मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्बन उतर्सजनमा नेपाल: भूमिका कम, क्षति बढी

कार्बन उतर्सजनमा नेपाल: भूमिका कम, क्षति बढी


काठमाडौं- नेपाल सरकारका पूर्व सचिव तथा सहरी विकास विज्ञ किशोर थापाले कार्बन उत्सर्जनमा नेपालको धेरै भूमिका नभएपनि त्यसको नकारात्मक परिणामबाट पीडित भएकाले यसबारे विश्वमञ्‍चहरुमा नेपालले आवाज उठाउनुपर्ने बताएका छन्। 

विश्व बसोबास दिवस २०२१ को सन्दर्भमा सोमबार सहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको कार्यक्रमपछि पूर्व सचिव तथा सहरी विकास विज्ञ थापाले संसारका विकसित देशको तुलनामा नेपालले कम कार्बन उत्सर्जन गरेपनि नेपाल यसबाट हुने जलवायु परिवर्तनको चपेटामा परेको बताए। 

नेपाल जलवायु परिवर्तनबाट पीडित भएको सन्दर्भमा विश्व मञ्‍चहरुमा आवाज उठाउनुपर्ने उनले बताए। त्यस्तै नेपालमा पनि कार्बन उत्सर्जन न्यूनीकरण गर्न ध्यान दिनुपर्ने उनले बताए। पूर्वसचिव थापाले छिमेकी मुलुक चीन र भारत संसारकै बढी कार्बन उत्सर्जन गर्ने मुलुकमा पर्ने भन्दै यी छिमेकी मुलुकसँग वार्ता गर्दा जलवायु परिवर्तनको एजेण्डा बनाउनुपर्ने बताए। उनले भने, ‘सहरी क्षेत्रमा फोहोरमैलाको व्यवस्थापन नहुँदा, यातायात प्रणाली व्यवस्थित नहुँदा र उपभोक्तावादी जीवनशैली बढीरहेको छ, त्यसले पनि हाम्रो राष्ट्रियस्तरमा कार्बन उत्सर्जन बढेको छ। त्यसमा पुर्नविचार गर्नुपर्छ। भारत र चीन संसारकै बढी कार्बन उत्सर्जन गर्ने मुलुकमा पर्छन्। छिमेकीसँग वार्ता गर्दा जलवायु परिवर्तनको विषय हाम्रो एजेण्डा हुनुपर्ने भइसक्यो।’

उनले जलवायु परिवर्तनका कारणले घटेका विभिन्‍न विपत्‌का घटनाहरुबाट पाठ सिक्दै आगामी दिनमा योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने बताए। कार्यक्रममा बोल्दै सहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले कार्बन उत्सर्जन घटाउनका लागि सबैले ध्यान पुर्‍याउनुपर्ने बताए। फोहोरमैला व्यवस्थापन गर्ने, इन्धनको प्रयोगलाई घटाउने, सवारी साधनको प्रयोग घटाउने र भवन निर्माणको प्रक्रियालाई व्यवस्थित बनाउन सके कार्बन उत्सर्जन घट्ने उनको धारणा छ। 

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्परमण वाग्लेले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा छरिएर रहेको बजेटलाई एकै ठाउँ केन्द्रीकृत गरी व्यवस्थित सहर बनाउनुपर्नेमा जोड दिए। फोहोरमैला, यातायात, खानेपानीको व्यवस्थापन गर्दै प्रदुषण कम गर्ने योजनासहित अगाडि बढ्नुपर्ने उनले बताए। घरबाट निस्कने फोहोरमैलालाई उचित व्यवस्थापन गरे कार्बन उत्सर्जनलाई कम गर्न सकिने उनको भनाई छ।

यूएन ह्याबिट्याटकी कार्यक्रम प्रमुख प्रज्ञा प्रधानले विकास साझेदार संस्थाहरुले आगामी दिनमा हरित पुर्नउत्थानलाई प्राथमिकता दिएर कार्यक्रमहरु निर्धारण गर्ने बताए। नेपालमा हुने विकासका कार्यक्रमहरुले वातावरणमा हुने प्रभावलाई न्यूनिकरण गर्नुपर्ने उनको भनाइ छ। 

सन् १९८६ देखि हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमबारको दिन विश्व बसोबास दिवसका रुपमा मनाउने गरिएको छ। यस वर्ष पनि सोमबार ‘तीव्र शहरी क्रियाकलापको लक्ष्य: कार्बनरहित विश्व’ नारा तय गरी मनाइएको छ। – नेपालसमय