काठमाडौं । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किङ्स–११ ले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बिहीबार) आफ्नो दोस्रो खेल खेल्दै छ ।
पहिलो खेलमा ललितपुर प्याट्रियट्समाथि ७ विकेटको जित निकालेको काठमाडौं आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ ।
त्रिवि क्रिकेट मैदानमा हुने काठमाडौं र चितवन टाइगर्सबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । काठमाडौं आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भवानालाई बलियो बनाउने योजनामा रहेको छ ।
सन्दीपको कप्तानीमा रहेको काठमाडौं प्रतियोगिताको उपाधि दावेदार टोली हो ।
यता, चितवन पनि आफ्नो दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा विराटनगरलाई हराएको चितवन आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको अघिल्लो चरण प्रवेशलाई केही सहज बनाउने योजनामा छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवनले पनि १ खेलमा २ अंक जोडेको छ ।
आज नै हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ । तालिकाको शीर्ष स्थानमा रहेको भैरहवा आजको खेलमा सहज जित निकाल्ने योजनामा छ ।
आजको खेलमा जित निकाल्न सके भैरहवाको अघिल्लो चरण प्रवेश बलियो बन्नेछ । त्यसपछि भैरहवाले एक खेलमा जित निकाले पुग्नेछ ।
भैरहवाले २ खेलबाट ३ अंक जोडेको छ । शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले अघिल्लो खेलमा विराटनगर वारियर्समाथि ७ विकेटको जित निकालेको थियो ।
भैरहवाले प्रतियोगिताको पहिलो खेलमा पोखरासँग अंक बाडेको थियो । यता, ललितपुर भने पहिलो जितको खोजीमा हुनेछ ।
तालिकाको पुछारमा रहेको ललितपुरले यसअघिका दुई खेलमा हार व्यहोरेको छ । कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावनालाई जोगाइराख्ने योजनामा छ ।
भैरहवा र ललितपुरबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।
प्रतिक्रिया