प्रबिन कुमार बम
मानिसहरुको जीवनशैली परिवर्तन भएसंगै विश्वमा विभिन्न प्रकारका क्यान्सर मौलाउँदै गइरहेका छन्। नेपाली पुरुषहरुमा सबैभन्दा बढी देखिने क्यान्सरमा फोक्सोको क्यान्सर पर्दछ भने, नेपाली महिलाहरुको सन्दर्भमा चाहीँ पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने क्यान्सर हो। बर्सेनि लगभग तीन हजार नेपाली महिलाहरु यो रोगबाट ग्रसित हुने गरेका छन्। समयमै पत्ता नलागेका कारण कैयौंले ज्यान गुमाउनु परेको अवस्था छ।
ह्युमन प्यापिलोमा भाइरस (एचपिभि)को संक्रमण बाट हुने यो रोग विशेषगरी असुरक्षित यौन सम्पर्कका कारण सर्ने गर्दछ।
रोगको प्रारम्भिक चरणमा यसका लक्षणहरु खासै देखिदैनन्। जब लक्षणहरु देखिन थाल्दछन् तब क्यान्सरले दीर्घ अवस्थामा प्रवेश गरिसकेको हुन्छ।
लक्षणहरु:
• योनीबाट असामान्य रक्तस्राव हुनु: शारीरिक सम्पर्क पस्चात रगत बग्नु। दुई महिनावारी बिचको समय अवधिमा रगत बग्नु, महिनावारी रोक्किसकेका महिलाहरुमा रगत बग्नु वा सामान्य महिनावारीको समयमा भन्दा बढी रगत बग्नु।
• योनीबाट सेतो गन्हाउने पानी बग्नु,
• यौन सम्पर्क गर्दा दुखेको महसुस हुनु,
• तल्लो पेट तथा तल्लो पिठ्युँ दुख्नु,
• कहिलेकाँही योनीमा मासु पलाएको महसुस हुनु,
• उन्नत चरणमा क्यान्सर; कलेजो, फोक्सो, हड्डी तथा शरीरका अन्य भागहरुमा फैलनु र सोही अनुरुप लक्षणहरु देखापर्नु,
• अरु क्यानसरमा देखा परेजस्तै लक्षणहरु जस्तै: भोक नलाग्नु, तौल घट्नु, धेरै थकाइ लाग्नु, खुट्टा दुख्नु तथा सुन्निनु।
शारीरिक रुपमा सक्रिय कुनै पनि महिलाहरुमा यी लक्षणहरु देखा परेमा समयमै विशेषज्ञको परामर्श लिनुपर्ने हुन्छ।
पाठेघरको मुखको क्यान्सर हुने मध्य ९० प्रतिशत महिलाहरुमा यो रोग ह्युमन प्यापिलोमा भाइरस (एचपीभि) को संक्रमण बाट हुने गर्दछ। निम्न कारणहरुले यो रोगको जोखिम बढाउने गर्दछन्।
जोखिम कारकहरु:
• धेरै व्यक्तिहरुसंग असुरक्षित यौन सम्पर्क राख्नु,
• सानो उमेरमा नै बिबाह गर्नु वा सानै उमेरमा शारीरिक सम्बन्ध राख्नु,
• सानो उमेरममा (१७ वर्ष भन्दा कम उमेर) बच्चा जन्माउनु,
• धेरै बच्चा जन्माउनु वा धेरै गर्भधारण गर्नु,
• धूम्रपान गर्नु,
• रोग विरुद्ध लढ्ने प्रतिरोधात्मक क्षमता कम हुनु,
• लामो समयसम्म पिल्स जस्ता हार्मोनयुक्त परिवार नियोजनका साधनको प्रयोग गर्नु,
लगातार ५ देखी ९ बर्षसम्म हार्मोनयुक्त साधन प्रयोग गर्ने महिलाहरुमा यो क्यान्सरको जोखिम सामान्य महिलाहरूको तुलनामा ३ गुणाले बढी हुने गर्दछ। सोही कारणले गर्दा यी साधनहरु २/३ बर्ष प्रयोग गरिसकेपछि बिचमा रोक्नु पर्दछ र गर्भनिरोधकका अरु साधन प्रयोग गर्नु पर्दछ।
