मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझै सञ्चालन भएन साँफे-मार्तडी सडक

अझै सञ्चालन भएन साँफे-मार्तडी सडक


सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा सडक सञ्जालबाट बाहिर भएको चार महिना भएको छ।

गत असारमा भएको वर्षाका कारण अवरुद्ध भएको साफे-मार्तडी सडक सुचारु नहुँदै फेरि भत्किएको छ। गत हप्ता तीन दिनसम्म परेको अविरल वर्षाका कारण उक्त सडक खण्ड ठाउँ–ठाउँमा अवरुद्ध भएको थियो।

दर्जनबढी स्थानमा पहिरो खस्दा अवरुद्ध भएको सडक पूर्ण रुपमा सञ्चालन हुन अझै समय लाग्ने देखिएको हो। सामान्य पहिरो खसेको स्थानमा मर्मत भए पनि ठूलो क्षति भएको ठाउँमा सडक सुचारु गर्न समय लाग्ने देखिएको सडक डिभिजन कार्यालय अछामका प्रमुख गगन विष्टले बताए।

‘साफे–मार्तडी सडक खण्ड अन्तरगत सबैभन्दा बढी क्षति बल्दे–अम्कोट क्षेत्रमा भएको छ,’ उनले भने, ‘उक्त खण्ड विगतदेखि नै अवरुद्ध थियो। पटकपटक खस्ने पहिरोकै कारणले मर्मत हुन नसकेको उक्त ठाउँमा फेरी अवरुद्ध हुँदा सडक सुचारु गर्न समय लाग्ने देखिएको हो।’ गत असारदेखि नै बाजुरा जाने यात्रुले साफेदेखि बल्देसम्म मात्रै सवारी पाउने गरेका थिए।

त्यसपछि बल्दे–अम्कोट क्षेत्रमा जोखिमपूर्ण पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो। त्यसपछिको द्धारीदेखि मार्तडीसम्म सावरी सञ्चालनमा थिए। अहिले पनि अन्य स्थानको पहिरो पन्छाइएको भए पनि बल्दे–अम्कोट क्षेत्रमा समय लाग्ने सडक डिभिजन कार्यालय अछामका प्रमुख विष्ट बताउछन्। अवरुद्ध सडक सञ्जालकै कारण जिल्लावासी विभिन्न समस्या भोग्दै आएका छन्। चार महिनादेखि सडक सुचारु नहुँदा जिल्लामा सबैभन्दा बढी इन्धनको अभाव हुन थालेको छ।

खाद्यान्नको समेत अभाव भोग्दै आएका बाजुरावासीले प्रदेश राजधानी पुग्न पनि हैरानी खेप्नु परेको छ। अहिले काम विशेषले धनगढी आउने परे सुर्खेत नेपालगञ्ज भएर आउनु पर्ने बाध्यता रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।

‘साफे मार्तडी सडक चार महिनादेखि अवरुद्ध छ,’ उनले भने, ‘गत हप्ता परेको पानीका कारण मर्मत गर्न समस्या भएको छ।’ तर प्राकृतिक विपदले सडक पटक–पटक अवरुद्ध हुने गरेको भए पनि सरोकारवाला निकाय समयमै सुचारु गर्न असफल भएका छन्।