मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहमति जुटाउलान् त सभामुखले?

सहमति जुटाउलान् त सभामुखले?


काठमाडौं- प्रतिनिधिसभामा जारी गत्यवरोध अन्त्यका लागि आज सोमबार सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण आजित बनेका सभामुखले चालु अधिवेशनमा बैठक चलाउनै सकेका छैनन्।

गत शुक्रबारको बैठक एमालेको अवरोधका बीच सञ्चालन पनि गरे। तर, त्यसको आलोचना भएपछि आइतबार उनी संयमित देखिए। आइतबारको पहिलो बैठकपछि उनले एमालेका प्रमुख सचेतक र सचेतकसँग छलफल राखे। छलफलमा सरकारको तर्फबाट कानुनमन्त्रीलाई पनि राखे। तर, सहमति जुटेन।

तैपनि बैठक चलाउन सकि पो हालिन्छ कि भनेर दोस्रो बैठक सुरु गरे। तर, बैठकको कारबाही सुरु हुन्छ भनिनसक्दै एमालेका सांसदहरु दौडिएर बेल घेर्न पुगे र नाराबाजी गर्न थाले। नाराबाजी नरोकिएपछि सभामुखले मंगलबारसम्मलाई बैठक स्थगित गरेका छन्। र, त्यहीबीचमा आज सबै दलका नेतालाई राखेर छलफल गर्न लागेका हुन्।

चाखलाग्दो कुरा चाहिँ के छ भने सर्वदलीय बैठकमा अवरोधक दल एमाले नै नजाने भएको छ। सभामुखसँग यसअघि नै आफ्ना कुराहरु राखिसकेका कारण सर्वदलीय बैठकमा जानुको औचित्य नरहेको एमाले नेता खगराज अधिकारीले बताए। ‘हामीले सर्वदलीय बैठकमा सहभागी नहुने कुरा सभामुखलाई जानकारी गरायौँ र पक्षपातपूर्ण व्यवहार सच्याउन माग गरेर फर्कियौँ,’  अधिकारीले भने, ‘सत्तापक्षको मतिहार जस्तो बनेर संसद्को सबैभन्दा ठूलो दललाई पेल्ने काम सभामुखले गर्नु भएको छ। पहिलो नम्बरमा यो रोकिनु पर्छ।’ 

प्रतिनिधिसभाको नवौं अधिवेशन सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् अवरोध गरिरहेको छ। सभामुख अग्नि सापकोटाले माफी माग्नुपर्ने र एमालेले निष्काशनको कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग उसको छ। पहिलो बैठक बिहीबार डाकिएकोमा बैठक सुरु नहुँदै एमालेका सांसदले बेल घेराउ गरिहाले। 

 दोस्रो दिन शुक्रबारको बैठक त तनावग्रस्त नै बन्यो। किनकी सभामुख पेलेर जाने मनस्थितिमा देखिए। बैठकमा ठेलमठेल र धकेलाधकेल नै भयो। एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी गर्नुका साथै रोस्ट्रममा चढ्न कोसिस गरेका थिए। शुक्रबार तीनपटक संसद् बैठक बसेकोमा तीनैपटक एमालेले अवरोध गरेको थियो। बैठक अवधिभर नै एमालेका सांसदहरुले नाराबाजी गरिरहे। 

सांसदहरुले पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, गैरसांसदलाई प्रवेश निषेध गर, संसदीय मर्यदा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर लगायत नारा लगाएका थिए।

नाराबाजीका कारण कारबाही अघि नबढाई पहिलो बैठक स्थगित गरेका सभामुखले दोस्रो र तेस्रो बैठक भने नाराबाजीकै बीच सञ्चालन गरेका थिए। पहिलो बैठकमा एमाले सांसदहरुलाई संसद्को कारबाही अघि बढाउन निरन्तर आग्रह गरिरहेका सभामुख सापकोटा दोस्रो बैठकमा भने पेलेरै अघि बढेका थिए।

सभामुखले अब सहमति जुटाएर सहज रुपमा सदन सञ्चालन गर्लान्, अवरोधकै बीच बैठक चलाउलान् वा नाराबाजीमै बैठक सकिन्छ भन्ने कुरा आजको बैठकले तय गर्नेछ। – नेपालसमय