काठमाडौं– नेपाली राजनीतिमा सर्वाधिक उँचो कद बनाउन सफल नेता बीपी कोइरालालाई आफू जिवित छँदै कांग्रेसको इतिहास लेखिसक्ने चाहना थियो। राजनीति र साहित्यमा उत्तिकै योगदान दिएर नेपाल र नेपालीलाई गुन लगाएका बीपी कांग्रेसको इतिहास लेख्न नपाउँदै परलोक भए। धेरै किताब लेख्ने चाहना राख्दा राख्दै बीपीको जीवन सकियो।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले पिताजी कृष्णप्रसाद कोइरालालाई देश निकाला गरेपछि बीपीको परिवारले १२ वर्ष भारत प्रवासमा बिताउनु पर्यो। अंग्रेज विरुद्व महात्मा गान्धीले चलाएको स्वतन्त्रता आन्दोलनले गति लिइरहँदा बीपीको राजनीतिक प्रशिक्षण शुरु भयो।
भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन हटाउन सकिँदैन भन्ने बीपीको बुझाइ थियो। स्वतन्त्रता आन्दोलनका क्रममा पक्राउ परि उनले तीन वर्ष भारतीय जेलमा बिताए। आफू रिहा भएकै दिन बीपीले यता काठमाडौंमा राणाहरुले बन्दी बनाएका पिताजीको मृत्युको खबर सुन्नुपर्यो। यो घटनाले उनलाई राजनीति गर्न झनै प्ररित बनायो। अनि २००३ सालमा ३२ वर्षको उमेरमै नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी राणा विरुद्व आन्दोलनको योजना बनाए।
राजनीतिक रुपमा बिभिन्न उतारचढाव खेपेका बीपीलाई राजाले प्रजातन्त्र अपहरण गरी आठ वर्ष सुन्दरीजल वन्दीगृहमा नपठाएको भए राजनीतिक व्यस्तता कारण सायद उनीबाट यति धेरै कृति लेख्न सम्भव थिएन। राजनीतिमा बीपीका नामले परिचित साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश कृति उनी सुन्दरीजल वन्दीगृहमा रहँदाकै उपलव्धी हुन्।
बीपी आफ्नो डायरीमा लेख्छन्,
सेप्टेम्बर १८, १९६२ (२०१९ असोज २)
मैले जीवनका ४८ वर्ष पूरा गरेँ। तर पनि कुनै विशेष उपलव्धी आर्जन गर्न सकेको छैन। मैले कारागारमा यी पुस्तकहरू लेख्नु छः १९५० को आन्दोलन, नेपालको इतिहास, समाजवाद, शैलजा, उपन्यास, सुशीला, विज्ञानमाथि पुस्तक, प्रकाश, कला, श्रीहर्ष, परीकथा, सशाङक र बहिनी, साहित्य, कुन्दन, विश्वको इतिहास, आत्मवृत्तान्त।गणेशमानसँग बीपीबीपीका प्रकाशित यी कृतिहरु पाठकले सर्वाधिक रुचाएका किताबको सूचीमा छन्- मेरो कथा, आत्मवृत्तान्त, जेल जर्नल, फेरी सुन्दरीजल, मोदी आइन्, नरेन्द्र दाइ, हिटलर र यहुदी, सुम्निमा, दोषी चम्मा, बाबु आमा र छोरा,श्वेत भैरवी।
राणाकालमै बीपी क्यान्सर पीडित थिए। बम्बईमा उपचार गराएर फर्किएपछिका दिनमा राजनीतिक सकृयता यति बढ्यो कि लेखनलाई समय दिनै पाएनन्। गृहमन्त्री भएसँगै बढेको राजनीतिक सकृयता प्रधानमन्त्री भएर अपदस्त नहुँदासम्म कायमै रह्यो। सुन्दरीजलमा बन्दी हुँदा लेखेका प्राय कृति प्रकाशित छन्।
२०२५ सालमा सुन्दरीजलवाट छुटेको केही समयपछि नेपालमा वसेर राजनीति गर्न सम्भव नहुने निष्कर्षका साथ उनी भारत प्रवास गए। आठ वर्ष प्रवासमा रहेर निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि सशस्त्र क्रान्ति चलाए।
राजनीतिक रुपमा बिभिन्न उतारचढाव खेपेका बीपीलाई राजाले प्रजातन्त्र अपहरण गरी आठ वर्ष सुन्दरीजल वन्दीगृहमा नपठाएको भए राजनीतिक व्यस्तता कारण सायद उनीबाट यति धेरै कृति लेख्न सम्भव थिएन।
