मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्म सिकाउने राउटेको कथा

कर्म सिकाउने राउटेको कथा


अनन्त वाग्ले लिखित ‘कदम’ राउटेका जीवन, रहनसहन र परिवेशमा आधारित आख्यान हो। राउटे समुदाय आफूलाई ‘जंगलको राजा’ भन्छन्। नेपालको मौलिक जनजीवनभन्दा यो जातिको जीवनशैली फरक छ। फरक भाषा र भेषभूषा छ। खानपान लगायत सांस्कृतिक गतिविधि पनि आफ्नै प्रकारका छन्। तिनै विषयको पृष्ठभूमिमा राउटेको जीवनमा देखापरेका आरोहअवरोहलाई आख्यानकार वाग्लेले जीवन्त रूपमा उतारेका छन्। जून लागेको मध्यरातमा जन्मिएको राउटेको चरित्र नै ‘कदम’ को उपन्यासको मूल विषय हो। 

किताब छोयो भने देउता रिसाउँछन् भन्ने मान्यतालाई राउटेका मुखियाले मलजल गरेका छन्। तर कदमले पढ्ने साहस गरेको छ। केही सिक्ने प्रयास गरेको छ। जिउनका लागि नयाँ कुरा सिक्नुपर्छ भन्ने बोध उसमा छ। 

पढ्नु भनेको अक्षर चिन्नु मात्रै होइन, अक्षरले चिनाउने मानिस, समाज, देश, र प्रकृतिको महत्त्व कुनै वस्तुसँग तुलना गर्न सकिँदैन। राउटे ठान्थे– ‘पढ्ने काम दुनियाँको हो हाम्रो होइन’ त्यो मान्यतालाई कदमले स्वीकार गरेन। काकासँग आरनमा जाँदा सफा लुगामा झोला बोकेर स्कुल हिँडेका बालबालिका देखेर उसले पनि स्कुल जान मन गर्यो र अक्षरको दुनियाँको यात्रा थाल्यो।

यही बेला गुराँस र लेकबेसी गाउँपालिकाले राउटेका बच्चा पढाउन एक दम्पतीलाई शिक्षकमा नियुक्त गरेको थियो। राउटे बालबालिका पढाउन उनीहरुले पनि राउटे जसरी नै फिरन्ते जीवन बिताउनुपर्ने थियो।

मुखिया भन्थे– हामी पढ्ने र जागिर खाने होइनौं। यस्ता मुखियासँग पौंठजोरी गरेर पढाउन नसकिने भएपछि शिक्षक दम्पतीले पढाउने नयाँ जुक्ती निकाले। पढ्न थालेर रमाएको कदमको लक्ष्य थियो, खलासी हुन्छु, ड्राइभर बन्छु र दुनियाँ घुम्छु।

न्याउली वनमा जन्मिएकी न्याउलीको दास्रो सन्तान थियो कदम। भगवान्माथि अगाध आस्था राख्ने न्याउलीको कथा पनि उस्तै कारुणिक छ। न्याउलीमार्फत राउटे महिलाको दुःख आख्यानमा आएको छ।

प्रसव पीडामा चीत्कार गरिरहँदा पनि न्याउलीलाई वास्ता गर्ने कोही भएन। तर उसकी आमा भने छोरीको वेदनाले विह्वल बनिरही। न्याउली इन्तु न चिन्तु भई। दाह्राकिट्तै कदमको रुख समाइरही। बल्ल–बल्ल रगतको आहालमा डुबेर छोरो पाई।  छोरो जन्माएको थाहा पाएपछि न्याउलीका वेदना शान्त भयो।

तर, स्वास्नीको यी सब उतारचढावमा उसको लाग्ने बेखबरझैं देखियो। यद्यपि घोधने राउटी आउँदा गुना (बाँदर) को सुकुटीसहित आयो। स्वास्नीको माया त उसलाई रहेछ। सासू थोरै खुसी भई। कम्तीमा सुत्केरी स्वास्नीप्रति अलिकति माया उसमा रहेछ भन्ने ठानी। आफू सुत्केरी हुँदा तातोपानी र अलिनो भात खाएको सम्झी। बच्चा पाएपछि त १० दिनसम्म नुन खान दिँदैनथे। घाउ पाक्छ भन्थे।

