जनकपुरधाम- हिन्दु धर्माबलम्बीहरूले यमपञ्चक पर्व हर्षोल्लासपूर्वक मनाई रहँदा जनकपुरधाममा हनुमान जयन्तीको पनि रौनकता देखिएको छ। हनुमान जयन्ती साधु सन्तले भगवान् हनुमानको पूजा आराधना गरी मनाउँदैछन्।
हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजन कीर्तनलगायतको कार्यक्रमको आयोजना गरेको छ। यसअघि परिषद्ले हनुमान जयन्तीको अवसरमा जनकपुरधामस्थित रेल्वे स्टेसनबाट शोभा यात्रा निकाली नगर परिक्रमासमेत गरेको थियो।
परिषद्का अध्यक्ष शम्भु साहले हिन्दु धमाबलम्बीहरू यमपञ्चकका बीच हनुमान जयन्ती पर्ने भएकोले ओझेलमा परिरहेको समयमा आफूहरू भगवान् हनुमानको जयन्ती भव्यतापूर्वक मनाउन लागेको बताए। उनका अनुसार विगत १० वर्षदेखि परिषद्ले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आइरहेका छन्।
यता जनकपुरधामस्थित संकटमोचन मन्दिरमा समेत श्रद्धालु भक्तजनहरूको बिहानैदेखि घुइँचो लागेको छ। भगवान् हनुमानको पूजा अर्चना एवं मन्त्र स्तोत्र पाठ गर्नाले शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्नेदेखि भूतप्रेत पिसाचको दुःख नहुने जनविश्वास रहेको छ।
भगवान् हनुमानलाई सिन्दूर अति प्रिय रहेको बताइन्छ। हनुमानको मूर्तिमा अनिवार्य रूपमा सिन्दूर लगाइएको हुन्छ।
हनुमानको पूजा गरेमा वैवाहिक सुख मिल्ने र पती पत्नीबीचको कलह हट्ने विश्वास रहँदै आएको छ। त्यसैले मंगलबार र शनिबार हनुमान व्रत गर्नेहरूको संख्या पनि धेरै रहेको छ।
चैत्र शुक्ल पूर्णिमालाई पनि हनुमान जयन्तीको रूपमा व्याख्या गरिए पनि कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई हनुमान जयन्तीकै रूपमा लिइने गरिन्छ। शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ। यद्यपि वायु पुराणादी अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचलित छ। तर, पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव हो।
धर्मग्रन्थहरूमा भगवान् हनुमानको शक्ति चर्चा
विभिन्न समयमा परिस्थितिको माग अनुरूप भगवानका अनेक रूपहरूको जन्म पृथ्वीमा भएसँगै धेरै उद्देश्य पूरा गर्ने प्रयोजन अनुसार भगवान् शंकरले हनुमान अवतार लिए। माता अञ्जनिको कठोर तपस्याबाट प्रसन्न भई वर माग्न भन्दा भगवान् शंकरलाई नै आफ्नो पुत्रको रूपमा पाउने इच्छा जाहेर गरेपछि हनुमान रूपमा अवतरित भएका थिए।
फरक-फरक बार पूजा विधि र सामाग्री ले फरक फरक मनोबाञ्चित फल प्राप्त गर्न सकिने जनविश्वास रही आएको छ। हनुमानलाई श्रद्धालु भक्तजन सिन्दूर, लड्डु, पान, केरा, रातो चोला, झन्डा अर्पण गर्दा निकै प्रसन्न हुन्छन्। मानिसको जीवनमा आइपर्ने विभिन्न समस्याहरू समाधान गर्नका लागी तथा शनिदेव को कृपा प्राप्त गर्नका लागि पनि हनुमानको आराधना गर्नु निकै फलदायी हुन्छ पण्डित दिगम्बर झा दिनमणिले बताए।
अष्ट चिरञ्जीवी मध्ये एक मानिने उनी अझै पनि जीवितै छन् भन्ने आस्था राख्दै उनको जन्म दिनमा रामायणको सुन्दर काण्ड तथा हनुमान चालिसाको पाठ गर्ने गरिन्छ। भगवान् हनुमानलाई ११औं रुद्रावतारको रूपमा लिइन्छ।
रामायणमा भगवान् हनुमानको बल बुद्धिको विशेष रूपमा चर्चा गरिएको पाइन्छ। सीता हरण पश्चात् समुद्र लंघन गरेर उनले नै सीता समक्ष भगवान् रामको सन्देश पुर्याएका थिए। त्यस्तै सोनाले बनेको रावणको लंका भगवान् हनुमानले नै जलाएको वाल्मीकि रामायणमा उल्लेख छ।
हनुमानलाई प्रिय सिन्दूर
भगवान् हनुमानलाई सिन्दूर अति प्रिय रहेको बताइन्छ। हनुमानको मूर्तिमा अनिवार्य रूपमा सिन्दूर लगाइएको हुन्छ।
वाल्मीकि रामायणका अनुसार माता सीतालाई सिन्दूर लगाएको देखेर एक दिन हनुमानले जिज्ञासा राखे, तपाई यो सिन्दूर किन लगाउनु हुन्छ? त्यसपछि माता सीताले हनुमानले सिन्दूर लगाउँदा भगवान् राम प्रसन्न हुन्छन् भन्ने जवाफ फर्काए। त्यसपछि हनुमानले भगवान् रामलाई प्रश्न पार्न पुरै शरीरमा सिन्दूर लेपन गरेका थिए। त्यसपछि मात्रै भगवान् रामले हनुमानलाई अमरताको वरदान दिएका थिए।
हनुमान पूजाको महत्त्व
वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रह्मचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयको लागि पनि पूजा गर्ने गरिन्छ। उनको पूजा र उपासना गरेमा रोग व्याधिबाट, शत्रु बाधाबाट, भयबाट, प्राकृतिक शक्तिको बाधाबाट, पिसाची शक्तिबाट, राक्षसी शक्तिको प्रकोपबाट मुक्ति पाइन्छ भन्ने धारणा आज पनि वैष्णव सम्प्रदायका समर्थकहरूको रहेको छ।
हनुमानको पूजा विशेषगरी सङ्कटबाट मुक्ति पाउनका लागि यस सम्प्रदायको मानिसहरूले गर्दछन्। विशेष गरी प्रयाभिज्ञा शक्ति, ब्रम्हचार्य शक्ति, कठोर व्रत शक्ति, बुद्धि, माधुर्य शक्ति प्राप्त गर्नका लागि हनुमानको पूजा गरिन्छ।
हनुमानलाई भक्तियोगका लागि महत्त्वपूर्ण मानिन्छ। उनले भक्तियोग र कर्मयोगद्वारा रामको सामीप्यता प्राप्त गरेका थिए। वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिका लागि पनि पूजा गर्ने चलन छ।
आठ प्रकारका यौगिक शक्तिहरू अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व उनमा थिए। साथै हनुमानलाई परब्रम्हा र रौद्ररूपमा पनि स्मरण गरिन्छ।
प्रतिक्रिया