सन् १९७० को दशकमा सिंगो दक्षिण एसियामा फैलिएको राजनीतिक अस्थिरता र अनी भारतमा इन्दिरा गान्धीले चलाएको तानाशाही शासनका कारण नेपालको स्वतन्त्रता गुम्ने डरले बीपीलाई चिन्तित बनाइरहेको थियो। तिनैताका भारत सरकारले नेपाली कांग्रेसका गतिविधिलाई सिमा भन्दा पचास माइल पर सिमित गर्न आदेश दियो। त्यति मात्र होइन, प्रजातन्त्रका पक्षमा वातावरण वनाउन सकिन्छ कि भनेर प्रवास गएका बीपीलाई कुनै गतिविधि बन्देज लगाउन थालियो।
ती दिन यता नेपालको अदालतमा बीपी विरुद्व जहाज अपहरण गरेको, ओखलढुंगा कब्जाका लागि सैन्य दस्ता पठाएको लगायत आठ वटा राजकाज मुद्वा विचाराधिन थिए। सबै मुद्दामा मृत्युदण्ड मागदावी गरिएको थियो।
पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकसँगको लामो छलफल पछि बीपी राष्ट्रि«य एकता तथा मेलमिलापको नीति सहित २०३३ साल पुष १६ गते स्वदेश फर्किने निष्कर्षमा पुगे। पटनाबाट काठमाडौं विमानस्थलमा ओर्लिन नपाउँदै छ सहकर्मीका साथ बीपीलाई वन्दी बनाई फेरी सुन्दरीजलमै पुर्याइयो।
यसरी बीपीले फेरि लेख्ने समय पाए। पर्याप्त समय पाएपनि कागज उपलव्ध नगराउने जेल प्रशासनको निर्णयले उनलाई झनै चिन्तित बनायो।
बीपी आफैंले लेखेका छन्
सुन्दरीजल
पृष्ठः ४९
८ फेब्रुअरी १९७७ (२०३३ माघ २६)
मैले केही सादा कागज मगाएँ। उनीहरुले छ पन्ना कागज ल्याए। मैले भने मलाई ६ ताउ अर्थात् (६.२४ पन्ना) चाहिन्छ।
क्याप्टेनले माथिको आदेश सुनायो। सैनिक हेडक्वार्टरको विशेष अनुमति विना हामीले लेख्ने कागज पाउने छैनौं रे। जेल प्रशासनको यस्तो व्यवहार देखेर रिस उठ्छ। लेख्ने कागज पाइन भने यहाँ बस्न असह्य हुने छ। लेख्नलाई पत्रिकाहरु प्रयोग गर्ने गणशमानजी (जीएम)को सल्लाह छ। पत्रिकाहरु काटेर अभ्यास पुस्तिकाको आकारमा ल्यायौं। अनी छापिएका पानाहरुका खाली ठाउँमा आफ्नो नोट र विचार लेख्यौं। सम्भवतः हामीले अब त्यसै गर्नु पर्ने छ।
९ फेब्रुअरी १९७७ (२०३३ माघ २७)
पढ्ने किताव नभएपनि म आफ्नो जीवनी लेख्न सक्थेँ। नेपालको प्रजातान्त्रिक संघर्षको इतिहास लेख्न सक्थें (५०)।
जसमा मैले धेरै सकृय र कहिलेकाहीँ त प्रमुख भूमिका निर्वाह गरेको छु। कथाहरु लेख्न अथवा नेपालको समसामयिक, राजनीतिक घटनाका वारेमा उपन्यास लेख्ने प्रयास गर्न सक्थेँ। कागज दिइएन र यदी आफैलें ल्याउन सकेनौ भने जीवन साँच्चिकै अत्यन्त दुष्कर हुने छ। यो एकदम हतासाजनक हुने छ। लेख्नका लागि प्रयोग गर्न भनेर दुई वटा दैनिक पत्रिकाहरु गोरखापत्र र राइजिङ नेपालका छेउछाउका खाली ठाउँहरु काटेर राख्न थालेको छु। कागज बचाउनु पर्ने भएकाले साना साना अक्षरमा लेख्ने गर्छु। यसो गर्दा कागजको धेरै ठाउँ खाँदैन।
मसँग भएका डटपेनका तीन वटा रिफिल छन्। अहिले प्रयोग गरिरहेको यो कलम सहित एक सिसी मसी पनि छ। यो मसी कति दिनलाई पुग्ने हो थाहा छैन (५१)
११ फेब्रुअरी १९७७ (२०३३ माघ २९)
दिउँसो खाजा खाएपछि समय बिताउन साह्रै गाह्रो हुन्छ। एक छिन सुत्न खोजेँ तर सकिनँ। एक्कासी मैले नेपाली कांग्रेसको इतिहास लेख्न शुरु गर्नुपर्छ भन्ने कुरा मनमा आयो। यतातिर लेखकहरुले दिनु पर्ने जति ध्यान दिएकै छैनन्। मैले लेखिनँ भने अरु कसले लेख्छ र? त्यसपछि उठेँ र लेख्न थालेँ। एक हजार शव्द जति लेखेँछु।
