मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको लगातार दोस्रो जित, श्रीलंका ३–२ ले पराजित

नेपालको लगातार दोस्रो जित, श्रीलंका ३–२ ले पराजित


काठमाडौं । सुमन लामा, अञ्जन विष्ट र आयुष घलानको गोलमा नेपालले आज साफ च्याम्पियनसिपमा श्रीलंकालाई ३–२ ले हराएको छ । लगातार दोस्रो जितसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ ।

दुई खेलबाट ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा छ । समान खेलबाट चार अंक जोडेको बंगालदेश दोस्रो स्थानमा छ । एक अंक जोडेको भारत तेस्रो, माल्दिभ्स चौथो र श्रीलंका पाँचौँ स्थानमा छ ।

‘काउन्टर अट्याक’को रणनीतिमा उत्रिएको नेपालले ३३औँ मिनेटमा सुमनको गोलबाट अग्रता लिएको थियो । नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आजको सुजल श्रेष्ठको स्थानमा सुमनलाई मौका दिएका थिए । सुमनले पाएको मौकामा आफुलाई प्रमाणित गरे ।

पहिलो हाफमा एक शून्यको अग्रता लिएको नेपालका अञ्जनले ५१औँ मिनेटमा अग्रता दोब्बर बनाए । वैकल्पिक खेलाडी आयुष घलानले दिएको ‘ब्याकपास’मा नवयुग श्रेष्ठले हानेको प्रहार श्रीलंकाका गोलकिपर सुजन परेराले बचाएका थिए । तर, रिबाउन्डमा प्राप्त बललाई अञ्जन विष्टले कुनै गल्ती नगरी पोस्टको दिशा दिएका हुन् । आयुष दोस्रो हाफको सुरुमै विशाल राईको स्थानमा मैदान छिरेका थिए । आयुष मैदान छिर्ने बित्तिकै आफ्नो प्रभाव छाड्न सफल भए ।

मार्भिन ह्यामिल्टनले ५७औँ मिनेटमा गरेको गोलबाट श्रीलंकाले पुनरागमनको प्रयास गरेको गर्‍यो । तर, पाएका केही राम्रा गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा श्रीलंकाले बराबरी गोल गर्ने अवसर खेर फाल्यो । ह्यामिल्टनले दायाँ खुट्टाले पहिलो बार च्यापेर हानेको लामो प्रहारलाई नेपालका गोलकिपर किरण चेमजोङले बचाएन सकेनन् ।

खेल सकिन चार मिनेट बाँकी हुँदा वैकल्पिक खेलाडी आयुषले अर्को गोल थपिदिएपछि नेपालको जित पक्काजस्तै भएको थियो । आयुषले तेज तामाङको क्रसलाई नियन्त्रणमा लिँदै गोल गरेका हुन् ।

श्रीलंकाले इन्जुरीमा समयमा नेपालमाथि दबाव बढाएको थियो । त्यहीबेला श्रीलंकाले पेनाल्टी अवसर पायो । त्यसमा डिलोन डी सिल्भाले कुनै गल्ती नगरी गोल गरे । तर, त्यतिबेलासम्म श्रीलंकालाई खेलमा फर्किन धेरै ढिला भइसकेको थियो ।

त्यसअघि ५९औँ मिनेटमा श्रीलंकाका मिगाला चालाना चमीराले हानेको प्रहार नेपालका रक्षक सुमन अर्यालले गोललाइनबाट बचाएका थिए ।

४६औँ मिनेटमा पाएको फ्रिकिकमा नेपालका अञ्जन विष्टले हानेको प्रहार श्रीलंकाका गोलकिपरले मुश्किलले बचाएका थिए । ६३औँ मिनेटमा प्रशिक्षक अल्मुताइरीले सुमन लामाको स्थानमा सन्तोष तामाङ, नवयुग श्रेष्ठको स्थानमा मनिष डाँगी मैदान छिराए ।

सन्तोष ६७औँ मिनेटमा ‘वान भर्सेस वान’मा गोल गर्न चुके । त्यसै बलमा मनिषले हेडमार्फत दिएको पासमा आयुषले हानेको प्रहार पनि श्रीलंकाका गोलकिपर परेराले बचाइदिएका थिए । ७४औँ मिनेटमा मनिष डाँगीले पनि गोलको राम्रो अवसर खेर फाले । त्यस लगत्तै पाएको अर्को अवसरमा आयुष पनि गोल गर्न असफल भए । अञ्जनले वायाँ विंग्सबाट गरेको क्रममा आयुषले ६ यार्ड बक्सबाट हानेको हेडिङले पोष्टका दिशा लिन सकेन ।

आजको खेलमा नेपालका अञ्जन विष्ट ‘म्यान अफ द’ म्याच बने ।

नेपालले पहिलो खेलमा पनि आयोजक माल्दिभ्सलाई १–० ले हराएको थियो । माल्दिभ्सविरुद्धको खेलेको टोलीमा नेपालले आज दुई खेलाडी परिवर्तन गरेको थियो । दिनेश राजवंशीको स्थानमा विशाल राई र सुजलको स्थानमा सुमनलाई मौका दिएका थिए ।

आजै सम्पन्न पहिलो खेलमा दश खेलाडीमा सिमित बनेको बंगालदेशले भारतलाई १–१ को बराबरीमा रोकेको थियो ।