपसभापति प्रकाशबहादुर बम, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता रणबहादुर रावल, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप ओड, क्षेत्रीय सभापति खेम चौधरी, महासमिति सदस्य भीम बडुवाल, महाधिवेशन प्रतिनिधि गणेश देउवा र नारायणदत्त भट्टको चर्चा छ। 

कञ्चनपुरमा पनि जिल्ला सभापतिको रस्साकस्सी सुरु भइसकेको छ। जिल्लामा वर्तमान सभापति हरि बोहोरा, गत अधिवेशनमा बोहोरासँग पराजित पदम बोगटी, गोपाल गुरुङ, नेता बहादुरसिंह थापा लगायतको नाम चर्चामा छ। 

सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि जिल्ला सभापतिको रस्साकस्सी सुरु भएको छ। शेरबहादुर देउवाले पर्शुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारेका छन्। यस्तै वर्तमान उपसभापति करुणाकर भट्ट, हरिप्रसाद भट्ट लगायतको नाम चर्चामा छ। 

बाजुरामा पनि काँग्रेस अधिवेशनको रौनक सुरु भइसकेको छ। नेताहरु मनबहादुर रावल, रामसिंह रावल, प्रेमबहादुर शाहील र वर्तमान सभापति कविराज पण्डित जिल्ला सभापतिमा भिड्ने तयारीमा छन्। 

बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने योजनामा छन् भने पूर्वसभापति शिवराज भट्ट, उपसभापति चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्ट पनि सभापति बन्ने लविङमा छन्। 

अछाममा वर्तमान सभापति भरतकुमार स्वार, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह, मेघराज खड्का, जिल्ला सचिव नाम बहादुर शाही, नेता गणेशबहादुर विष्ट, बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनालको नाम चर्चामा छ। 

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेर वरिष्ठ नेता पौडेलको समूहनिकट देखिएका युवा नेता गगन थापा निकट मानिने महासमिति सदस्य राजन कुँवरले पनि अछाम कांग्रेसको सभापतिमा शुक्रबार वडा अधिबेशन बाटै दाबी पेस गरेका छन्। 

डोटीमा जिल्ला सभापतिका लागि वर्तमान सभापति प्रदीप देउवा, शिखवर नगरपालिकाका मेयर सीताराम जोशी, नेताहरु रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडूको नाम चर्चामा छ। 

बझाङमा वर्तमान सभापति हर्कजंग बहादुर सिंह, पूर्वसभापति पृथ्वीबहादुर सिंह, चेतराज बजाल, पूर्वउसभापति देवराज शर्मा, नेता जगत जोशी, खडगबहादुर बोहोरा र रमेश भण्डारीको नाम चर्चामा छ।

पौडेल पक्षीय नेता दिलेन्द्र बडूको गृहजिल्ला दार्चुलामा वर्तमान सभापति ललितसिंह बोहोरा, १३ औं जिल्ला अधिवेशनमा पराजित विक्रम धामी, पूर्वसभापति जगदीश पाल, उपभापति अमर धामी, सचिव हर्क बिष्टलगायतका नेताहरुको नाम जिल्ला सभापतिकालागि चर्चामा छ।