मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिहार सकिएसँगै छठ पर्वकाे रौनक सुरु

तिहार सकिएसँगै छठ पर्वकाे रौनक सुरु


काठमाण्डाै – नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै काठमाण्डौलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ ।

हिजो तृतीयाको दिनदेखि नै छठ पर्वको विधि सुरु भएको हो । कात्तिक शुक्ल तृतीयाको दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि सुरु गर्ने चलन छ ।

आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनिताे भइ खाने गर्छन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ । भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसोभरि निराहार व्रत बसी राति सक्खरमा पकाइएको अरबा चामलको खीर कुलदेवता र छठी देवीलाई चढाएर प्रसादस्वरुप खाने चलन छ ।

यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा पसेर नुहाएसँगै अस्ताउँदा सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ ।

छठ सुरु भएसँगै मिथिलाका धार्मिक महत्त्वका तलाउ र नदी परिसर सिङ्गारिएका छन् । छठ पर्वले तराईका घरघरमा व्यस्तता बढाएको छ । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् ।

काठमाण्डौको पशुपति क्षेत्रमा रहेको गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट बनाउन सुरु भएको छ । यसैगरी कमलपोखरी, नागपोखरीलगायत ठाउँमा पनि छठ मनाउन छठ घाट अर्थात पूजास्थल निर्माण भइरहेको छ । यस वर्ष आउँदो बुधवार छठ पर्वको मुख्य दिन परेको छ । भोलिपल्ट अर्थात कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।

दुई दशकअघिसम्म तराई क्षेत्रमा मात्र विशेषरूपमा मनाइने छठ पर्व पछिल्लो समय काठमाण्डौ लगायत पहाडी जिल्लामासमेत धुमधामका साथ मनाउन थालिएको छ । विगत वर्षमा काटिएको छठ पर्वको सार्वजनिक बिदालाई सरकारले यस वर्षदेखि भने फेरि निरन्तरता दिएको छ । छठका अवसरमा आउँदो बुधवार सार्वजनिक बिदा दिइएको छ ।