रमेश रावत, विनायक ।
नेपाली काँग्रेसका जिल्ला स्थित शीर्ष नेताहरू सँग कार्यकर्ताले काँग्रेस चुनाव हार्नुको कारण सोधेका छन् । पार्टीको पञ्चदेवल विनायक नगर कार्य समितिको पहिलो बैठकमा सहभागी कार्यकर्ता तथा जिल्ला तहका नेताहरुले काँग्रेसले २२ वर्ष सम्म आम चुनाव हार्नुमा जिल्ला स्थित शीर्ष नेताको दोष रहेको औल्याएका हुन ।
जिल्लाका नेता तथा प्रतिनिधि सभा सदस्य राम बहादुर विष्ट, पुर्व पार्टी सभापति पुष्प बहादुर शाह, महासमिति सदस्य देवराज देवकोटा, बल बहादुर कुँवर, अम्बिका चलाउने लगायतका शीर्ष नेता सहभागी कार्यक्रममा युवा पंतिले काँग्रेस हार्नुको दोष नेताहरूले लिनुपर्ने धारणा राखेका हुन ।
उनीहरूले काँग्रेस हार्नुमा नेताहरूले एकले अर्कालाई असहयोग गर्ने गरेकै कारण काँग्रेस हार्ने गरेको आरोप लगाए । तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुस्पराज शर्माले ठुला नेताले टोल टोलमा गएर गुट बनाउनु दुखद रहेको बताए । जिल्ला कार्यसमिति सदस्य नवराज चलाउनेले पार्टी अन्तघातको कारण चुनावमा हार्नुपरेको बताए ।
यस्तै जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य टेक बहादुर शाहीले पार्टी उम्मेद्धारका विरुद्ध खुलेआम प्रचार गर्ने गरेको आरोप लगाए । जिल्ला कार्यसमिति सहसचिव तथा प्रवक्ता वेदप्रकाश तिमिल्सैनाले जसरी नेताहरू आन्तरिक चुनावमा खटिन्छन् त्यसरी नै आम निर्वाचनमा खटिनुपर्ने बताए ।
१४ औँ महाधिवेशनमा केही पालिकामा चुनाव गराएको र चुनाव गराउनेमा प्रमुख नेताहरूकै भूमिका रहेको भन्दै कार्यकर्ताले आक्रोश पोखेका हुन । जिल्लाको पञ्च देवल विनायक नगरपालिका, साँफेबगर नगरपालिका र तुर्माखाद गाउँपालिकामा निर्वाचन भएको हो ।
पार्टीभित्रको आन्तरिक चुनाव भड्किलो भएको र आम निर्वाचन भन्दा धेरै आर्थिक चलखेल भएको तर्फ कार्यकर्ताले नेताहरूको ध्यानाकर्षण गराएका हुन । पार्टीबाट टिकट लिएर चुनाव लडेका नेताहरू राम बहादुर विष्ट, पुष्प बहादुर शाह, बल बहादुर कुँवर, सुरत बहादुर विष्टलेपनी घुमाउरो पारामा आफूहरू चुनावमा जाँदा नेताहरूको असहयोग भएको बताएका थिए ।
काँग्रेसले विगत २२ वर्ष यताको निर्वाचनमा अछाम २ मा हार व्यहोर्दै आएको छ । नेता तथा कार्यकर्ताहरूले आम चुनावमा एक ठाउँमा आए काँग्रेसले चुनाव जित्न समस्या नरहेको बताएका थिए ।
राम बहादुर बिष्ट
कार्यक्रमको प्रमुख अतिथि रहनुभएका नेता तथा सांसद विष्टले आफू बेलाबेला हार्नु परेको बताउँदै आगामी दिनमा पार्टिनेताहरुले काँग्रेस जुनसुकै उम्मेद्धारहरुलाई जिताउन लाग्नुपर्ने बताए ।
पुस्पबहादुर शाह
पुर्व जिल्ला सभापति शाहले २०७४को निर्वाचनमा हार व्यहोर्नु परेको थियो । उनले भने ‘हाम्रो भन्दा धेरै चुनाव राम बहादुर दाइले लड्नु भएको छ । हारको अनुभव पनि धेरै छ । उहाँले सुनाउनु होला ।’ शाहले पार्टी नेता मा सुधार आएन भने कार्यकर्तामा राम्रो सन्देश नजाने तर्क गरे ।
देवराज देवकोटा
जिल्लामा पुराना नेताको छाप बनाएका महासमिति सदस्य देवकोटाले कार्यकर्ताले उठाएको कुरामा खासै वास्ता गरेनन् । उनले अर्का नेता बल बहादुर कुँवरले उठाएको कुरामा जोड दिदै आम कार्यकर्ताले गरेको हरेक काममा नेतालाई जोड्न नहुने बताए । नेता कुँवरले कार्यक्रममा नगर कार्यसमितिको निर्वाचनमा देवकोटाको कित्तामा रहेर चुनाव लडेका र पराजित भएका हर्क बहादुर रावल कार्यक्रममा सहभागी नभएको बताएका थिए ।
बल बहादुर कुँवर
महासमिति सदस्य कुँवर पार्टीबाट उम्मेद्धार बनेर पटक पटक हार व्यहोरेका नेता हुन । उनले भने ‘नेताहरूकै कारण हार्दा हार्दै आजित भैसके’ । महासमिति सदस्य देवराज देवकोटा तर्फ गुनासो गर्दे उनले २ नम्बर क्षेत्रमा काँग्रेस राजनीतिको गुरु विनायक क्षेत्र भएको तर विनायक बाट राम्रा अध्यास नभएको बताए ।
अम्बिका चलाउने
विद्यार्थी राजनीतिमा स्थापित महासमिति सदस्य चलाउने नेपाल विद्यार्थी संघको निवर्तमान सहमहामन्त्रि हुन । उनले आफ्नो मन्तव्यका क्रममा पार्टीमा युवा महिला तथा दलित समुदायको प्रतिनिधित्व तर्फ नेताहरू गम्भीर बन्नुपर्ने बताइन् ।
यस अघिका निर्वाचनमा सबै उम्मेद्धवारलाई जिताउन रातदिन नभनी काम गरेको बताउँदै उनले अन्तर्घात गर्नेहरूको पार्टीमा लामो भविष्य नहुने बताइन् । पछिल्लो समयमा पार्टीमा युवा तथा तरुणहरूको आकर्षण बढेको भन्दै उनले युवाहरूलाई भूमिका दिनुपर्ने बताइन् ।
सोमबार भएको कार्यक्रममा माओवादी केन्द्र, एमाले र विप्लव नेतृत्वको नेकपाका करिब २ दर्जन बढी नेताकार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । नव निर्वाचित सभापति सज्जन बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव प्रजापति जैसीले गरेका हुन ।




















प्रतिक्रिया