समयक्रममा कदम आठ वर्ष भएका बेला एक पटक भर्खरै ठाउँ सारी पनि भएको थियो। दिउँसै रात पर्ने गरेर हुरी आएर बिजुली चम्कन थाल्यो। सबै राउटे गुँड भत्ेकेका बचेराजस्ता भए।

चट्याङ्ले कदमका बाबु घोधनेलाई लिएर गयो। बाउको मृत्युपछि आमाले घृणा र हेला पाई। उसलाई पोइ टोकुवाको आरोप लाग्यो। आमा, कदम र दिदी मियोविहीन भए। संघर्षको अर्को अध्याय फेरि सुरु हुन्छ र कथाले त्यसलाई एउटा निष्कर्षमा पुर्याउँछ।

राउटेको आम्दानीको स्रोत काठका सामान बनाएर बिक्री गर्नु हो। बस्तीमा सधैंजसो बन्चरो–बसिला चलाएको टुकटुक आवाज आइरहन्थे। आमाले कदमलाई पनि काठको काम सिक्न पठाइन्। बसिला चलाउन खप्पिस रउना बस्तीभरीमा काठको काम गर्न सिपालु थियो। आरन जान थालेपछि रउनासँग कदमको दोस्ती भयो। यो दोस्तीमा राउटेको सामाजिक आर्थिक पक्ष उजागर गरिएको छ।

निरासावादीहरु जुत्ता फाटे यात्रा त्यागेर थचक्क बस्छन्। तर आशावादीहरु खुट्टा नभए पनि अगाडि बढ्छन्।’

ड्राइभर बन्ने सपना जंगलमा बसेर पूरा नहुने देखेपछि कदम सुर्खेत झर्यो। बसपार्क छेउको होटलमा काम गर्न थाल्यो। बिस्तारै गाडीको खलासी हुन पुग्यो। उसका ड्राइभर रहेछन् पूर्वलडाकु। उनी भन्थे, ‘पढाइ गुमाइयो। औंला चढाइयो। जिउमा छर्रा पनि छिराइयो। अनि नेतामाथि चढ्ने भ¥याङ मात्रै भइयो।’ यहाँनेर आइपुग्दा उपन्यासमा राजनीतिक रङ आएको छ। समकालीन नेपाली नेताको व्यवहारलाई व्यंग्य गरिएको छ। यस्तै जीवनमा सबै थोक गुमाए पनि आशा गुमाउन नहुने सन्देश पूर्वलडाकुले दिएको छ। उसले भनेको छ, ‘निरासावादीहरु जुत्ता फाटे यात्रा त्यागेर थचक्क बस्छन्। तर आशावादीहरु खुट्टा नभए पनि अगाडि बढ्छन्।’ कदमले गाडीमा देखिएका कविता नोट गर्न थाल्नु उसमा आएको शैक्षिक चेतनाको प्रभावले हो। उसले टिपेकाे अंश यस्तो छ- ‘कृपया हर्न नबजाउनु होला, मेरो देश सुतिरहेको छ।’ 

ड्राइभरीले गुजारा नचलेपछि जगत थापा बिदेसियो। उसले जादाँजादै कदमका लागि बुलबुले एक्सप्रेसको खलासीको व्यवस्था गरिदियो। त्यो काम जिन्दगी बुझ्ने अर्काे झ्याल भयो कदमका लागि। बुलबुले एक्सप्रेसको काठमाडौं—सुर्खेत—काठमाडौं यात्रामा दुई वर्ष बिताएपछि एक कालो दिन कदमको गाडी दुर्घटनामा पर्छ। जिन्दगीको अर्को दुरुह पहाडलाई चिनुपर्ने हुन्छ। दुर्घटनामा बले गुरुसहित १९ जना त्रिशूलीमा विलीन हुन्छन्। धन्न कदमले जीवनदान पाउँछ।

कदमको अर्को प्रभावशाली र सहायक पात्र कर्मा दिदी। ऊ कदमको संघर्षपूर्ण कथाको सहायक बनेकी छ। कर्म गर्नुपर्छ भन्ने यो आख्यानको मार्मिक पक्ष छ। अध्ययन र अनुसन्धान गरेर, भाषा र शिल्पको सुन्दर प्रयोग गरेर लेखिएको यो आख्यानले राउटेको जीवनशैलीलाई राम्ररी प्रस्तुत गरेको छ। यसले राउटेको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुखदुःख, परिवार, जीविका, प्रेम र प्रणयलगायत अनेक पाटा  बुझ्न सघाउँछ। – नवराज राउत, नेपाल समय