मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीपहिरोबाट मृत्‍यु हुनेको संख्या सय नाघ्‍यो, ४० जना घाइते

बाढीपहिरोबाट मृत्‍यु हुनेको संख्या सय नाघ्‍यो, ४० जना घाइते


काठमाडौँ ।  अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।