‘रमरम मरौटी
तिम्रो रुपै करौँती…’
युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजिब्रोमा स्थापित गरिदिएको छ।
भिडियो बनाएर टिकटकमा ‘सेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ। कतिपयलाई मरौटी के हो? जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौ। गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीतले मरौटी शब्दलाई जुन ओजका साथ उछालेको छ, उति नै त्यो गुणकारी पनि छ।
युट्युबमा सार्वजनिक भएको तीन सातामै ५० लाख भ्यूज कमाउन सफल गीतमा प्रयोग गरिएको मरौटी खासमा के हो त?
स्वास्थ्य रक्षाका लागि क्रियाशील आयुर्वेद समाजका अध्यक्ष रमाकान्त सापकोटाका अनुसार मरौटीको पञ्चाङ्ग नै (जरा, डाँठ, पात, फल र फूल) आयुर्वेदिक आषैधिमा प्रयोग हुन्छ । मरौटीलाई जनबोलीमा मरहट्टि र भुइँ टिमुरसमेत भनेर चिनिने गरेको उनले बताए। ‘मरौटी हल्का पिरो, टर्रो र रमरम स्वादको हुन्छ,’ सापकोटाले भने, ‘महाराष्ट्रिय सोरसलगायत आयुर्वेदिक औषधिमा यसको प्रयोग हुन्छ।’
खोकी, शरीर, दाँत दुखाइ, मुखमा घाउ, खटिरा आउने जस्ता समस्यामा मरौटीको प्रयोग लाभदायी हुने उनको भनाइ छ। स्वासप्रस्वास र पाचन प्रणालीलाई पनि मरौटीबाट बनेको आयुर्वेदजन्य औषधिले फाइदा गर्ने सापकोटाले बताए। घरगाउँमा पेट, दाँत दुख्दा, अपच हुँदा र रुघाखोकी लाग्दा मरौटी खाने चलन छ।
अचार र चटनीमा राख्दा मरौटीले अझ बढी स्वाद थप्छ । आयुर्वेदको तयारी औषधिबाहेक घरायसी विधिबाट पनि मरौटीको प्रयोग गर्न सकिन्छ । झोल बनाएर खान सकिने र शरीर दुखाइमा पात÷जरा दलेर पनि घरेलु उपचार गर्न सकिने आयुर्वेद चिकित्सक बताउँछन्। व्यावसायिक खेती नभएकाले ग्रामिण भेगमा फाटफुट्ट मात्र मरौटीको वनस्पति भेटिने गरेको छ।
मरौटी धेरै फलेमा टिपेर सुकाएर भण्डारण पनि गर्न सकिन्छ । झट्ट हेर्दा फूलझैँ देखिने मरौटीको फल सुकेर झरेपछि त्यसैबाट नयाँ बिरुवा पलाउँछ।
गुणकारी वनस्पति सम्झाइदिने गीत ‘रमरम मरौटी’ मा कलकार पूजा शर्मा र ओवी रायमाझीको अभिनय छ। तीन साताअघि ‘ओवी रायमाझी’ युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको थियो। रासस
प्रतिक्रिया