लेख्ने कागज ज्यादै थोरै भएकाले हामीलाई दिइएका पत्रपत्रिकाहरुका एक इञ्च जति चौडा छेउछाउको लामो खाली ठाउँ काटेर रोखेको छु। कागजका यी लामा टुक्राहरुमा नेपाली कांग्रेसको इतिहास लेखिँदैछ। लेख्न भनेर बाथरुममा राखिएका ट्वाइलेट पेपरलाई पनि मिलाएर राख्न थालेको छु। ट्वाइलेट पेपरको चक्का कोठामा ल्याएर अमूल्य वस्तु जस्तै दराजमा मिलाएर राख्न थालेको छु। ट्वाइलेट पेपर एकदम पातलो हुन्छ। यसमा लेख्न मिल्दैन। त्यसमा लेख्न मिले पनि डटपेनले मात्र मिल्ला। लेख्नमा आफूलाई अभ्यस्त बनाउन सकेँ भने दिमाग खल्वल्याउने खिन्नता हुने छैन (५४)
दिउँसो खाजा खाएपछि समय बिताउन साह्रै गाह्रो हुन्छ। एक छिन सुत्न खोजेँ तर सकिनँ। एक्कासी मैले नेपाली कांग्रेसको इतिहास लेख्न शुरु गर्नुपर्छ भन्ने कुरा मनमा आयो। यतातिर लेखकहरुले दिनु पर्ने जति ध्यान दिएकै छैनन्। मैले लेखिनँ भने अरु कसले लेख्छ र? त्यसपछि उठेँ र लेख्न थालेँ।
कांग्रेसको इतिहास लेख्नुपर्छ भन्ने विचारले मलाई आफ्नो जिवनी लेख्न पनि प्रेरित गरेको छ। सन् १९५०–१९५९ को क्रान्तिका विषयमा एउटा उपन्यास लेख्ने विचार पनि गरेको छु। यी सबै किताव तीन तीन सय पेजका गरी नौ सय पेजका हुने छन् (५४)
बीपी सुन्दरीजल वन्दीगृहमा छँदैको कुरा हो। न्यायाधिश जनकमान श्रेष्ठको अध्यक्षतामा गठित विशेष अदालतमा उनीमाथिका आठ वटा राजाकाज मुद्दामा सुनुवाइ चलिरहेकै थियो।
बीपीको स्वास्थ्य बिग्रँदै थियो। उचारमा संलग्न चिकित्सकहरुले अमेरिका वा बेलायतको कुनै सुविधासम्पन्न अस्पतालमा उपचार नगराउने हो भने बीपीको ज्यान जान सक्ने वा प्यारालाइसिस हुन सक्ने रिपोर्ट राजा वीरेन्द्रलाई दिए। यसरी राजाको आदेशमा उपचारका लागि उनलाई रिहा गरी अमेरिका पठाइयो, फर्किएपछि पुनः बन्दी वनाउने सर्तका साथ।
तीन महिनाको उपचारपछि पटना हुँदै स्वदेश फर्किने वेला बीपीले नेपाली कांग्रेसको सम्मेलन बोलाए र त्यही कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए। काठमाडौं पुग्नासाथ त्रिभुवन विमानस्थलबाटै गिरफ्तार गरी उनलाई फेरि बन्दी बनाइयो।
यसबीच विशेष अदालतले अधिकांश मुद्दामा बीपीलाई सफाइ दिइसकेको थियो। २०३६ तिर आइपुग्दा विद्यार्थी आन्दोलन चर्किएर गयो। अनि बीपीसँगको परामर्शमा बहुदल र निर्दल मध्ये कुनै एक रोज्ने अधिकार जनतालाई दिने गरी राजा वीरेन्द्रबाट जनमत संग्रह घोषणा भयो।
तर पञ्चहरुले धाँधली गरी वहुदल पक्षलाई हराइदिए। गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई सहितका आफ्नै सहयात्री, वामपन्थी दल र बौद्विक समुदायबाट जनमत संग्रहको परिणाम अस्वीकार गर्न बीपीमाथि तीव्र दबाब परेको थियो। तर उनले जतिसुकै अप्रिय भएपनि स्वीकार्ने मतपरिणाम स्वीकार्ने वक्तव्य जारी गरिदिए।
जनमत संग्रहपछिका दिनमा बीपीको स्वास्थ्य अत्यन्त कमजोर थियो, केवल आत्मबलका भरमा बाँचिरहेका थिए। क्यान्सरको अन्तिम आक्रमण फोक्सोमा भएपछि छ महिना भित्र मृत्यु हुन सक्ने निदान चिकित्सकहरुले गरिसकेका थिए। त्यही अवस्थामा बीपीले वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँग आफ्नो जीवनी रेकर्ड गराउन थाले। जुन बीपीको आत्मवृत्तान्तका नाममा प्रकाशित छ। बाँकी इतिहास सुनाउन नपाउँदै २०३९ साल साउन ६ गते ६८ वर्षको उमेरमा बीपीको निधन भएसँगै कांग्रेसको इतिहास लेख्ने उनको सपना पनि साकार हुन पाएन। – नेपालसमय
प्रतिक्रिया