मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वप्रकाश शर्मा भन्छन् –पूजामा जाँदा पनि लुकेर जानू ?

विश्वप्रकाश शर्मा भन्छन् –पूजामा जाँदा पनि लुकेर जानू ?


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका नेता विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्रीमा उमेदवारी दिने घोषणा गरेका छन् ।

उनले बीपी जयन्तीका दिनमा बीपी संग्रहालय पुगेर आफ्नो उमेदवारी घोषणा गरेका हुन् ।

उनले अहिले आफूले महामन्त्रीमा उमेदवारीमात्रै घोषणा गरेको टिम तयारीका लागि समय बाँकी रहेको बताए पनि उनी भोलिपल्ट भने सभापतिको उमेदवारी घोषणा गरिसकेका नेता विमलेन्द्र निधिको निवास पुगेका थिए ।

उनलाई यसअघि पनि निधिकै टिममा महामन्त्रीको रुपमा अघि सरेको बताइएको थियो ।

गणेश चौथीको अवसरमा भएको पूजामा शर्मा देखिएका थिए । मिथिला क्षेत्रको लोकप्रिय पर्व चौरचन पूजामा  कांग्रेसका अन्य कुनै नेता नहुनु र विश्वप्रकाश शर्मा पुग्नुलाई धार्मिक भन्दा राजनीतिक अर्थमा बुझिएको छ ।

निधि लामो समय देखि देउवा टिममा रहेर राजनीति गरेका नेता हुन् । ०५२ सालमा गिरिजाप्रसाद कोइरालाविरुद्ध चिरञ्जीवी वाग्लेलाई सभापति उमेदवार बनाउँदादेखि नै कोइराला प्यालन बाहिर राजनीति गरेका निधि कांग्रेस नेता कृष्णप्रसाद भट्टराई किशुनजीको निकटस्थ भएर राजनीति गरेका नेता हुन् । 

बाह्रखरीको प्रश्नमा शर्मा भने त्यसको राजनीतिक अर्थ खोजिनु नै बेठिक भएको बताउँछन् । 

“त्यो राजनीतिक भेटघाट होइन । धर्मिक आध्यात्मिक हो,” शर्माले भने, “पूजाको निम्तो मान्न पनि लुकेर जानू ?” 

“मेरो उमेदवारी घोषणा र त्यसलगत्तैको उहाँकै निवासमा पुगेको फोटो, त्यसको राजनीतिक अर्थ लाग्छ भन्ने मलाई पनि थाहा थियो,” शर्माले भने, “तर, एउटा नेताले आज मेरो घरमा पूजा छ, तपाईं कता हुनुहुन्छ भने पछि म काठमाडौंमै छु आइपुग्छु भनेर त्यहाँ पुगेको हुँ । पुग्दा पूजा हुँदै रहेछ, म पनि पूजामा सहभागी भएँ, फोटो खिचियो, विमल दाइ र भाउजुले फोटो सामाजिक सञ्जालमा सेयर गर्दा तपाईलाई अप्ठेरो त पर्दैन नि भनेपछि मैले पर्दैन भनेको हुँ ।” 

उनले भोलि अर्को नेताले घरमा बोलाए पनि आफू पुग्ने बताए ।

“भोलि शेखर कोइरालाले मेरो घरमा आउनु भन्नुहोला, मैले फोटो नखिच्ने र सार्वजनिक नगर्ने सर्तमा है भन्न मिल्छ र ?,” प्रतिप्रश्न गर्दै शर्माले भने, “म महामन्त्री उमेदवार हुँ, कांग्रेसको महामन्त्री उम्मेदवार ।” 

त्यसो भए प्यानल त चाहिन्छ होला नि ? हाम्रो प्रश्नमा शर्माले जवाफ दिए, “महामन्त्रीले प्यानल बनाउने त होइन नि !” 

उनले प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको बताएका उनले आफूले पवित्र ठाउँमा गएर उमेदवारी घोषणा गरेको बताए । 

“बीपीलाई आठ वर्षसम्म जेल राखिएको, बीपीसँगै गणेशमान, किशुनजी, रामनारायण मिश्रसहित जेल बसेको ठाउँमा, बीपीले रोपेको कपुरमा सिंचन गरेर, त्यहीँ नजिक रुद्राक्षको विरुवा रोपेर उमेदवारी घोषणा गरेको हुँ,” शर्माले भने ।