गोनोरिया, सिफलिस र एचआईभी एड्स जस्ता असुरक्षित शारीरिक सम्बन्धका कारण सर्ने रोगहरु लागेका महिलाहरूमा यो क्यान्सरको जोखिम बढी हुने गरेको पाइएको छ।
निदान र उपचार
समय समयमा स्क्रीनिङ टेस्ट (प्याप टेस्ट) गराउनाले यो क्यान्सर प्रारम्भिक अवस्थामा पत्ता लगाउन सकिन्छ र क्यान्सर नै भएको पुष्टि गर्न कोल्पोस्कोपिक बायोप्सी नामक परिक्षण गर्नु पर्दछ। क्यान्सरको आकार, स्थान, जटिलता र बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै बिरामीलाई कस्तो खालको उपचार (शल्यक्रिया, रेडियोथेरापी वा किमोथेरापी) दिने भन्ने कुरा निर्धारण गरिन्छ। सुरुवाती अवस्थामा निदान र उपचार गर्न सकियो भने यो क्यान्सरबाट बच्न सकिन्छ।
पाठेघरको मुखको क्यान्सरबाट बच्ने उपाय
• समय-समयमा पाठेघरको स्क्रीनिङ परीक्षण (प्याप टेस्ट): गर्भाशय स्रावको परिक्षण गराउने,
• एचपीभि विरुद्धको खोप लगाउने,
• सुरक्षित यौन सम्पर्क राख्ने,
• यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गर्ने,
• भिटामिन ए, बि१२, सि, इ, र बीटा-क्यारोटीन पाइने पोषणयुक्त खानेकुराको सेवन गर्ने,
• धूम्रपान त्याग्ने।
नियमित परीक्षण (प्याप टेस्ट) पाठेघरको मुखको क्यान्सर बेलैमा पत्ता लगाउने सरल र छरितो विधि हो। नेपाल सरकारले विभिन्न स्वास्थ्य संस्थाहरुमा यो परीक्षण सुलभ मुल्यमा प्रदान गर्ने गरेको छ। यो विधिबाट पाठेघरका कोसिकाहरु सामान्य अवस्थामा रहे नरहेको पत्ता लगाउन सकिन्छ र समयमै निदान गर्न सकिन्छ। २१ बर्षदेखि ६४ वर्षबिचको उमेर भएका हरेक महिलाहरुले यो परीक्षण अनिवार्य रुपमा गराउनु पर्दछ। सानै उमेरमा बिबाह भएका महिलाहरुको खण्डमा चाहिँ बिबाहको ३ बर्ष पश्चात प्याप टेस्ट गर्नपर्ने विभिन्न अध्यनले बताएका छन्। सकेसम्म हरेक ३ देखि ५ बर्षको अन्तरालमा यो परीक्षण दोहोर्या उनु पर्दछ।
समयमै एचपीभिविरुद्धको खोप लगाउनाले ८ बर्ष सम्म क्यान्सर हुने सम्भावनालाई ९२ प्रतिशतले न्युनिकरण गर्ने गरेको विभिन्न अनुसन्धानहरुमा उल्लेख छ। यो खोप ९ देखि १३ बर्ष उमेर पुगेका हरेक महिलाहरुले लगाउनु पर्दछ। खोप ९-२६ बर्ष बिचका महिलाहरूलाई पनि दिन सकिन्छ।
चेतनाको कमि, विपन्नता र स्वास्थ्य सुबिधाको सिमित पहुँच नेपाली महिलाहरुमा यो क्यान्सर समयमै निदान र उपचार नहुनुका प्रमुख कारक हुन्। यी समस्याहरुले गर्दा कतिपय महिलाहरू स्क्रीनिङ जाँच (प्याप टेस्ट) र एचपिभि विरुद्धको खोपको पहुँचबाट बन्चित छन्।
नेपाल सरकार, स्वास्थ्य तथा शिक्षण संस्थाहरु र अन्य संबंधित निकायहरुले यसको न्यूनीकरण गर्नमा मुख्य भुमिका निर्वाह गर्नुपर्ने देखिन्छ।
–(लेखक बम चितवन मेडिकल कलेजमा एमबिबिएस चौथो बर्षमा अध्ययनरत छन्)
प्रतिक्रिया