काठमाण्डौ – पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणीसमेत गर्नुभयो ।
‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आज आइतवार काठमाण्डौमा एक कार्यक्रममा बीच विमोचन गर्दै उहाँले न्यायका प्रतिष्ठित व्यक्तिहरू, कानुनविद्हरूसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नुपर्दैैन ? भनेर सरकारलाई प्रश्न गर्नुभयो ।
कानुन मन्त्रीले यस समस्या समाधान गर्न सक्दैनन् भन्दै पूर्वराष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँर्याएको बताउनु भयो । उहाँले सारा न्यायाधीशहरू, नेपाल बार, कानुनविद्हरू एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्नँ भनेर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरूमाथि प्रश्नसमेत तेर्स्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘न्यायालयमा सारा न्यायाधीशहरू एकातिर छ । बुद्धिजीविहरू एकातिर छ । संविधानविद्हरू, कानुनविद्हरू एकातिर छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन् कि म छोड्दिनँ । केही नभए पनि एक्लै बेन्चमा बस्छन् । कसको तागतमा ? तर पनि कि आजसम्म राजनीतिक पार्टीहरूको त कुरा छोडिदिउँ । सरकार देशको प्रतिनिधि हो । प्रथम प्रतिनिधि हो देशको । सरकारले आफ्नो ‘ट्र्याक टु डिप्लोमेसी’ बाट न्यायका प्रतिष्ठित व्यक्तिहरू, कानुनविद्हरूसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नुपर्दैन ? आज संसारको सामुन्ने न्यायालयको अवस्था यस्तो छ । तर सम्माननीय प्रधानमन्त्री बेलायत जानुभएको छ । यस्तो अवस्थामा हामी संसारको सामुन्ने टाउको देखाउन सक्छौँ ?’
पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनुभएको छ । उहाँले संविधानमा नभएको संसद् भङ्ग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको हो । पूर्वराष्ट्रपति यादवले संविधानको कार्यान्वयन गर्न दलहरू गम्भीर नभएकोमा चिन्तासमेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया