मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको विधान महाधिवेशन शुरु, मुख्य मञ्चमा देखिएन पुष्पलाल, मदन र मनमोहनको तस्वीर

एमालेको विधान महाधिवेशन शुरु, मुख्य मञ्चमा देखिएन पुष्पलाल, मदन र मनमोहनको तस्वीर


काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा विधान महाधिवेशन शुरु भएको हो ।

महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन । एमालेले आफ्ना कार्यक्रमहरुमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको ठूला तस्वीर राख्ने गर्दथ्यो ।

विधान महाधिवेशनको हलको मुख्य मञ्चमा यी तस्वीर राखिएको छैन । बीचमा चुनाव चिह्न सूर्य छ भने दायाँ–बायाँ नेपालको राष्ट्रिय झण्डा राखिएको छ । हलभित्र ‘जनताको बहुदलीय जनवाद’ लेखिएको अर्को एक ब्यानरको बायाँतर्फको कुनामा भने पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्वीर देखिन्छ ।

महाधिवेशनस्थल सम्मेलन केन्द्र परिसरका ठाउँठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पूर्ण कदको मस्कट राखिएको छ ।

विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।

शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित हुनेछन् । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेको राष्ट्रिय महाधिवेशन भने आगामी मंसिरमा हुनेछ ।