काठमाडौं– नेकपा एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ।
कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा वडा अधिवेशन गर्न लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसारध वडा अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा गर्ने कार्यक्रम छ।
बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरी तयारी गरिएको तामाङले जानकारी दिए।
एमालेको १० औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने कार्यतालिका छ। कात्तिक ६ मा वडा अधिवेशनपछि ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन गरिनेछ।
एमाले विधानअनुसार वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुनेछन्। कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्छ।
प्रतिक्रिया