काठमाण्डाै – विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकको दक्षिण एसियाली आर्थिक प्रतिवेदनले सन् २०२१ जुलाईदेखि २०२२ जुलाईसम्मको अवधिमा नेपालले तीन दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने प्रक्षेपण गरेको हो ।
यसअघि नेपालको आर्थिक वृद्धि दर अघिल्लो वर्षको भन्दा सुधार नहुने जनाएको विश्व बैंकले नेपालमा कोरोनाविरुद्धको खोपको उपलब्धता, रेमिट्यान्स र पर्यटन क्षेत्रमा देखिएको सुधारको सङ्केतले आर्थिक वृद्धि दर पनि बढ्न सक्ने अनुमान गरेको हो ।
गएको वर्ष नेपालले जम्मा एक दशमलव आठ प्रतिशत आर्थिक वृद्धि दर हासिल गरेको विश्व बैंकको भनाइ छ । चालु आर्थिक वर्ष नेपाल सरकारले भने सात प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य राखेको छ ।
दक्षिण एसियाली देशहरूमा यो वर्ष औसतमा सात दशमलव एक प्रतिशत आर्थिक वृद्धि रहने विश्व बैंकको अनुमान छ । सबैभन्दा धेरै माल्दिभ्सको ११ प्रतिशत, भारतको साढे सात र बङ्गलादेशकाे ६ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि रहने विश्व बैंकको अनुमान छ ।
प्रतिक्रिया