अछाम । जिल्लाको चौखुट्टे नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ । साँफेबगर सिलगढी सडक खण्ड अंतर्गत मार्कु र चौखुट्टेको बीच सिमानामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
आईतबार राति देखि आएको अविरल वर्षाले पहिरो खसे पछि सडक खण्ड बन्द भएको छ । हिजो धनगढी बाट आएका यात्रु बाहक बस, मालबाहक गाडी साना जिप बाटोमै रोकिएका छन् ।
यता मंगलसेन, जयगढ र साँफेबगर देखि गएका गाडी पनि बाटोमै रोकिएका छन् ।
सडक नखुल्दा समयमै गन्तव्यमा पुग्न कठिनाई भएको छ भने निरन्तरको वर्षाले यात्रुहरुलाई असहज भएको छ ।
त्यस क्षेत्रमा यसअघि पनि पटक पटक पहिरोले सडक अवरुद्ध हुँदै आएको थियो । वर्षा नभए पनि सुख्खा पहिरो खस्न भएकाले सडक अवरुद्ध हुँदै आइरहेको थियो ।
अल्पकालीन रूपमा बाटो खुलाउने काम भइरहे पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।
सडक खुलाउन सडक डिभिजन कार्यालय सँग कुरा गरेर जेसिवि पठाई सकेको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए ।
वर्षाका कारण खुलाउन असहज भइरहेको उनको भनाइ छ । बुधबार पछि पानी रोकिएमा दीर्घकालीन समाधान का लागि पहल गरिने उनले बताए ।
उता अल्पकालीन रूपमा सडक खुलाउन आएको जेसिबीको टायर पन्चर हुँदा झन् ढिलाइ भएको छ ।
पन्चर बनाउन टायर साँफेबगर पठाएको र उक्त टायर आएपछि सडक खुलाउन सुरु गरिने बताइएको छ ।
प्रतिक्रिया