काठमाण्डाै – नेपाली कांग्रेसले सातौँ पटक महाधिवेशन कार्यतालिका परिवर्तन गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिको हिजोको बैठकले महाधिवेशन अन्तर्गतका प्रक्रिया छठपछि सुरु हुने गरी कार्यतालिका तयार पारेको हो । यसबारे आज निर्णय गरेर कार्यतालिका सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ ।
तयारी भएको कार्यतालिकाअनुसार यसअघि रोकिएको अधिवेशन प्रक्रिया आउँदो २७ गतेदेखि सुरु गर्ने र केन्द्रीय महाधिवेशन मङ्सिर २७ गतेदेखि २९ गतेसम्म गर्ने उल्लेख गरिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । यसैगरी जिल्ला अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मङ्सिर १० गते तथा प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने तय गरिएको उनले बताए ।
कांग्रेसले यसअघि महाधिवेशन मिति मङ्सिर ९ देखि १३ गतेसम्म निर्धारण गरिएको थियो । पार्टीले गएको भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु गरेकोमा अहिलेसम्म १३ हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।
यसबाहेक ४७ जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न भइसकेको र बाँकी चार जिल्लामा वडा अधिवेशन सम्पन्न भइ केहीबाहेक पालिकास्तरको अधिवेशन सम्पन्न भएको संयोजक यादवले बताए ।
प्रतिक्रिया