मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिम्मतले राजनीति थालेकी कान्छी सभापति

हिम्मतले राजनीति थालेकी कान्छी सभापति


बुवाको अठोट पूरा गर्ने सपना

नेपाली कांग्रेस दैलेखका तत्कालीन उपसभापति भुपेन्द्रजंग महत अल्पायुमै बिते। उपचारका क्रममा २०७६ कात्तिकमा भारतको दिल्लीस्थित एपोलो अस्पताल उपचारका क्रममा उनको निधन भएको थियो।  

बुवाको अप्रत्यासित निधनले भर्खर राजनीति बुझ्दै गरेकी जेठी छोरी स्वस्तिका स्तब्ध भइन्। जसको संगतले राजनीति सिक्दै थिइन्, ऊ नै नभएपछि स्वस्तिका बाटो पनि फेरिन पुग्यो। 

परिवारमा ठूलो वज्रपातपछि हेल्थ असिस्टेन्ट पढ्दै गरेकी स्वस्तिकाले आफू र आफ्नो परिवारलाई सम्हाल्नुपर्ने स्थिति थियो। पीडा लुकाएर पनि उनले त्यही भूमिका निर्वाह गरिन्। 

कोरोना महामारीका कारण लकडाउन भएपछि स्वस्तिका घर फिरेकी थिइन्। उनले आफूलाई कमजोर देखाउने स्थिति थिएन। 

बुवा भुपेन्द्र ६ कक्षादेखि नै रेडक्रसमा आवद्ध हुँदै राजनीतितिर होमिएका थिए। उनी नेविसंघ र तरुण दलको राजनीतिपछि कांग्रेसको १३ औं महाधिवेशनबाट दैलेख जिल्ला उपसभापति चुनिएका थिए। 

राजनीतिमा बुवाको खटाई र मिहिनेत स्वस्तिकाले नजिकबाट नियालेकी थिइन्। घरको माहौल पनि राजनीतिक थियो। 

धेरै किसिमका मानिसहरु आएर राजनीतिक कुरा गर्थे। राजनीतिसँगै गाउँ विकासका पनि कुरा हुन्थे। ती सबै कुराहरु स्वस्तिकाले पनि चाख दिएर सुन्थिन्। 

कोरोना महामारीका कारण उनले घरमै बस्नुपरेको थियो। धेरै मानिसहरु आएर सहानुभूति दिन्थे। कसैले बुवाले यस्तो यस्तो सोच बनाउनुभएको थियो। पूरा नहुँदै बित्नुभयो भन्थे। 

कसैले गाउँमा भूपेन्द्रको निधनसँगै नेतृत्व अभाव भएको बताउँथे। सबैका कुरा सुनेपछि स्वस्तिकाले मनमनै ठानिन्, गाउँको नेतृत्व अभाव पूर्ति गर्न र बुवाका अधुरा सपना पूरा गर्न राजनीतिमा होमिन्छु। 

अहिले १९ वर्ष पुगेकी स्वस्तिकालाई एक वर्ष अगाडि मात्रै यो सोच आएको हो। ठीक त्यहीबेला कांग्रेसको १४ औं महाधिवेशन चलिरहेको थियो। स्वस्तिकाले राजनीतिमा आउने यही महाधिवेशन उपयुक्त हुने ठानिन्। र परिवारसँगै कांग्रेसजनमा आफ्नो इच्छा व्यक्त गरिन्।

‘पहिले त स्वीकार गर्ने कुरै भएन। बच्चै छस्, पढाई छ, पढाई किन छोड्नुपर्यो। जागिर खानुपर्छ तैँले भन्नुहुन्थ्यो,’ शुक्रबार मात्रै दुल्लु नगरपालिका–३ मा सभापतिमा निर्विरोध निर्वाचित भएकी स्वस्तिकाले भनिन्, ‘मैले सक्छु भनेर हिम्मत देखाएँ। १८ वर्ष पुगेपछि कानुनले नै सक्छस्, सक्षम छस् भनेर नागरिकता दिन्छ। म १९ वर्ष पुगिसकेकी छु भनेर कन्भिन्स गराएपछि सबै जना खुशी हुनुभयो। मलाई अगाडि बढ्न हौसाउँदै साथ दिने प्रतिवद्धता जनाउनुभयो।’

