काठमाडौं । दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज माल्दिभ्ससँग खेल्दैछ । यसको सदाबहार दाबेदारमध्ये एक हो, नेपाल । तर, प्रतियोगिताको तेह्रौँ संस्करणसम्म आइपुग्दा नेपालले साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । यसपटक पनि नेपाल उपाधिको दाबेदारीसहित माल्दिभ्समा छ ।
प्रतियोगिताको पहिलो दिन नै नेपालले आयोजक माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्स नेसन्स फुटबल स्टेडियममा हुने नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बाट सुरु हुनेछ ।
माल्दिभ्स पनि दक्षिण एसियाली फुटबलको अर्को ‘पावरहाउस’ हो । माल्दिभ्सले तीनपटक यस प्रतियोगिताको उपाधि जितिसकेको छ । जुन सबैभन्दा धेरै जित्ने भारतको भन्दा एक कम हो । भारतले चारपटक उपाधि जितिसकेको छ ।
साफ च्याम्पियनसिप नजित्नेमा नेपाल, पाकिस्तान र भुटान हुन् । तर, यस संस्करणमा पाकिस्तान र भुटानले सहभागिता जनाएका छैनन् । पाकिस्तान फिफाबाट निलम्बनमा छ । भुटानले भने कोभिड–१९ का कारण सहभागिता नजनाएको हो । त्यसकारण माल्दिभ्समा उपाधि नजित्ने नेपाल एक्लो टिम हो ।
नेपालले उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल सहायक प्रशिक्षक किरण श्रेष्ठले घरेलु टोलीलाई हराउँदै प्रतियोगिताको सुरुआत गर्ने विश्वास व्यक्त गरेका छन् ।
“यस प्रतियोगितामा हामीले अहिलेसम्मकै राम्रो तयारी गरेका छौँ । यस संस्करणमा माल्दिभ्स र भारत हाम्रो मुख्य प्रतिद्वन्द्वी हो,” प्रतियोगिता अगाडिको पत्रकार सम्मेलनमा श्रेष्ठले भने, “माल्दिभ्ससँग पुरानो इतिहास बिर्सदै जितका लागि खेल्नेछौँ । घरेलु टोलीलाई हराउँदै हामी प्रतियोगितामा राम्रो सुरुआत गर्नेछौँ ।’’
पछिल्लो समय मल्दिभ्सविरुद्ध नेपालको प्रदर्शन बिर्सनलायक छ । पछिल्ला १० खेलमा नेपालले माल्दिभ्सलाई एक खेलमा मात्र जितेको छ । सात खेल हारेको छ भने दुईमा बराबरी खेलेको छ । पछिल्लो पाँच खेलमा एक खेल पनि जित्न सकेको छैन ।
आजको खेलमा पनि आयोजक माल्दिभ्सलाई घरेलु दर्शकको साथ रहनेछ । फुटबलमा दर्शकलाई १२औँ खेलाडीको रूपमा लिइन्छ । तर, नेपालका कप्तान किरण चेमजोङले माल्दिभ्सलाई घरेलु दर्शकको साथ भए पनि आफूहरूलाई त्यसले फरक नपार्ने बताए ।
“पक्कै पनि उनीहरूलाई घरेलु समर्थकको साथ छ । हामीलाई यसले केही फरक पार्दैन । हामी गोर्खाली हौँ । हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै इतिहास रचेका छौँ । कसैसँग डराउँदैनौँ । हामी सबैसँग लड्छौँ,” नेपालका कप्तान चेमजोङले भने, “माल्दिभ्सका समर्थकलाई हामी सम्मान गर्छाैँ । हामी राम्रो नतिजाका लागि लड्नेछौँ । आशा छ त्यसमा सफल हुनेछौँ ।”
पाँच टोलीमात्र भएका कारण यसपटक राउन्डरोबिन पद्धतीमा प्रतियोगिता खेलाइनेछ । पाँच टोलीले समूह चरणमा सबैसँग एकपटक प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यसकारण पनि नेपालका लागि हरेक खेल महत्वपूर्ण हुनेछ । किरण चेमजोङ पनि त्यही भन्छन्, ‘‘हाम्रो प्रत्येक खेल महत्वपूर्ण छन् । प्रत्येक खेल जित्नुपर्छ । हामी त्यसैका लागि खेल्नेछौँ । हाम्रो लक्ष्य कम्तीमा फाइनल खेल्नु हो ।’’
शुक्रबार नै हुने अर्काे खेलमा बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया