काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालसित नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् ।
मन्त्री रिजालका स्वकीयसचिव जितेन्द्र ठकुरीका अनुसार मंगलबार बिहान मन्त्री डा. रिजाललाई भेट्न राजदूत बेरीबीच रक्षा मन्त्रालय पुगेका थिए ।
सो अवसरमा दुई देशबीच आपसी हितलाई प्रवर्द्धन गर्ने विषयमा छलफल भएको बताइएको छ । “शिष्टचार भेटवार्ता हो, आपसी हित प्रवर्द्धनमा छलफल भएको हो,” ठकुरीले भने ।
बिहान साढे ११ बजेदेखि सुरु भएको भेटवार्ता मध्याह्न सवा १२ बजेसम्म चलेको थियो ।
नेपालमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अनुमोदन गराउने विषयमा दलहरूबीच फरक मत छ । सत्ता गठबन्धनभित्र पनि परियोजना सम्बन्धमा दलहरूबीच साझा धारणा बन्न सकेको छैन ।
केही दिनअघि सुदूरपश्चिम प्रदेश पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना बिनासंशोधन पारित हुने बताएका थिए । तर, गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले कतिपय बुँदाहरूमा परिमार्जन गर्नुपर्ने आवाज उठाइरहेका छन् ।
मन्त्री रिजालसित राजदूत बेरीको भेटलाई पनि परियोजनाको पक्षबाट महत्त्वका साथ हेरिएको छ । तर, सचिव ठकुरीले भने परियोजनाको विषयमा कुनै पनि छलफल नभएको बाह्रखरीलाई बताए ।
प्रतिक्रिया