सक्रिय राजनीति थालेको वर्ष भन्दा कम समयमै स्वस्तिका दुल्लु नगरपालिका वडा नम्बर ३ को सभापतिमा शुक्रबार निर्विरोध निर्वाचित भएकी छन्। 

उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि साथ दिएका थिए। सानै उमेरमा कांग्रेसको स्थानीय नेतृत्व सम्हालेपछि आफन्त, इष्ट मित्र र कांग्रेसजनले बधाई दिइरहेका छन्। 

‘एकदम खुशी लागिरहेको छ। चिन्ता पनि लागिरहेको छ। किनकी पूरै वडाको जिम्मेवारी मेरो काँधमा आएको छ,’ सभापतिमा निर्वाचित भएपछि उनले भनिन्, ‘पूरा गर्न सक्छु कि सक्दैन देखिँदै जाला। तर पनि मिहिनेतले बढ्नेछु। सबैको राय सुझाव लिएर अगाडि बढ्नेछु।’

सभापतिमा निर्वाचित भएपछि बुवाका अधुरा सपनाहरु पूरा गर्ने स्वस्तिकाको लक्ष्य छ। 

‘बुवा समाजवादी सोच र विकासका लागि अगाडि बढिरहनुभएको थियो। तर सपना पूरा नहुँदै अस्ताउनुभयो,’ उनले भनिन्, ‘उहाँको सपना पूरा गर्न आएकी छु। जसरी बुवा लगनशील भएर अगाडि बढ्नु भएको थियो। त्यसरी नै अगाडि बढ्नेछु।’

सपना 
उनको गाउँमा अझै पनि विद्युत् पुगेको छैन। राम्रो स्वास्थ्य सेवा छैन। बाटोघाटो बनेको छैन। शैक्षिक गुणस्तर पनि छैन। यी समस्याबाट गाउँलाई मुक्ति दिलाउने उनको सोच छ। तर आफूले एक्लैले व्यक्तिगत तवरबाट नसक्ने उनले बुझेकी छिन। 

‘चुनौती धेरै छ। अहिलेसम्म म सक्षम छु भनेर कन्भिन्स गराउ सक्नु नै ठूलो कुरा भयो,’ उनले भनिन्, ‘यस्तो गर्नसक्छु भनेर कन्भिन्स गराएर नै म अगाडि बढेकी हुँ। उहाँहरुको आशालाई निराशामा बदल्नेछैन। आफूले  पहल गरेर नगर, प्रदेशबाट सहयोग मागेर अगाडि बढ्नेछु।’ 

उनी राजनीतिमा आउँछु भन्दा भोग्नुपरेको अर्को चुनौती थियो महिला हुनु। उनका गाउँ समाजमा अहिले पनि राजनीतिमा महिला त्यति सक्रिय छैनन्। राजनीतिमा महिलालाई सजिलै स्वीकार्ने समाज निर्माण भइसकेको छैन। यही अवस्था चिर्न आफू उदाहरण बनेर देखाउने इख उनीमा छ। 

‘महिलाले राजनीतिमा केही गर्न सक्दैनन्, नेतृत्व लिन सक्दैनन् भन्ने सोचलाई चिर्न मैले केही गरेर देखाउनु छ,’ उनी भन्छिन्, ‘हाम्रो ठाउँमा महिलाहरुले राजनीतिमा चासो दिएका छैनन्। अब म उदाहरण बनेर उहाँहरुलाई नेतृत्वमा ल्याउन पहल गर्नेछु।’

राजनीतिमा कहाँसम्म पुगिन्छ, स्वस्तिकाले त्यसको आँकलन गरेकी छैनन। तर उनी आफूलाई जतिसक्दो परिपक्व बनाउँदै लगिरहेकी छिन्। कांग्रेसको इतिहास, विधि विधान, कानुन, सरकारी संयन्त्र आदिबारे अध्ययन गरिरहेको उनले बताइन्। 

‘सबै कुरा त थाहा छैन। अझै सिक्दैछु। अध्ययन गर्दैछु। विधि विधान हेर्दैछु,’ उनले भनिन्, ‘भर्खर सुरुवात गरेको छु। वडा सभापतिमा राम्रो काम गर्दै गए भविष्यमा अरु यात्रा पनि सहज होला। अहिले सबैलाई एकजुट बनाएर विकासका लागि अगाडि लैजाने सोचका साथ अघि बढेकी छु।’