काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले सोमबार बिहान कांग्रेसका शीर्ष नेताहरूको बैठक डाकेका छन् ।
देउवाले बिहान साढे ८ बजे बालुवाटारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला तथा महामन्त्री शशांक कोइरालासहितका नेताहरूलाई बोलाएका छन् ।
देउवाले हतारमा निर्देशिका निर्माण गर्दा प्रतिनिधित्वको विषय छुटेको भन्दै सच्याएर अघि जानका लागि प्रस्ताव गर्ने बताइएको छ ।
नेपाली कांग्रेसमा समावेशी प्रतिनिधित्व बढाउन ‘लबिङ’ सुरु भएको छ । निर्वाचन निर्देशिकाले समावेशी क्लस्टरको धज्जी उडाएको भन्दै दबाव दिएर वडा तहमा एकजनामात्रै सदस्य भए पनि समावेशी क्लस्टरको प्रतिनिधित्व सुनिश्चित भएपछि नेताहरू अब प्रदेश प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र महाधिवेशन प्रतिनिधिको ‘लबिङ’मा जुटेका हुन् ।
नेताहरू फर्मूल्लाह मन्सुर, जीवन परियार मुस्लिम संघका अध्यक्ष अबदुल सतारसहितका नेताहरू बालुवाटार पुगेका थिए । उनीहरूलाई विगतका गल्ती सच्याउन तयार रहेको भन्दै सभापति देउवाले प्रतिनिधित्वका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
“हामीले वडामा जस्तै समावेशी प्रतिनिधित्वको सुनिश्चिता गर्नुपर्ने माग गर्यौँ,” नेता मन्सुरले भने, “उहाँले म निर्देशिकाका कमजोरी हटाउन पहल गर्छु भन्नुभएको छ ।”
प्रतिक्रिया