काठमाडौं– नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यता विवाद आजै टुंग्याउने भएको छ। पार्टी संसदीय दलको कार्यालयमा शुक्रबार बसेको पदाधिकारी बैठकले १३ जिल्लामा देखिएका विवाद आजै टुंग्याउने सहमति गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
‘१३ जिल्लाको क्रियाशील सदस्यता आजै टुंगो लाग्छ। दसैंअगाडि नै यी जिल्लामा वडा अधिवेशन भइसक्छ,’ महतले भने, ‘वडा अधिवेशन सकिएका हिमाली जिल्लामा भने दसैंअगाडि नै जिल्ला अधिवेशन हुन्छ।’ प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा क्रियाशील सदस्यता विवाद छ।
कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा शनिबार गाउँपालिका र नगरपालिका अधिवेशन गर्दै छ। दुई चरणमा गरी ६४ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ। १३ जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याए पनि नामावली सार्वजनिक भइसकेको छैन।
कांग्रेसले हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलले हिमाली जिल्लामा दसैंअघि नै अधिवेशन गर्ने निर्णय भएको हो।
असोज ९ मा अधिवेशन गर्नका लागि निर्वाचन अधिकृतहरू पालिकामा खटाइसकिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। पालिका अधिवेशनका लागि वडा सभापति र क्षेत्रीय प्रतिनिधि मतदाता हुने व्यवस्था कांग्रेस विधानमा छ।
कांग्रेसले हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलले हिमाली जिल्लामा दसैंअघि नै अधिवेशन गर्ने निर्णय भएको हो।
कात्तिकमा नै हिमाली जिल्लामा हिँउ पर्न सुरु हुने र मौसम प्रतिकूल पर्ने भएकाले दसैँअघि जिल्ला अधिवेशन गर्ने पूर्वनिर्धारित कार्यक्रम यथावत रहेको निर्वाचन संयोजक महादेव यादवले बताए। हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ,’ यादवले भने, ‘हिमाली जिल्लामा अधिवेशन गर्न मौसमको प्रतिकूलता हुन सक्छ। त्यही भएर दसैंअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको हो। अब निर्वाचन समिति त्यहीअनुसार अघि बढ्छ।’
हिमाली जिल्लाहरू रसुवा र डोल्पामा भने अझसम्म पनि वडा अधिवेशन हुन सकेको छैन। यी जिल्लामा दसैंअघि वडा अधिवेशन गर्ने र जिल्ला अधिवेशन दसैंपछि गरिने उनको भनाइ छ। हिमालीबाहेकका जिल्लामा भने दसैं र तिहारको बीचमा जिल्ला अधिवेशन हुनेछन्। वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा असोज १८ गतेसम्ममा पालिका अधिवेशन सक्ने तयारीमा समिति छ।
प्रतिक्रिया