गोरखा – गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा क्यानडाका एक नागरिकको ज्यान गएको छ । आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहणका क्रममा क्यानडाका ३७ वर्षीय ब्रेन्ट सेलको हिजो मङ्गलवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
चौथो बेस क्याम्पभन्दा झन्डै एक सय मिटरमाथि पुगेका उनी हिजो बिहान ७ः३५ बजेतिर अचानक ढलेर बेहोस भएपछि ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो ।
उनी स्नो होराइजन कम्पनीमार्फत मनास्लु आरोहणका लागि त्यहाँ पुगेका थिए । आज बुधवार बिहान कैलाश एअरको हेलिकप्टरमार्फत उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
विश्वको आठौँ अग्लो मनास्लु हिमाललाई ‘किलर माउन्टेन’ पनि भनिन्छ ।
प्रतिक्रिया