काठमाडौं । भीम सार्कीको ६३ रन तथा कमलसिंह ऐरीको चार विकेटप्रेरित चितवन टाइगर्सले पोखरा राइनोजलाई चार विकेटले हराउँदै एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रन बनाएको थियो । ११२ रनको लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
योसँगै चितवन पहिलोपटक उपाधि जित्न सफल भयो । पोखराले पनि पहिलोपटक ईपीएलको फाइनल खेलेको हो । यसअघि, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स र पञ्चकन्या तेजले उपाधि जितेका थिए ।
११२ रनको लक्ष्य पछ्याएको चितवले चार ओभरमा २० रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । तर, भीमले चितवनको इनिङ्स उकासे । ४५ बलमा सात चौका र दुई छक्कासहित ६३ रन बनाएका उनले दीलिप नाथसँग चौथो विकेटका लागि ५४ रनको साझेदारी गरे ।
त्यसपछि राजेश पुलामीसँग पाँचौँ विकेटका लागि २३ रनको साझेदारी गरेका भीमले सेकुज प्रशन्नसँग छैटौँ विकेटका लागि १३ रनको साझेदारी गरे । दीलिप नाथले १८ रन बनाउँदा राजेश पुलामीले १४ रन बनाए ।
कप्तान सोमपाल कामी चार र प्रशन्न एक रनमा अविजित रहे । त्यसअघि, मोहम्मद शेहजादले ११ रन बनाएका थिए ।
पोखराका किशोर महतोले चार तथा नन्दन यादवले दुई विकेट लिए ।
आज पोखराका एसेला गुणरत्नेले सबभन्दा धेरै ३४ रन बनाएका थिए । रिचार्ड लेभीले २६, कप्तान विनाद भण्डारीले २२ र विपीन रावलले १७ रन बनाउनुबाहेक पोखराका अरू ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
चितवनका कमलसिंह ऐरीले चार विकेट लिए । करिम जनत र सेकुज प्रसन्नले समान दुई विकेट लिँदा सोमपाल कामी र सागर ढकालको नाममा एक/एक विकेट रह्यो ।
चितवन र पोखरा यसअघि पनि दुईपटक आमने–सामने भएका थिए । दुवै खेलमा पोखराले कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । यसअघि, पनि दुवै खेलमा पहिले ब्याटिङ गरेको पोखराले लिग चरणको खेलमा १२३ र पहिलो क्वालिफायर्समा ६६ रन मात्र बनाउन सकेको थियो ।
आज पनि कमजोर ब्याटिङ प्रदर्शन गर्दा पोखराको पहिलोपटक उपाधि जित्ने सपना पूरा हुन सकेन ।
प्रतिक्रिया